‘आतंककारी बनाउन खोजिरहेका छन्’

mohan baidhya ji 1काठमाडौं, ३ मंसिर । दोस्रो संविधानसभा चुनाव बिथोल्न यातायात बन्द गराएको नेकपा–माओवादीले ३३ दलीय मोर्चाको ‘शान्तिपूर्ण आन्दोलन’लाई बदनाम गराउने षड्यन्त्र भइरहेको दाबी गरेको छ ।

मोर्चाको नेतृत्व गरिरहेको दल नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले आइतबार बन्दका क्रममा भइरहेका हिंसात्मक घटनामा आफूहरूको संलग्नता अस्वीकार गर्दै यसमा षड्यन्त्र भइरहेको दाबी गरेका हुन् । ‘कतिपय देशीविदेशी प्रतिगामी शक्तिहरूले हाम्रो शान्तिपूर्ण आन्दोलनलाई बदनाम गराउन आतंककारीको रूपमा परिभाषित गर्दै थप दमन निम्त्याउन खोजिरहेका छन्,’ माओवादी अध्यक्ष वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राज्यशक्तिको दुरूपयोगका कारण कतिपय दु:खद घटना पनि भएका छन् । त्यसप्रकारको घटनाप्रति हामी दु:खित छौं ।’
राष्ट्रघाती तथा जनविरोधी शक्तिहरूले आन्दोलनलाई बदनाम गराउन हिंसात्मक घटना गराइरहेको वैद्यको दाबी छ । बरु राज्यले नै सम्पूर्ण शक्ति प्रयोग गरेर दमन तथा धरपकड गर्दै उल्टै आतंक खडा गरिरहेको वैद्यले विज्ञप्तिमा जनाएका छन् ।
वैद्यले सरकार र चार दलका शीर्ष नेताहरूले आफ्ना आग्रहलाई निषेध गर्दै जबर्जस्त रूपमा चुनाव थोपरिरहेको उल्लेख गर्दै राष्ट्रिय सहमतिका लागि यस चुनावलाई सक्रिय रूपले बहिष्कार गर्न आग्रह गरेका छन् । माओवादीले पूर्वघोषित ४ मंसिरको ५ बजेसम्मको चक्काजामसहितको चुनाव बहिष्कार आन्दोलनलाई सशक्त, शान्तिपूर्ण र प्रभावकारी रूपमा गरेरै छाड्ने जनाएको छ ।
चुनाव बहिष्कार आन्दोलनलाई यथावतै राखेको माओवादीले जुनसुकै परिस्थितिमा पनि संवाद र सहमतिको विकल्प नभएको पनि जनाएको छ । ‘जुनसुकै परिस्थितिमा पनि फेरि राजनीतिक शक्तिहरूको बीचमा संवाद र सहमतिको विकल्प छैन,’ अध्यक्ष वैद्यले विज्ञप्तिमा भनेका छन्, ‘संवाद र नयां राष्ट्रिय सहमतिको पक्षमा सरकार, राजनीतिक दलहरू र नागरिक समाज सबैबाट सकारात्मक पहलका लागि हाम्रो पार्टी पुन: हार्दिक आग्रह गर्दछ ।’

प्रतिक्रिया