काठमाडौं, २२ कात्तिक । एक दिनको नेपाल बन्दले अर्थतन्त्रमा २ अर्ब रुपैयां भन्दा बढीको क्षति हुने भएकाले ३३ राजनीतिक दलहरुद्वारा १० दिने आम हडताल र नेपाल बन्दको कार्यक्रम प्रति नेपाल उद्योग वाणिज्य महासंघले गम्भीर ध्यानाकर्षण गरेको छ । कुनै पनि समस्याको समाधान बन्द तथा हड्ताल जस्ता कार्यक्रमहरुबाट हुन नसक्ने भन्दै आएको महासंघले बन्दको विरोध गरेको छ ।
बन्दका कार्यक्रमले दैनिक मजदूरीमा काम गर्ने मजदूरको जिविकोपार्जनको माध्यम हनन गर्दछ, भने तरकारी खेती गरी दिनदिनै बजारमा तरकारी बेच्ने किसानको पसिना त्यसै खेर जाने गरेको महासंघको भनाइ छ । यस्ता कार्यक्रमले स्वतन्त्र रुपमा पेशा व्यवसाय गर्ने नैसर्गिक मानव अधिकारको हनन मात्र हुने नभई कतिपयको जिविकोपार्जनमा नै नकारात्मक असर पाने जनाएको छ ।
‘लोकतान्त्रिक व्यवस्थाको सबभन्दा राम्रो पक्ष वालिग मताधिकारबाट सम्पन्न हुने निर्वाचन हो र नेपालमा निर्वाचन हुन लागेकोमा उद्योगी व्यवसायी लगायत आम नेपाली ज्यादैनै हर्षित छौं ।’ महासंघले भनेको छ– ‘तर राजनीतिक दल र तीनका नेताहरुमा कुरा मिल्न नसक्दा पुन बन्द र हिंसाको संस्कृति मौलाउन थालेको शंका उत्पन्न भएको छ ।’ विभिन्न कारणले नेपाल आर्थिक रुपमा अझ पछि पर्दै आएको र नेपाल अन्तर्राष्ट्रिय रुपमानै अप्रतिस्पर्धी अर्थतन्त्र बन्दै गएको विभिन्न तथ्याङ्कहरुले पुष्टि गर्दै आएको छ । यति हुंदाहुदै पनि नेपालको अर्थतन्त्रलाई उन्नति र प्रगतिको पथमा लैजान र नेपाललाई लगानीको आकर्षक थलो बनाउनका लागि यस महासंघले भरमग्दुर प्रयास गर्दै आएको जनाएको छ ।
अहिलेको चरम प्रतिस्पर्धाको यूगमा नेपाल अझ पछि पर्ने हो भने उक्सन नै नसक्ने गरी अर्थतन्त्र भांसिने खतरा बढेको महासंघको भनाई छ । ठूलो मात्रामा पूंजी बाहिरिने र अहिलेनै रोजगारीको अवसर नभएका कारण विदेशमा अति निम्नस्तरको काम गर्न जान बाध्य नेपालीहरुका लागि कुनै विकल्पनै नरहने र कहाली लाग्दो परिस्थितिमा मुलुकलाई नधकेल्न र सार्थक वार्ताद्वारा आन्दोलरत पक्षका मुद्दाहरुको यथोचित राजनीतिक संवोधन हुने गरी समस्या समाधान गर्न हामी सरकार तथा जिम्मेवार राजनीतिक दलहरु लगायत सबैमा आग्रह गरेको छ । साथै बन्दकर्तासंग नेपाल बन्द र आम हडताल जस्ता कार्यक्रम फिर्ता लिई मुलुकलाई अझ ठूलो धरापमा नधकेल्न महासंघ भनाई छ ।
वन्द फिर्ता लिन उद्योग परिसंघको आह्वान
संविधानसभा निर्वाचनको पूर्व सन्ध्यामा नेकपा–माओवादी लगायतका ३३ दलीय मोर्चाले राजनीतिक उद्देश्य पूर्ति गर्न नेपाल बन्द गर्ने कार्यक्रम फिर्ता लिन नेपालको निजी क्षेत्रको प्रतिनिधि संस्था नेपाल उद्योग परिसंघले आव्हान गरेको छ ।
धेरै लामो समय देखी संक्रमण कालबाट गुज्रिरहेको नेपालमा समय समयमा हुने बन्द, हडताल, अवरोध, असुरक्षा र अनिश्तिताका कारण नेपालको औद्योगिक क्षेत्र आत्रान्त भएको परिसंघले जनाएको छ । त्यसबाट एकातिर बैदेशिक लगानीमा प्रतिकुल असर परेको र अर्कोतिर रोजगारीको खोजीमा प्रति दिन सयौंको संख्यामा नेपाली युवाहरु बिदेशिन बाध्य भएको जनाएको छ ।
श्रम अशान्ती, बन्द–हडताल, लोडसेडिङ र चन्दा आतंकको मारबाट नेपालका औद्योगिक प्रतिष्ठानहरु बिदेशी कम्पनीहरु साग प्रतिस्पर्धा गर्न नसकि आफ्नो व्यवसायिक क्षमता गुमाउादै गइरहेको परिस्थितिमा नेपालको राजनीतिक समस्याको समाधन नेपाल बन्द, हडताल वा अवरोधबाट हुन नसक्ने कुराको परिसंघ ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया