सरा र रत्नजितलाई उपाधि

Sara-n-Ratnaकाठमाडौं : तेस्रो लिनिङ पुष्पलालस्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको एकलतर्फको उपाधि दिदीभाइ सरादेवी तामाङ र रत्नजित तामाङले जितेका छन् । सराले महिला र रत्नजितले पुरुषतर्फ उपाधि रक्षा गरे । दुवै खेलाडी नेपाल आर्मी क्लबका हुन् । नेपाल खेलकुद महासंघअन्तर्गतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गरेको प्रतियोगिताको महिलातर्फ सराले आफ्नै बहिनी नङ्शललाई २३–२१, १८–२१ र २१–१६ ले हराउँदै उपाधि जितिन् ।
उपाधिसँगै सराले ३१ हजार नगद जित्दा नङ्शलले २४ हजारमै चित्त बुझाइन् । पुरुषतर्फको फाइनलमा रत्नजितले एपिएफका विकास श्रेष्ठलाई १८–२१, २१–१३ र २१–१४ ले हराए । उपाधिसँगै रत्नजितले नगद ३९ हजार हात पार्दा विकासले ३२ हजार नगद पुरस्कारमा चित्त बुझाए । पुरुष डबल्समा आर्मीका रत्न र राम राईको जोडी पहिलो भयो । उनीहरूले नेपाल प्रहरी क्लबका विष्णु कट्वाल र विजित थापाको जोडीलाई २१–२३, २१–१७ र २२–२० को सेटमा पाखा लगाए । त्यस्तै, महिला डबल्समा  एपिएफकी पूजा श्रेष्ठ र सविना पन्थीको जोडीले उपाधि जित्यो । सविना र पूजाको जोडीले उपाधि भिडन्तमा सरा र नङ्शलको जोडीलाई २१–१८ र २१–१५ को सोझो सेटमा हराएको हो । प्रतियोगिताअन्तर्गत यु–१९ ब्वाइज सिंगल्सको उपाधि आर्मीका दीपेश धामीले जिते । फाइनलमा उनले प्रहरीका विजित थापाको चुनौती २१–९ र २१–१६ को सोझो सेटमा पन्छाए ।
यु–१९ गल्र्स सिंगल्समा एपिएफकी शिक्षा श्रेष्ठ पहिलो भइन् । ललितपुरका अनिश श्रेष्ठले यु–१५ ब्वाइज सिंगल्सको उपाधि जिते । यु–१५ गल्र्सतर्फ आर्मीकी जसिका गुरुङले उपाधि जितिन् । भेट्रान्स ५५ वर्षमाथि डबल्समा ललितपुरका नरेश ताम्राकार र मदन कर्माचार्यको जोडीले उपाधि जित्दा ४५ वर्षमाथिको डबल्सतर्फको उपाधि एपिएफका पूर्णबहादुर बुढाथोकी र हरि श्रेष्ठको नाममा रह्यो । प्रतियोगिताका पदक विजेता खेलाडीलई  पूर्व अर्थमन्त्री  एवं नेकपा (एमाले)का केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे तथा अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठले पुरस्कार वितरण गर्नुभयो ।

प्रतिक्रिया