एमाओवादी सांघातिक आक्रमणमा उत्रियो : एमाले

umlकाठमाडौ, १ मंसिर । एमाओवादीले निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न आफना नेता तथा कार्यकर्ता माथि सांघातिक आक्रमण सुरु गरेको आरोप एमालेले लगाएको छ । एमालेले बिहीबार विज्ञप्ति जारी गर्दै बैतडी, सिन्धुली, ओखलढुंगा, रुकुमलगायतका जिल्लामा आफ्ना नेता तथा कार्यकर्ता माथि एमाओवादीले सांघातिक आक्रमण गरेको बताएको छ । एमाओवादीको आक्रमणमा आफना उम्मेदवारसहित दर्जनौं कार्यकर्ता घाईते भएको एमालेले जनाएको छ । आफना कार्यकर्तामाथी भएको आक्रमण र एमाओवादीले गरेको आचार संहिता उल्लंघनका विषयमा एमालेले शुक्रवारै निर्वाचन आयोगको ध्यानाकर्षण पनि गराएको छ । हिंसात्मक घटना तुरुन्त रोक्न एमालेले माग गरेको छ । ओखलढुङगामा एमाओवादीका रामकृष्ण ढुङगेल नेतृत्वको हतियारधारी समूहले ग्राम ज्योति निमाविमा एमाले कार्यकर्ता माथी आक्रमण गरेको एमालेले जनाएको छ। आफ्ना केही कार्यकर्तालाई एमाओवादीले बन्दी बनाएको आरोप पनि एमालेले लगाएको छ । रुकुमको वीरकोट–८ मा पनि एमाओवादीका कार्यकर्ताले चुनावी सभामा आक्रमण गरेको आरोप एमालेको छ । सो आक्रमणमा वीरबहादुर शाही र जुद्धबहादुर सार्की गम्भीर घाईते भएको जनाइएको छ । त्यस्तै सिन्धुलीमा पनि एमाओवादीले एमालेका कार्यकर्ता माथि आक्रमण गरेको छ । एमाओवादीका उम्मेदवार लेखनाथ दाहालले आफनै नेतृत्वमा एमालेका कार्यकर्ता माथि कुटपिट गरेको विज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया