खोटाङ, २४ मंसिर । नेपाली सेनाको रासन खुवाउने ठेक्कामा प्रतिस्पर्धात्मक प्रणाली अपनाइएका कारण राज्यले करिब दुई करोड राजस्व बचत गरेको छ ।
मिलेमतो गर्दै ‘फूल स्केल’मा ठेक्का पार्ने परम्परालाई तोडेर प्रतिस्पर्धात्मक प्रणाली अपनाइए पछि यसवर्ष दिक्तेलको मुढेस्थित जबरजंग गणमा कार्यरत नेपाली सेनाको रासन ठेक्काबाट १ करोड ९२ लाख १२ हजार ८ सय ७० रुपैयाँ राजस्व बचत भएको हो । अघिल्लो वर्षमा भन्दा फरक किसिमले व्यवसायीहरुले प्रतिस्पर्धा गर्ने निधो गरेपछि यस्तो अवस्था आएको हो । यस वर्ष प्रतिस्पर्धा एवं घटाघट प्रकृयाबाट एउटा फर्मले सबैभन्दा कम मूल्यमा सेनाको रासनको ठेक्का हालेको श्रोतले जनाएको छ । फर्मले दैनिक प्रति जवान १ सय ३६ रुपैयाँका दरले रासन खुवाउने गरी ठेक्का हालेको बुभिएको छ । तोकिएको प्रति व्यक्तिको यो दर जिल्लाको दररेट निर्धारण समितिले निर्धारण गरेको भन्दा ६२ रुपैयाँले कम हुन आउँछ । दररेट निर्धारण समितिले भने दैनिक प्रति जवान १ सय ९८ रुपैयाँ रासन निर्धारण गरेको थियो । यद्यपी, घटाघटमा र्फम बुझाउने यस फर्मको कागजात जाँच गर्न र अन्तिम टुंगो लाग्न भने बाँकी रहेको जबरजंग गणका प्रमुख सेनानी रामबहादुर थापाले जानकारी दिएका छन् । ‘ठेक्का हाल्ने फर्मको डकुमेन्टको चेक जाँच गर्न बाँकी छ,’ प्रमुख सेनानी थापाले भने, ‘ठेक्का लिने फर्मको बिषयमा अहिलेसम्म टुंगो लागेको छैन ।’ रासनको ठेक्का पाउने फर्मले दिक्तेल र ऐसेलुखर्कमा रहेका ८ सय ४९ जवानलाई वषर् दिन सम्म रासन खुवाउने छ । सेनाको रासन ठेक्काका लागि बिभिन्न १४ वटा फर्मले ठेक्का हालेका छन् । यसअघि बिभिन्न फर्मका प्रतिनिधिको मिलोमतोमा ‘फुल रेट’ अर्थात जिल्ला दररेट निर्धारण समितिले निर्धारण गरेकै मूल्यामा ठेक्का पार्ने र आशिंक रकम बाँडफाँड गर्ने गरेको आरोप लगाईएको थियो । गत साल देखी ठेक्का प्रकृया सहज बन्दै गएकाले जिल्लामा बाँडीचुडी खाने र राज्यलाई घाटामा पार्ने काममा कमी आएको नाम उल्लेख नगर्ने सर्तमा एक व्यवसायीले बताएका छन ।
प्रतिक्रिया