बुटवल : नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभामा रुपन्देही क्षेत्र नं ३ मा नवनिर्वाचित सदस्य बालकृष्ण खाँणले नयाँ सत्ता समीकरणमा राष्ट्रपति र उपराष्ट्रपति फेर्ने कुरा अन्तरिम संविधानमा नभएको जनाएका छन् ।
उनले यो विषय अन्तरिम संविधानविपरीत भए पनि राजनीतिक मुद्दाको रुपमा प्रवेश भएपछि नेपाली कांग्रेसले सम्बोधन गरेर टुं्गो लगाउने समेत बताए । उनले राष्ट्रपतिको विषयलाई संविधानसभामा दोस्रो ठूलो दल एमालेले सहज बनायो भने संविधान निर्माणको विषय पनि सहज हुने तर यसैलाई सत्ताको मोलमोलाई (बार्गेनिङ)को विषय बनाइए मुलुकको हितविपरीत हुनेसमेत आशंका व्यक्त गरे ।
नेपाली काग्रेस रुपन्देही क्षेत्र नं ३ ले सोमबार मणिग्राममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खाँणले जनताको चाहना शान्ति र संविधान भएकाले लोकतान्त्रिक संविधान लेखी सबैकोचाहना पूरा गर्न नेपाली कांग्रेस प्रतिबद्ध रहेकाले समयमै संविधान निर्माण हुने बताए ।
संवैधानिक प्रक्रियाबाट निर्वाचनमा गएपछि जनताले दिएको अभिमतलाई स्वीकार्नुपर्ने र जनताको मतलाई स्वीकार्न नसक्ने लोकतान्त्रिक हुन नसक्ने पनि उनले बताए । खाँणले एमाओवादीलाई जनताले दिएको अभिमतको सम्मान गरेर संविधान निर्माणको कार्यमा सहभागी हुन आग्रहसमेत गरे । उनले जनताले दिएको मतको आधारमा नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने बताउँदै सरकार बनाउने विषयमा नेपाली कांग्रेसले कसैसँग सम्झौता नगर्ने दाबीसमेत गरे । (सौस)
प्रतिक्रिया