काठमाडौं, ३० जेठ । एमालेनिकट युवा संघले फेरि युथ फोर्स गठन गर्ने निर्णय गरेको छ । संविधानसभाको गत निर्वाचनपछि पार्टी पंक्तिको प्रतिरक्षाका लागि भन्दै गठन गरिएको युथ फोर्स गत वर्ष विघटन गरे पनि नयाँ चुनावको पूर्वसन्ध्यामा युथ फोर्स गठन गर्ने तयारी संघले गरेको हो ।
संघको स्थायी समिति र सचिवालयको बैठकले गरेका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा फोर्स गठन र शारीरिक तालिम दिनेसमेत बताइएको छ । फोर्स गठन गर्न र चुनावी रणनीति बनाउन २२ र २३ भदौमा संघले चितवनमा राष्ट्रिय कार्यकर्ता भेलासमेत आयोजना गरेको छ । संगठन निर्माण र रूपान्तरणका लागि तीनमहिने अभियान सञ्चालन गरी सोही अभियानमा युवाहरूलाई शारीरिक र मानसिक तालिम दिइने निर्णय युवा संघले गरेको हो ।
‘युवा संघ नेपालले संगठन निर्माण र रूपान्तरको तीनमहिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ, सो अभियानअन्तर्गत गाउँ र नगरका वडा तहसम्म युवा संघको कमिटी गठन गर्ने, युवालाई युवा संघ प्रवेश कार्यक्रम सञ्चालन गर्ने, प्रशिक्षण सञ्चालन गर्ने, वन बुथ इफेक्टिभ युथ ग्रुप नाराअनुसार प्रत्येक बुथ केन्द्रित युवाहरूलाई शारीरिक र मानसिक मनोबल बढाउनका निम्ति प्रशिक्षण तथा शारीरिक व्यायाम सञ्चालन गर्ने’ संघका अध्यक्ष महेश बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
एकीकृत माओवादीले जनताबाट लुटेको र युवा स्वरोजगार कोषलगायत भ्रष्टाचार गरेको रकम लिएर चुनावमा आउने तयारी गरेकाले त्यसको प्रतिवाद गर्न युथ फोर्स गठन गर्न लागिएको बस्नेतले बताए । ‘जनताबाट लुटेको पैसा र युवा स्वरोजगार कोष र लडाकु शिविरमा गरेको भ्रष्टाचारको रकम लिएर एमाओवादी चुनावमा आउँदै छ’, बस्नेतले भने, ‘हामी चुनावलाई निष्पक्ष र धाँधलीरहित बनाउन चाहन्छौँ, त्यसैले युथ फोर्स गठन गर्न लागेका हौँ ।’
युवा संघले संविधानसभाको मिति तोक्न सरकारलाई अल्टिमेटम दिने र मिति नतोकेमा दबाबमूलक कार्यक्रम गर्ने निर्णय गरेको छ । चुनावको मिति तोके आन्दोलनलाई प्रचारात्मक बनाउने र मिति नतोके दबाबमूलक आन्दोलन गर्ने निर्णय गरेको बस्नेतले बताए । संघले उठाउँदै आएको १६ वर्ष उमेर पुगेकालाई मतदाता बनाउनुपर्ने, तीन प्रतिशत मतको थ्रेसहोल्डको व्यवस्थासहित संविधानसभाको आकार एक सय एकको बनाउनुपर्ने र संविधानसभामा ५० प्रतिशत युवाको प्रतिनिधित्वलगायत माग गर्दै आन्दोलनमा जाने विज्ञप्तिमा उल्लेख छ । आन्दोलनलाई सशक्त बनाउन अन्य युवा संगठनसँग पनि सहकार्य गर्ने बस्नेतले बताए ।
पर्शुरामका लागि धरौटी जम्मा गरिने
सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतले २ करोड धरौटी मागेका युवा संघका केन्द्रीय सदस्य महेश बस्नेतका लागि युवा संघको पहलमा धरौटी जम्मा गर्ने पनि युवा संघले निर्णय गरेको छ ।
धरौटी बुझाउन नसकी जेल चलान गरिएका बस्नेतमाथि प्रतिशोध साध्न मात्र मुद्दा दायर गरिएको संघले दाबी गरेको छ । ‘युवा संघ नेपालका केन्द्रीय सदस्य कमरेड पर्शुराम बस्नेतमाथि सम्पत्ति शुद्धीकरण विभागले प्रतिशोध साध्ने ढंगले मुद्दा दायर गरेकोमा विशेष अदालतले दुई करोड धरौटी माग गरेको र धरौटी बुझाउन नसकी हाल जेल चलान गरिएकोमा संगठनको पहलमा धरौटी जम्मा गर्ने निर्णय गरियो,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया