धनगढी, ४ असोज । ट्राफिक प्रहरीले दुई सातामा ३१ वटा चोरीका मोटरसाइकल बरामद गरेको छ ।
सुदूरपश्चिमका विभिन्न ठाउँबाट उक्त चोरीका मोटरसाइकल बरामद गरेको सुदूरपश्चिमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले ती चोरीका मोटसाइकल गएको भदौ १५ यता बरामद गरेको हो ।
बरामद गरिएका मोटरसाइकलमध्य कञ्चनपुरबाट ६ वटा, २ वटा पहाडी क्षेत्र र बाँकी सबै कैलालीबाट बरामद गरिएको क्षेत्रीय ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्रकुमार बस्यालले बताए ।
उनले सुदूरपश्चिममा प्रहरीले थालेको ‘अप्रेसन क्लिन स्विप’ अभियानअन्तर्गत ट्राफिक प्रहरीले पनि त्यहीअनुरूप आफ्नो गतिविधि सञ्चालन गरी धमाधम चोरीका मोटरसाइकल र अन्य सवारीसाधन नियन्त्रणमा लिन थालेको जानकारी दिए ।
यसअघि ट्राफिक प्रहरीले ८८ वटा चोरीका मोटरसाइकल नियन्त्रणमा लिलामी बिक्रीका लागि कैलाली भन्सार कार्यालयलाई बुझाएको थियो । सुदूरपश्चिमका पहाडी जिल्लाभन्दा तराईका कैलाली र कञ्चनपुरमा चोरीका मोटरसाइकल चलाउनेको संख्या धेरै रहेको ट्राफिक प्रहरीको भनाइ छ ।
खुला सीमाका कारण र ग्रामीण भेगमा ट्राफिक प्रहरीको उपस्थिति नहुँदा चोरीका मोटरसाइकल खरिदबिक्रीका साथै प्रयोग गर्नेको बिगबिगी रहेको ट्राफिक प्रहरी क्षेत्रीय कार्यालय अत्तरियाले जनाएको छ ।
संविधानसभा सदस्य निर्वाचन र ट्राफिक व्यवस्थापन गर्न चोरीका सवारीसाधन नियन्त्रणमा लिने र अन्य सवारीसाधनलाई व्यवस्थित गर्न कार्यालयबाट विभिन्न कामकारवाही थालिएको प्रहरी उपरीक्षक बस्यालले बताए ।
बरामद गरिएका चोरी मोटरसाइकलको मूल्यांकन गरी केही दिनभित्रै लिलाम बिक्रीका लागि कैलाली भन्सार कार्यालयलाई बुझाइने बस्यालले बताए ।
प्रतिक्रिया