भुसहरू उडेर जान्छन्
उड्न दिनुपर्छ
आखिर चाहिने
त चामल नै हो
भुसहरू चामल बनेर
झुक्याउन खोज्छन्
चामलको रासभित्र नदेख्नेगरी
भित्र–भित्रै गडेर बस्छन्
तर, जतिसुकै गडे पनि, लुके पनि
नाङ्लोको एक फट्काइमा
भुसहरू आतंकित रूपमा
तँछाड–मछाड गर्दै
उड्न थाल्छन्
भुस आखिर भुस नै हो
कहिले चामल बन्न सक्दैन
सुनौला भुसका रंग
जतिसुकै टल्किए पनि
कहिल्यै सुन बन्न सक्दैनन् ।
प्रतिक्रिया