थ्रेसहोल्ड हटाउनै पर्छ : साना दल

काठमाडौं, १ जेठ । चुनावी तयारीकै विषयमा मंगलबार मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले गरेको परामर्शमा साना १६ दलका प्रतिनिधिले निर्वाचन ऐनमा एक प्रतिशत मतको थ्रेसहोल्ड हटाउन र दल दर्ताका लागि १० हजार मतदाताको हस्ताक्षरको प्रावधान हटाउन माग गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको भेटवार्तामा उनीहरूले समानुपातिक सिट प्राप्त गर्न एक प्रतिशत मत प्राप्त गर्नुपर्ने थ्रेसहोल्ड हटाउन माग गरेका हुन् ।
रेग्मीसँगको सामूहिक भेटमा उनीहरूले दल दर्ता गर्दा निर्वाचन आयोगमा दश हजार मतदाताको हस्ताक्षर पेस गर्नुपर्ने व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन् । विगतमा निर्वाचन आयोगमा दलका रूपमा दर्ता र सूचीकृत भई निर्वाचनमा सहभागी भइसकेका दललाई पुन: दश हजार मतदाताको हस्ताक्षर बुझाउने प्रावधान हटाइनुपर्ने उनीहरूको माग छ ।
‘राजनीतिक दलका प्रतिनिधिहरूले संविधानसभा सदस्यको सिट प्राप्त गर्न कुल सदर मतको न्यूनतम एक प्रतिशत मत प्राप्त गर्नुपर्ने व्यवस्थाप्रति पनि असन्तुष्टि जनाएका थिए,’ बैठकपछि मन्त्रिपरिषद् अध्यक्ष रेग्मीका प्रेस सल्लाहकार विमल गौतमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया