चुनावमा सहभागी हुनुस् : राष्ट्रपति

काठमाडौं, १५ असार । राष्ट्रपति डा. रामवरण यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल पार्न सबै दलहरुले आगामी संविधानसभा चुनावमा सहभागी हुनुपर्ने बताएका छन् । दलहरूले आपसी मतभेद हटाएर चुनावमा लाग्नुपर्ने उनको सुझाव छ ।

जापानको टोकियोस्थित टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य परीक्षण गरी शुक्रबार स्वदेश फर्किएका राष्ट्रपति यादवले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी संविधानसभाले लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने विश्वास व्यक्त गरे । ‘जनताको आकांक्षाअनुसार दोस्रो संविधानसभा खडा होस्, त्यसबाट गणतन्त्र, लोकतन्त्र सबल होस्, नेपाली जनताले नयाँ संविधान प्राप्त गरून्, लोकतान्त्रिक गणतन्त्र संस्थागत होस्,’ राष्ट्रपति यादवले पत्रकारसँग भने । चुनाव हुन अब साढे चार महिना मात्र बाँकी भएका दलले चुनावमा होमिनुपर्ने उनले बताए । चुनावको माध्यमबाट नेपालीको भविष्य सुनिश्चित हुने विश्वास उनले व्यक्त गरे । राजनीतिक स्थायित्व, देशको विकास र नेपालीको उज्ज्वल भविष्यका निम्ति लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुबाहेक अर्काे विकल्प नरहेको राष्ट्रपति यादवले बताए । ‘हामी सबै एकजुट भई आफ्ना निजी मतमतान्तरलाई बिर्सेर राष्ट्रको सर्वाेपरी हितका लागि अगाडि बढौँ,’ उनले भने ।
राष्ट्रपति यादवले दार्चुलालगायत देशको सुदूरपश्चिमका विभिन्न भागमा आएको बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गरे । ती घटनामा परी मृत्यु भएकाहरूप्रति समवेदना प्रकट गर्दै उनले शोकसन्तप्त परिवारप्रति सहानुभूति व्यक्त गरे । आन्द्रामा समस्या देखिएपछि मेडिकल बोर्डको सिफारिसमा स्वास्थ्य परीक्षणका लागि राष्ट्रपति यादव गत ३ असारमा जापन गएका थिए । आफ्नो स्वास्थ्यमा शंका गरिएको लक्षण विभिन्न परीक्षणबाट नदेखिएकाले सबै शंका निदान भएको राष्ट्रपति यादवले बताए ।
‘सबै निराकरण भएकाले खुसी छु । अस्पताल बसाइको क्रममा स्वदेशी तथा विदेशका नेपाली दाजुभाइ दिदीबहिनीबाट प्राप्त सद्भाव, प्रेम र शुभेच्छाप्रति आभार व्यक्त गर्छु,’ राष्ट्रपति यादवले भने । स्वास्थ्य परीक्षणका क्रममा जापान सरकार र सम्बन्धित चिकित्सकबाट प्राप्त शिष्टाचार र सहयोगको पनि उनले सराहना गरे । टोकियो विश्वविद्यालय शिक्षण अस्पतालमा ४ असारदेखि उनको स्वास्थ्य परीक्षण सुुरु भएको थियो । कोलोनोस्कोपी, इन्डोस्कोपी, सिटी स्क्यानलगायत सबै परिक्षण गरेर राष्ट्रपतिको विस्तृत स्वास्थ्य परीक्षण प्रतिवेदन अस्पतालले निकालेको थियो । उक्त विश्वविद्यालयका प्राध्यापक तोसिकाई वातानावे नेतृत्वको विशेषज्ञ चिकित्सक टोलीले उनको स्वास्थ्य परीक्षण गरेको हो ।

प्रतिक्रिया