काठमाडौं, २१ मंसिर । धाँधली गरी चुनाव हराएको जिकिर गर्दै संविधानसभा अदालतमा उजुरी दर्ता गर्ने उम्मेदवारको संख्या बढ्न थालेको छ । बिहीबार एकै दिन तीनवटा उजुरी अदालतमा दर्ता भएका छन् ।
काठमाडौं–४ मा पराजित उम्मेदवार एमाओवादीका नन्दकिशोर पुनले विजेता उम्मेदवार कांग्रेसका गगन थापाविरुद्ध उजुरी दर्ता गराएका छन् । थापाले धाँधली गरी चुनाव जितेका कारण उनलाई सभासद् पदमा शपथ नगराउन अन्तरिम आदेश माग गर्दै पुनले उजुरी दर्ता गराएका हुन् । ‘
पुनले थापाले सरकारी निकायको सहयोगमा धाँधली गरेको आरोप लगाएका छन् । उनले खसेको मतभन्दा बढी मतगणना गरिएको उजुरीमा जिकिरसमेत गरेका छन् । ‘चुनावमा ४२ हजार २ सय २३ मत खसेको थियो तर गणना ४५ हजार ३ सय ८१ गरियो,’ उनले दाबी गरेका छन्, ‘केही बुथमा खसेको भन्दा बढी, केहीमा कम मत गणना भएको र केही मतपेटिकामा लेखिएको मतदानकेन्द्रको नामै फरक छ ।’ थापाले २२ हजार ३ सय ३६ मत र एमाओवादी उम्मेदवार पुनले ६ हजार ४ सय ६२ मत प्राप्त गरेका थिए ।
बिहीबार नै दोलखा–१ बाट विजयी एमाले उम्मेदवार पार्वत गुरुङविरुद्ध पनि उजुरी दर्ता भएको छ । गुरुङले धाँधली गरी जितेको भन्दै पुन: चुनावको मागसहित कांग्रेस उम्मेदवार जिपछिरिङ लामाले उजुरी दिएका हुन् । गुरुङ १२ हजार २ सय ९८ मत ल्याई विजयी भएका थिए भने लामाले ९ हजार ७८ मत प्राप्त गरेका थिए ।
मोरङ–४ बाट विजयी उम्मेदवार एमाओवादीका शिवकुमार मण्डलविरुद्ध कांग्रेसका गयानन्द मण्डलले उजुरी दिएका छन् । चुनावमा शिवकुमार सबैभन्दा कम मतान्तरबाट विजयी भएका हुन् । उनले ९ हजार ३ सय ६० मत ल्याई विजयी भएका थिए । निकटतम प्रतिद्वन्द्वी मण्डलले ९ हजार ३ सय ५२ मत ल्याएका थिए ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारविरुद्ध यसअघि नै उजुरी परिसकेको छ ।
यसैबीच, सुनसरी–३ बाट निर्वाचित फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई सात दिनभित्र उपस्थित हुन अदालतले आदेश जारी गरेको छ ।
अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्यद्वय गिरिशचन्द्रलाल र सुशीला कार्कीको इजलासले बिहीबार गच्छदारसहित निर्वाचन आयोग, सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृत खडानन्द तिवारीलगायतलाई आवश्यक कागजातसहित उपस्थित हुन आदेश जारी गरेको हो । पराजित उम्मेदवार एमालेकी भगवती चौधरीले बुधबार मात्र गच्छदारको जितविरुद्ध अदालतमा उजुरी
दिएकी थिइन् ।
प्रतिक्रिया