१६ एसपीको बढुवा

काठमाडौं, २७ चैत । गृह मन्त्रालयले १५ प्रहरी उपरीक्षक एसपीलाई वरिष्ठ प्रहरी उपरीक्षक एसएसपीमा बढुवा गरेको छ । प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाहको अध्यक्षतामा गठित तीनसदस्यीय बढुवा समितिले गरेको सिफारिसका आधारमा गृहले एसएसपीमा बढुवा गरेको हो ।
बढुवा सूचीअनुसार एक नम्बरमा महानगरीय प्रहरीपरिसर ललितपुरका प्रमुख रहेका भोगबहादुर थापा छन् । दोस्रो नम्बरमा जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत यादवराज खनाल, तेस्रोमा प्रहरी प्रधान कार्यालय प्रतिआतंकवाद अपराध अनुसन्धान सेलका सुबोधराज घिमिरे र चौथो नम्बरमा जिल्ला प्रहरी कार्यालय पर्साका रमेश खरेल रहेका छन् ।
पाँचौँमा जगेडामा रहेका सर्वेन्द्र खनाल परेका छन् भने राजेन्द्रमान श्रेष्ठ, मिलन बस्नेत, पुष्कलराज रेग्मी, राजेन्द्र श्रेष्ठ, योगेश्वर रोमखामी मगर, उत्तमकुमार कार्की, सुभासचन्द्र चौधरी, उत्तमबहादुर सिंह, गणेशबहादुर गुरुङ र छविलाल गुरुङ बढुवा भएका छन् । गृहले प्राविधिकतर्फ कृष्णप्रसाद गुरागाइंलाई पनि बढुवा गरेको छ ।
गृहमन्त्री विजयुकमार गच्छदार र महानिरीक्षक शाहबीच सहमति नजुट्दा बढुवाप्रक्रिया लामो समयदेखि रोकिएको थियो । सुरुमा पाँच उपरीक्षक मात्रै बढुवा गर्ने भनिए पनि गृहमन्त्री गच्छदारले १० प्रहरी उपरीक्षकको बढुवा गरिनुपर्ने जिकिर गरेपछि बढुवामा समस्या देखिएको थियो । एसएसपीको १० नयाँ दरबन्दी थप्ने निर्णयपछि बढुवा भएको हो । गृहले नयाँ दरबन्दी थप्ने निर्णयसहितको पत्र अर्थ मन्त्रालयमा स्वीकृतिका लागि पठाए पनि केही समय रोकिएको थियो । अर्थले गृहको निर्णय स्वीकृत गरेलगत्तै एक प्राविधकसहित १६ एसपीलाई एसएसपीमा बढुवा गरिएको हो ।
बढुवा भएलगत्तै उपत्यकाको तीनवटै जिल्लामा एसएसपी प्रमुख रहनेछन् । त्यस्तै पाँचवटै क्षेत्रका तालिम केन्द्रमा पनि प्रमुख एसएसपी हुने भएका छन् ।

प्रतिक्रिया