आर्थिक रूपान्तरणको खाँचो

नेपालमा राजनीतिक परिवर्तन भइरहेको छ । नेपाली जनताले विभिन्न प्रकारका आन्दोलन र क्रान्ति सम्पन्न गरे । पुरानो पार्टी नेपाली कांग्रेसको समाजवाद र कम्युनिस्टहरूको साम्यवादको लक्ष्य मात्र होइन, राणा परिवारको शासन र राजतन्त्रको पनि अब अवशान भइसकेको अवस्था छ । सबैले खुला बजार अर्थतन्त्रको नीति अंगालेको घोषण गरेका छन् । राजनीतिक हिसाबले ठुल्ठूला परिवर्तन भए । कल्पना नै नगरिएको राजतन्त्र ढल्यो । मुलुकमा गणतन्त्र आयो । तर, राजनीतिक परिवर्तनसँगै गरिनुपर्ने आर्थिक क्रान्तिको भने अहिलेसम्म कसैले चर्चा गर्दैन । ००७ सालदेखि अहिलेसम्म राजनीतिक स्थायित्व भएको छैन । नेतृत्त्व राजनीतिक परिवर्तनका हकमा सफल देखिए पनि आर्थिक सवालमा असफल ठहरिए । प्राकृतिक स्रोतसाधनले सम्पन्न मुलुकका जनताले क्षमताअनुसार श्रम गर्ने ठाउँसम्म पाएनन् । आर्थिक विपन्नताकै कारण नेपाली युवा विदेश गएर कठोर श्रम गर्न बाध्य भएका छन् । यदि राजनीतिक परिवर्तनसँगै आर्थिक परिवर्तन पनि हुन्थ्यो भने मुलुकले सफल र समुन्नत समाजको परिस्कृत समय भोगिरहेको हुने थियो । दुर्भाग्य नेपाली समाज आर्थिक रूपले विपन्न अवस्थामा बाँच्न विवश छ ।
०६२/६३ को आन्दोनलपछि मात्र होइन, ०४६ को जनआन्दोलनपछि नै नेपाली जनताले समुन्नत जीवनशैलीको कल्पना गरेका थिए । तर, संविधानसभाको दोस्रो निर्वाचन भएर यहाँसम्म आइपुग्दासम्म राजनीतिले स्थायित्व ग्रहण नगरेका कारण आर्थिक अवस्था झन् खस्कँदै आएको छ । अब राजनीतिक स्थायित्त्व नहुने हो भने नेपालमा विकासका कार्य हुने छैनन् भने उद्योग कलकारखाना पनि बन्द हुनेछन् । अहिले नै विकासका काममा खर्च नभएर पैसा एकातिर थुप्रिएको छ भने अर्कातिर काम नपाएर युवा पलायनको अवस्था डरलाग्दो गरी बढिरहेको छ । महँगी, भ्रष्टाचार, कुशासन, अराजकता र अनियमितताले दह्रो जरो गाढेका कारण नेपालमा आर्थिक विकास हुन सकेन । राजनीतिक नेतृत्व र कर्मचारी संयन्त्रसमेत घुस र भ्रष्टाचारतर्फ आकर्षित भएपछि राष्ट्रको यो हविगत भएको हो । विकास आयोजनाहरू सफल नभएसम्म आर्थिक विकासले गति लिन सक्दैन । नेतृत्वमा दह्रो इच्छा शक्ति नभएसम्म विकास लक्ष्य पूरा हुँदैन । यसर्थ अब सबै दलका शीर्ष नेताले देश विकासको स्वच्छ र पवित्र उद्देश्य राखेर सहमतिअनुसार अगाडि बढ्नुको विकल्प छैन ।
जलस्रोतको धनी मुलुक भएर पनि लोडसेडिङ भोग्नै पर्ने, प्राकृतिक स्रोत र साधनले अत्यधिक सम्पन्न राष्ट्र नेपालले त्यसको दोहन गर्न नसक्दा जडिबुटीलगायत वस्तु अर्कैले उपभोग गरिरहेका छन् । यो अवस्था आउनुमा थोर बहुत सबै दोषी भए पनि मुख्य रूपमा राजनीतिक नेतृत्वको इच्छाशक्ति कमजोर भएकै कारण यो अवस्था भोग्नु परेको हो । अब राजनीतिक परिवर्तनले मात्र जनतालाई राहत मिल्दैन । त्यसका लागि आर्थिक विकास गर्नै पर्छ । अन्यथा, यो राष्ट्र असफल राष्ट्रतर्फ धकेलिने छ । तसर्थ अब आर्थिक क्रान्तिका लागि स्थायी शान्ति, स्थायी सरकार, भ्रष्टाचार मुक्त राजनीतिज्ञ र कर्मचारी साथै तीव्र गतिमा विकास कार्य सुचारु गर्ने कार्य मात्र विकाल्प छ । अहिलेको अवस्था मुख्य रूपमा अस्थिर राजनीतिका कारण भित्रिएको हो । यसलाई हटाउन राजनीतिकर्मीहरू नै अग्रसर हुनुपर्छ । आर्थिक रूपमा सम्पन्न मुलुकका नागरिक मात्र सुखी र सम्पन्न हुन्छन् । यसतर्फ सबै पक्ष गम्भीर हुनै पर्छ । हामी गरिब छैनौँ । हामीमा इच्छाशक्ति कमजोर छ । प्रकृतिले सबै थोक दिएको छ तर उपयोग गर्न सकेका छैनौँ । अब सबैले आर्थिक क्रान्तिलाई टेवा पुर्‍याउने काम गर्नैपर्छ ।

प्रतिक्रिया