काठमाडौं : जनता पार्टी नेपालले देशलाई संघीय लोकतान्त्रिक हिन्दू गणतन्त्रको रूपमा स्थापित गर्नुपर्ने जनाएको छ । जनता पार्टी नेपालका उपाध्यक्ष अरूणकुमार सुवेदीले बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा निर्वाचनमा विजयी हासिल गरेमा नेपाललाई संघीय लोकतान्त्रिक हिन्दू गणतन्त्र मुलुकको रूपमा स्थापित गराउने बताएका छन् ।
जनता पार्टीले आफ्नो चुनावी घोषणापत्रमा आमजनतालाई शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षालगायतका सेवा नि:शुल्क गरी राज्यले नै त्यसको जिम्मेवारी लिनुपर्ने प्रस्ताव गरिएको छ ।
जनता पार्टीले आफ्नो घोषणापत्रमा विदेश नीतिलाई पनि नयाँ ढंगले परिभाषित गरेको छ । पार्टीका उपाध्यक्ष सुवेदीले भारत र चीनसँगको सम्बन्धलाई पहिलो श्रेणीमा राखेर उच्चप्राथमिकता दिइने तथा अरू मुलुकसंगको सम्बन्धलाई समदूरीका आधारमा अघि बढाइने परराष्ट्र नीति अवलम्बन गर्ने विषय घोषणापत्रमा समेटिएको बताए । घोषणापत्रमा जलस्रोत क्षेत्रको विकास र हिन्दू संस्कृतिको जगेर्ना गर्ने विषयलाई जनता पार्टीले प्राथमिकतामा राखेको छ ।
जनता पार्टी नेपालले आगामी संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ ५५ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ भने समानुपातिकतर्फ ४६ जनाको नामावली निर्वाचन आयोगमा बुझाएको छ । (सौस)
प्रतिक्रिया