सहकारीमार्फत आर्थिक सामाजिक विकास सम्भव

बारा, १० मंसिर । निजगढस्थित अवतार बचत तथा ऋण सहकारी संस्थाको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । साधारणसभा उदघाटन गर्दै राष्ट्रिय सहकारी बैंक सिमराका संयोजक एवम् बारा जिल्ला बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष कृष्ण पौडेलले सहकारीमार्फत समुदायको आर्थिक सामाजिक विकास सम्भव हुने बताए । मुलुकको राजनीतिक संक्रमण सकिएपछि आर्थिक समृद्धिको अभियान प्रारम्भ हुने र त्यसको नेतृत्व सहकारीले गर्ने पौडेलले बताए ।

कार्यक्रममा यस वर्षको विष्णु लामा स्मृति समाजसेवी पुरस्कार चतुर्भुज तिमल्सेनालाई प्रदान गरिएको छ । साधारणसभाको क्रममा उत्कृष्ट सदस्यको रूपमा कृष्ण बहादुर कार्की, तुलबहादुर श्रेष्ठ, हरिप्रसाद ढुंगानालगायतलाई सम्मान गरिएको छ । प्रमुख अतिथि कृष्ण पौडेल, विशिष्ट अतिथि भोला गौतम र अध्यक्ष केशर लामाले सम्मान गरेका थिए । वार्षिक साधारणसभाले केशर लामाको अध्यक्षतामा नयां सञ्चालक समिति गठन गरेको छ ।
समिति उपाध्यक्ष सञ्जित लामा, सचिव अजय लामा, कोषाध्यक्ष हरिबोल अधिकारी, सञ्चालकहरू एनी लामा, छेवाङ नुर्वा लामा, श्रीहरि न्यौपाने, अमर लामा, जगत अधिकारी, टिकामाया लामा, हिरालक्ष्मी लामा रहेका छन् । त्यसैगरी लेखासमितिमा संयोजक गुरु गौतम र सदस्यहरू यशोदा पन्त र राजेन्द्र लामा चयन भए । तीन वर्षअघि स्थापना भएको सहकारीले हाल दुई करोडको कारोवार गरिरहेको छ । गत वर्ष छ लाख रूपैया मुनाफा आर्जन गरेको र सदस्यहरूलाई १५ प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया