भक्तपुर, ११ मंसिर । बालअधिकारको लागि चलाउदै आएका बालगृहहरू अब सरकारले बनाएको मापदण्ड २०६९ अनुसार सञ्चालन गर्नुपर्ने भएको छ ।
बालबालिकाको स्याहार तथा संरक्षणको क्षेत्रमा विगत ४० वर्षदेखि कार्यरत अन्तर्राष्ट्रिय संस्था एसओएस बालग्राम नेपालले जिल्ला बालकल्याण समिति भक्तपुरको समन्वयमा आयोजना गरेको छलफल तथा अन्तरसंवाद कार्यक्रममा बाल कल्याणका लागि नभई बालअधिकारको लागि बालगृह मापदण्ड अनुसार सञ्चालन गर्नुपर्ने कुरामा जोड दिईएको थियो ।
कार्यक्रममा भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डमरूप्रसाद निरौलाले जिल्लामा रहेका बालगृह सरकारको नियम कानुनअनुसार सञ्चालन नभएको गुनासो गरे । उनले आफूहले हालै जिल्लामा गरेको बालगृह अनुगमनका क्रममा केही बालगृहलाई व्यवस्थित एवम् कानुन सम्मत सञ्चालन गर्न निर्देशन दिएको बताए ।
जिल्ला बाल कल्याण समितिका बाल अधिकार अधिकृत सन्तोष थापाले बालबालिकाको वैकल्पिक स्याहारमा भक्तपुरको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै बालगृहमा द्वन्द्वपीडित बालबालिकाको पहिचानका लागि छिट्टै जिल्लाका सम्पूर्ण बालगृहबाट तथ्यांक संकलन गर्न लागेको जानकारी गराए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसी, प्रहरी उपरीक्षक जगतमान श्रेष्ठ, महिला तथा बालबालिका अधिकृत निर्मला कार्की, बाल कल्याण समितिका अध्यक्ष कृष्णेश्वरी हाडालगायत बालगृह सञ्चालकको सहभागिता रहेको थियो ।
प्रतिक्रिया