धनगढी, ५ असोज । विश्वकै सबैभन्दा ठूलो पन्छी भनेर चिनिने अस्ट्रिचलाई कञ्चनपुरका एक व्यक्तिले व्यावसायिक रूपमा पाल्न थालेका छन् । अस्ट्रिच पालनबाट राम्रो आम्दानी हुने सम्भावना देखेपछि जिल्लाको भीमदत्त नगरपालिका–२, उल्टाखामका केशवराज ओझाले मध्य तथा सुदूरपश्चिमाञ्चलमै पहिलोपटक फार्म खोली अस्ट्रिच पालन सुरु गरेका हुन् ।
ओझाले पाँच लाख लगानीमा नवदुर्गा पशुपन्छी नामक फार्म खोलेर अस्ट्रिच पालन सुरु गरेको बताए । उनले भैरहवाबाट दुई लाखमा एक जोडी अस्ट्रिच ल्याएका छन् । व्यावसायिक रूपमा नै अस्ट्रिच पालन सुरु गरिएपछि हाल फार्ममा ठूलो संख्यामा सर्वसाधरणहरू हेर्न जाने गरेका छन् । अस्ट्रिच हेर्न आउनेहरूबाट प्रतिव्यक्ति दश रुपियाँ शुल्क लिने गरेको ओझाले बताए ।
नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको जागिर छोडी ओझाले मध्य तथा सुदूरपश्चिममा अस्ट्रिच पालन नयाँ व्यवसाय र राम्रो आम्दानी हुने सम्भावना देखेर फार्म खोलेको बताए । फार्ममा पाँच जनाले रोजगारी पाएका छन् ।
अस्ट्रिचको मासु स्वस्थकर र पौष्टिक तत्त्व बढी तथा रातो हुने भएकोले उचित मूल्य र बजारमा राम्रो माग रहेको छ । यसको मासु कोलस्ट्रोलरहित हुने भएकोले रक्तचाप र मुटुका बिरामीलाई बढी लाभदायक हुन्छ । यसको अन्डा प्रतिगोटा दुई हजार र मासु पनि प्रतिकिलो दुई हजारमै बिक्री हुने गरेको छ ।
अस्ट्रिचको छालाबाट ज्याकेट, प्वाँखबाट फेसन सो र बोसो तथा हड्डी अन्य प्रयोजनमा प्रयोग हुने भएकोले अन्य व्यसायभन्दा बढी फाइदाजनक रहेको पशुचिकित्सकको भनाइ छ । अस्ट्रिचको तौल डेढ क्विन्टलदेखि साढे दुई क्विन्टल तथा उचाइ आठदेखि १२ फिटसम्म हुन्छ । अस्ट्रिचलाई बर्सिम घाँस, दाना, पत्थर र मार्बल आहाराको रूपमा प्रयोग गरिन्छ । ‘यसको आहाराका लागि अलग्गै खेती गरेको छु,’ओझाले भने, ‘सुरुमा एक जोडाबाट सुरु गरेको अस्ट्रिच पालन व्यवसायलाई अझै थप्दै जान्छु ।’
अस्ट्रिच पालन व्यवसायका लागि दक्ष जनशक्ति अभाव छ । केही समस्या आइपरे भैरहवास्थित फार्म सम्पर्क गरेर समस्याको समाधान गर्ने गरेको ओझाले बताए ।
प्रतिक्रिया