काठमाडौं, ३ असोज । नेकपा माओवादी निकट राष्ट्रिय युवा जनस्वयं सेवकलगायतका युवा संगठनहरुले बर्दिया घटनाको विरोधमा भारतीय राजदूतावासमा विरोध पत्र बुझाएका छन् ।
काठमाडौंको लैनचौरस्थित दूतावासमा आज (बिहीबार) पुगेका जनस्वयं सेवकका नेता तथा कार्यकर्ताले विरोध पत्रबुझाएका हुन् । उनीहरुले आगामी दिनमा नेपाली सार्वभौमसत्ता माथी आंच आउने कुनै कार्य नगर्न भनेका छन् ।
बुधबार विहान साढे छ बजे बर्दियाको गुलरियास्थित मञ्जुरप्रसाद श्रेष्ठको घरमा सशस्त्र भारतीय प्रहरीले छापामारी स्थानीयलाई आतंकित बनाएका थिए । सो घटनाप्रति आफूहरुको गम्भीर ध्यान आकर्षण भएको भारतीय दूतावासलाई दिईएको विरोध पत्रमा उल्लेख छ ।
‘नेपालमाथि भारतीय पक्षबाट हुने गरेको हस्तक्षेपको पछिल्लो कडिको रुपमा भएको यस घटनाले नेपाली सार्वभौमिकता र स्वतन्त्रतामाथि ठाडो हस्तक्षेप भएको छ,’ विरोध पत्रमा भनिएको छ ।
जनस्वयं सेवकसहितका युवा संगठनहरुले घटनाबारे भारत सरकारलाई आफ्नो धारणा सार्वजनिक गर्न दवाव दिएका छन् ।
प्रतिक्रिया