काठमाडौं, ८ मंसिर । दोस्रो संविधानसभा चुनावको मतपरिणामअनुसार प्रत्यक्षतर्फ एमाले र कांग्रेस अघि–पछि हुँदै जितको यात्रामा छन् । यो समाचार तयार पार्दा शुक्रबार रातिसम्म कांग्रेसले ७७ र एमालेले ७३ स्थानमा जित हासिल गरेका छन् । एमाओवादीले तेस्रो स्थानमा आउँदै १६ स्थान जितेको छ । पछिल्लो परिणामअनुसार एमाले, कांग्रेस र एमाओवादीलगायत दलका अधिकांश शीर्ष नेताले चुनाव जितेका छन् ।
दुई स्थानबाट उम्मेदवारी दिएका एमाले र कांग्रेसका शीर्ष नेताहरूले दुवै स्थानबाट जित हासिलसमेत गरेका छन् । एमाओवादी र मधेसी दलका शीर्ष नेताहरूले भने एक–एक स्थानबाट मात्र सफलता हात पारेका छन् ।
कांग्रेस सभापति सुशील कोइराला दुवै स्थानबाट विजयी भएका छन् । उनले बाँके क्षेत्र नम्बर ३ मा १० हजार ७ सय ५३ मत ल्याएर राप्रपा नेपालका धवलशमशेर जबरालाई हराएका छन् । कोइराला चितवन–४ बाट पनि विजयी भएका छन् । उनले उक्त क्षेत्रमा २० हजार ७ सय ६० मत ल्याएर एमाओवादीका चित्रबहादुर श्रेष्ठलाई पराजित गरेका हुन् ।
कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पनि दुई क्षेत्रबाट विजयी भएका छन् । डडेलधुरा–१ मा २३ हजार ९ सय २ दुई मत ल्याएर देउवाले एमाओवादीका खगराज भट्टलाई पराजित गरेका छन् । देउवाले कैलाली–२ मा १६ हजार ४ सय ८९ मत ल्याएर एमालेका महेश्वर पाठकलाई हराएका छन् ।
एक क्षेत्रमा मात्र उम्मेदवारी दिएका कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले पनि चुनाव जितेका छन् । पौडेल तनहु–२, सिंह काठमाडौं–१ र सिटौला झापा–३ बाट विजेता बनेका हुन् । सिटौला अघिल्लो चुनावमा एमाओवादी उम्मेदवारसँग पराजित भएका थिए ।
दुई स्थानबाट उम्मेदवारी दिएका एमाले अध्यक्ष झलनाथ खनालले इलाम १ मा जित हात पारिसकेका छन् भने सर्लाही–१ मा यो समाचार तयार पार्दासम्म अग्रस्थानमा छन् । इलाममा खनाल १७ हजार ३ सय ४३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी हिमालयन कर्माचार्यले १५ हजार ५ सय २७ मत ल्याए ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल काठमाडौं–२ र रौतहट–१ दुवै क्षेत्रबाट निर्वाचित भएका छन् । उनले काठमाडौंमा २१ हजार ७ सय ४७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी प्रतिमा गौतमले १२ हजार ४ सय ६९ मत ल्याइन । रौतहतमा नेपालले निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका अजय गुप्तालाई पछि पारेका हुन् ।
एमाले उपाध्यक्ष वामदेव गौतम पनि दुई क्षेत्रबाट विजयी भएका छन् । बर्दिया १ मा गौतमले १८ हजार ३ सय ४७ मत ल्याएर एमाओवादीका भवन थारूलाई पराजित गरेका छन् । उनी प्युठान–१ बट पनि विजयी भएका छन् । उनले उक्त क्षेत्रमा १३ हजार ९ सय ६२ मत ल्याएका छन् । उक्त क्षेत्रमा राष्ट्रिय जनमोर्चाका कृष्णबहादुर खड्कालाई उनले पराजित गरेका हुन् ।
एमाले वरिष्ठ नेता केपी शर्मा ओली झापा–७ बाट विजयी भएका छन् । पूर्वसभामुख तथा एमाले नेता सुवास नेम्बाङले पनि इलाम २ बाट जित हात पारेका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भेषराज आचार्यलाई पछि पार्दै नेम्बाङ फेरि संविधानसभा सदस्यका लागि चुनिएका हुन् । एमाले महासचिव ईश्वर पोखरेल, सचिव शंकर पोखरेलले भने पराजय व्यहोरेका छन् ।
दुई स्थानबाट उम्मेदवारी दिएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई काठमाडौं–१० मा कांग्रेसका राजेन्द्रकुमार केसीले पराजित गरेका छन् । केसीले २० हजार ३ सय ९२ मत ल्याए भने दाहाल तेस्रो मात्र भए । दाहाल अघिल्लो चुनावमा उक्त क्षेत्रबाट भारी मतसहित विजयी भएका थिए । दाहाल सिराहा–५ मा एमालेका लीलानाथ श्रेष्ठसँग कडा प्रतिस्पर्धामा छन् ।
एमाओवादीका अर्का नेता डा. बाबुराम भट्टराईले पनि दुई स्थानबाट उम्मेदवारी दिएका थिए । भट्टराईले गोरखा–१ मा २२ हजार ८ सय २४ मत प्राप्त गरी कांग्रेसका किरणाबाबु श्रेष्ठलाई पराजित गरेका छन् । रुपन्देही–४ मा भने उनी एमाले सचिव विष्णु पौड्यालसाग पराजित भएका छन् ।
एमाओवादीकै नेता नारायणकाजी श्रेष्ठ भने मकवानपुर–१ मा एमालेका सुवासचन्द्र ठकुरीसँग पराजित भएका छन् । ठकुरी ११ हजार ७ सय ११ मत ल्याएर विजयी भएका हुन् । श्रेष्ठले १० हजार ७ सय ४१ मत ल्याए ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई मोरङ ७ मा कांग्रेसका शेखर कोइरालाले पराजित गरेका छन् भने सुनसरी ३ मा एमालेकी भगवती चौधरीलाई पछि पार्दै गच्छदारले जित हात पारेका छन् । त्यस्तै उपेन्द्र यादवलाई मोरङ ५ मा कांग्रेसका अमृत अर्यालले हराएका छन । यादवले उम्मेदवारी दिएको अर्को क्षेत्र सुनसरी ५ मा भने अन्तिम नतिजा आउन बाँकी छ ।
एमालेका केही चर्चित नेताहरू पनि पराजित भएका छन् । प्रदीप ज्ञवाली, योगेश भट्टराई, रघुजी पन्त, अरुण नेपाल, घनश्याम भुसाललगायत नेता पराजित भएका हुन् । कांग्रेसका अधिकांश चर्चित नेताले चुनाव जितेका छन् । एमाओवदीका पनि जनार्दन शर्मा, टोपवहादुर रायमाझी, अग्नी सापकोटालगाएतका नेता विजयी भए पनि नन्दकिशोर पुन, हिसिला यमी, बर्षमान पुनलगाएतका नेता पराजित भएका छन् ।
प्रतिक्रिया