काठमाडौं, २४ असोज । नेकपा एमालेका महासचिव ईश्वर पोख्रेलले एमालेले जनतासमक्ष किटानी प्रतिबद्धताका साथ घोषणापत्र लिएर आउने बताएका छन् । आगामी संविधानका अन्तर तत्त्वमा घामछाँया नहुने गरी स्पष्ट सन्देशसहित एमाले प्रतिस्पर्धाको मैदानमा आउन थालेको उनको भनाइ थियो । विजया दशमी, दिपावली, छठ तथा ल्होसार एवं नेपाल संवत् ११३४ को उपलक्ष्यमा नेपाल बुद्धिजिवी परिषद्ले बुधबार राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘विगतमा जस्तो गोश्वारा शैलीले होइन, हामी किटानीका साथ आगामी आगामी पाँच वर्षमा के गर्छौ भनेर ठोस योजनाका लिएर जनताको माझमा आउँछौँ,’ उनले भने, ‘सुखी नेपाली र समतामूलक समृद्ध नेपाल स्थापनाका लागि मनमोहन अधिकारीको नेतृत्वमअगाडि ल्याएका जनप्रिय र सामाजिक न्यायका मुद्दालाई संस्थागत रूपमै विकास गर्ने योजना घोषणापत्रमा ल्याउन लागिएको छ ।’ उनले पाँच वर्षभित्रै आर्थिक तथा सामाजिक क्षेत्र, सुशासन र न्याय तथा रोजगारीलगायतका विषयमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोच प्रस्तुत गर्ने तयारी भइरहेको समेत बताएका थिए ।
उनले विघटित संविधानसभामा भएका ८० प्रतिशतभन्दा बढी समझदारी एमालेकै दृष्ट्रिकोणमा आधारित भएको समेत दाबी गरेका थिए । ‘सवल र सम्बृद्ध नेपाल निर्माणका लागि जसको नीति उसैको नेतृत्व हुनपर्छ,’ पोख्रेलले भने । लोकतन्त्र र प्रगतिशील संविधान बनाउने कुराको सुनिश्चताका लागि एमालेले जित्नै पर्ने उनको तर्क थियो । ‘एकातिर अधिनायकवादको गन्ध आउने र अर्को तिर प्रगतिशील संविधान बनाउनै नचाहने दुवै शक्ति पराजित हुनुपर्छ,’ उनले एमाओवादी र कांग्रेसतर्फ इंगित गर्दै भने ‘प्रगतिशील र लोकतान्त्रिक संविधान बनाउने कुराको सुनिश्चिता एमालेको नेतृत्वमा मात्रै सम्भव छ ।’
अघिल्लो संविधानसभामा माओवादीको ‘त्रास, केही आस र लोकतान्त्रिक पंक्तिमा आएको हरास’का कारण अप्रत्यासित परिणाम आएको बताउँदै उनले अहिले एमाओवादीको त्रासका ध्याम्पाहरू फुटेको र आशाका टुसाहरू पनि भाँचिएको दाबी गरे । सत्ता अवसरको खेलमा एमाले कहिल्यै नलाग्ने बताउँदै उनले घोषणापत्रमै राजनीतिक सहमतिको निरन्तर जोड दिँदैअगाडि बढ्ने बताए । ‘संक्रमणकालको व्यवस्थापनका लागि राजनीतिक सहमतिमा निरन्तर जोड दिँदै हामी स्थायी धुव्रीकरणको विपक्षमा उभिने प्रतिबद्धता घोषणापत्रमै उल्लेख गर्छौँ,’ पोखरेलले भने ‘सत्ता अवसरवादको फोहोरी खेलमा एमाले कहिल्यै उभिदैन ।’ मुलुकमा केही शक्तिले सामाजिक विद्धैषको रक्तपात मच्चाउन खोजेको भन्दै उनले एमाओवादीको नेतृत्वको जुवाडे प्रवृतिको कारण संविधान नबनेको दाबी गरे ।
प्रतिक्रिया