प्रमाणसहित एमाओवादी संविधानसभा अदालतमा

दोलखा : दोस्रो संविधानसभा निर्वाचनको मतगणना परिणाम आएको दुई साता बितेपछि एमाओवादी दोलखाले निर्वाचनमा व्यापक धाँधली भएको भन्दै संविधानसभा अदालतमा मुद्दा दायर गरेको छ ।
एमाओवादी दोलखाका तर्फबाट दोलखा १ र २ का उम्मेदवारहरूले निर्वाचनमा नेपाली सेनाको गा्रण्ड डिजाइन अनुसार आफूहरूलाई हराएको र निर्वाचनमा व्यापक धाँधली भएको भन्दै अदालत गएको बताएका छन् । निर्वाचनमा दोलखाका १७ मतदान केन्द्रमा भएको धाँधली भएको प्रमाण सहित एमाओवादी संवैधानिक अदालत गएको उम्मेदवार विशाल खड्काले बताए ।
दोलखा क्षेत्र नं. १ को १०, क्षेत्र नं. २ को ३ ओटा मतदान केन्द्रको मतपेटिका सेनाले विभिन्न अस्थायी क्याम्पमा अदलबदन गरेको तथा मालु, शहरे, मार्बु र मेलुङ केन्द्रका मतदान अधिकृतलगायतले धाँधली गरेको आरोप लगाउँदै संविधानसभा अदालत जाने उम्मेदवारहरूले बताए । जिल्लाको ५१ गाविस र एक नगरपालिकामध्ये १७ ओटा केन्द्रबाट धाँधली भएको प्रमाण प्राप्त भएको भन्दै एमाओवादीले संविधानसभा अदालतमा मुद्दा दायर गरेका हुन् ।
संविधानसभाको दोस्रो निर्वाचनमा दोलखा क्षेत्र नं. १ का एमाओवादीका उम्मेदवार विशाल खड्का र क्षेत्र नं. २ का उम्मेदवार शंकर लामाद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा ६ ओटा छुट्टाछुट्टै बुँदा बनाई निर्वाचनमा धाँधली भएको उल्लेख गरिएको छ । ‘संविधानसभाको मातृपार्टी एमाओवादीलाई घेरा हाल्ने उद्देश्यले रचिएको षड्यन्त्रमा नेपाली सेनाजस्तो मर्यादित संस्थाले समेत संस्थागत धाँधली गरेको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया