काठमाडौं, १८ मंसिर । कोईका नेपालद्धारा आयोजित आर्थिक विकासका रणनीतिहरु विषयक कार्यक्रममा सहभागी हुन दक्षिण कोरियाको सिउल गएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि वास्कोटा कोरियाका उच्च पदाधिकारीहरुसँग भेटघाट छलफल भएको र सबै वार्ताहरु फलदायी रहेको बताए । नेपालमा कोरियन सहयोग विस्तार गर्न सन् १९९१ मा नेपालमा कोईकाको कार्यालय स्थापना भएको थियो । कोईकाका उपाध्यक्ष चोङ्ग सिक हानसँग शीष्टाचार भेट गरी सचिव वास्कोटाले कोईकासँग कुनै एउटा देखिने कार्यक्रम (भिजिवल प्रोजेक्ट/टान्जीवल वेनिफीट) मा सहयोग गर्न आग्रह गरे । वास्कोटाले निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, तराई जोड्ने फाष्ट ट्रयाक, वुढी गण्डकी जल विद्युत आयोजना, काठमाडौंमा रहेका कुनै एक नदीको व्यवस्थापन वा रेलमार्गमा कोरियाले सघाउन सक्ने कुरा वताए । उपाध्यक्ष हानले भविष्यका दिनमा सहयोग विस्तार गर्न कोईका सकारात्मक रहेको प्रतिक्रिया दिएको सचिव वास्कोटाले वताए । हाल कोईकाको सहयोगमा नेपालमा भन्सारमा युनिपास प्रणाली लागू भएको, कम्प्यूटर डाटा सेन्टर संचालनमा रहेको, टिकापुरमा २५ वेडको अस्पताल निर्माणाधीन रहेको, लुम्विनीको गुरुयोजनामा सहयोग प्राप्त भैरहेको कुरा पनि सचिव वास्कोटाले वताए ।
भ्रमणको दौरान सचिव वास्कोटाले कोरियन एक्जिम बैंकका कार्यकारी निर्देशक सिपोङ्ग हियेग इमसाग भेटी चमेलिया जल विद्युत आयोजनाको समीक्षा गर्दै कोईकाका उपाध्यक्षसँग प्रस्तावित गरेकै क्षेत्रमा सहयोग विस्तार गर्न आग्रह समेत गरेका छन् । जवाफमा उहनले आगामी १५ डिसेम्वरमा हुने ‘पोलिसी डाईलग’ मा नेपालवाट प्रस्तावित सबै सहयोगका क्षेत्रमा छलफल गरिने आश्वासन दिएको कुरा सचिव वास्कोटाले वताए ।
यसैगरी सचिव वास्कोटाले कोरियाको थिङ्ग ट्याङ्गको रुपमा रहेको केडिआई स्कूलका डीन साङ्ग उ नामलाई भेटी नेपालमा पनि प्रभावकारी थिङ्ग ट्याङ्ग स्थापनाको प्रयास भैरहेको बताए । जवाफमा डिन नामले नेपालमा थिङ्ग ट्याङ्गलाई प्राविधिक सहयोग दिन आफू ईच्छुक रहेको कुरा वताउँदै नेपालीलाई पिएचडी, एम.एम र अन्य तालीममा छात्रवृत्तिको संख्या वृद्धि गर्न पहल गर्ने कुरा वताको सचिव वास्कोटाले जानकारी गराए ।
सचिव वास्कोटाको कोरिया भ्रमणका दौरानमा दुई सय १६ मेघावाटको त्रिशुली–१ जलविद्युत आयोजनमा लगानी गर्ने कोसेपका कार्यकारी उपाध्यक्ष कोन सुन योङ्ग, उपाध्यक्ष किम हाङ्ग हेओन लगायतका पदाधिकारीले पनि उनी सँग नेपालमा लगानी थप गर्ने विषयमा छलफल गरे । दक्षिण कोरिया र नेपाल वीच सन् १९७४ मे १५ मा कुटनैतिकस्तरमा सम्बन्ध विस्तार भएको हो । नेपाल र कोरिया वीच हवाई सेवा संझौता, संस्कृति आदन–प्रदान संझौता, दोहोरो कर उन्मुक्ति संझौता, कोरियाली युवा स्वयंसेवक नेपाल आउने र नेपाली कामदार कोरिया जाने विषयमा एमओयू भएको कुरा पनि सचिव वास्कोटाले जानकारी दिए । नेपालले कोरियाको एक्जीम बैंकसँग ऋण लिएर ३० मेघावाटको चमेलिया जल विद्युत आयोजना निर्माण गरिरहेको छ । नेपालमा रहेका पदयात्रा क्षेत्र, हिमाल आरोहण र लुम्विनी भ्रमण गर्न आम कोरियालीले ठूलो चासो देखाएको आफूले अनुभव गरेको कुरा पनि सचिव वास्कोटाले वताए ।
प्रतिक्रिया