काठमाडौं, ९ मंसिर । दशैं र तिहारका अवसरमा सञ्चालित सुपथ मूल्यका पसलबाट ६८ लाखको नून विक्री वितरण गरेको सरकारले जनाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि वास्कोटाले आज (आइतबार) विज्ञप्ति जारी गरेर सुपथ मूल्यका पसलहरुबाट करीव १५ करोड बराबरको व्यापार भएको जनाए । सरकारले राजधानीमा मंसिर–३ गतेसम्म सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको थियो । सो विषयमा सरकारले समीक्षा पनि गरेको छ ।
सुपथ मूल्यका पसलबाट साल्ट ट्रेडिङ्गले ७ करोड ७१ लाखको चिनी, ६८ लाखको नून र २ करोड ५० लाखका अन्य खाद्यान्न विक्री गरेको हो ।
नेपाल खाद्य संस्थानले ३ करोड ५१ लाख, दुग्ध विकास संस्थानले ६८ लाखको र नेशनल ट्रेडिङ्ग लिमिटेडले १ करोड ९२ लाख ६९ हजार वरावरको सामाग्री विक्री गरेको प्रारम्भिक तथ्याङ्क सचिव वास्कोटाले दिए ।
वास्कोटाले आम जनताका दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थामा सरकारले जोड दिएको बताए । कृत्रिम मूल्य वृद्धि नियन्त्रण, उपभोक्ताको हित विरुद्ध काम गर्नेलाई कडा कारवाही र गुणस्तरीय वस्तु सुपथ मूल्यमा सर्व सुलभ ढंगले प्राप्त हुने व्यवस्था मिलाउन पनि सम्बद्ध अधिकारीहरुलाई उनले निर्देशन दिए ।
प्रतिक्रिया