कृषि केन्द्र दुई महिनादेखि कर्मचारीविहीन

नुवाकोट, २९ वैशाख । जिल्ला कृषि विकास कार्यालयअन्तर्गत कृषि सेवा केन्द्र धैबुङमा कार्यरत कर्मचारी नहुँदा दुई महिनादेखि कार्यालय बन्द छ । प्राविधिक अभाव भएपछि स्थानीय कृषक मर्कामा परेका छन् ।
जेटी, जेटिएजस्ता कृषि प्राविधिक गाउँमा पठाएर कृषिका समस्या समाधान गर्ने सरकारको योजना भए पनि लामो समयदेखि कुनै कर्मचारी नहुँदा कृषक मर्कामा परेको धैबुङ–६ का कृषक चित्रकुमारी न्यौपानेले भनिन्, ‘हामीलाई आवश्यक परेका बेला सरकारले पठाएको प्राविधिक पाएनौँ कसरी सेवा लिने, दुई महिनादेखि सेवा केन्द्र बन्द छ ।’
त्यस्तै, धैबुङ–७ प्राङसेका कृषक छेनुर्पु तामाङले सेवा केन्द्रमा बेमौसमी तरकारी खेतीका लागि टनेल हाल्न छुटमा प्लास्टिक तथा बीउबिजन ल्याउन सेवा केन्द्रमा रकम दिए पनि तीन महिना बित्न लाग्दासमेत जिल्लाले समेत वास्ता नगरेको दुखेसो पोखे । ‘टोल फ्री नं. १६६०१०५४००० मा फोन गरे पनि केही लागेन, के गर्नु ?’ प्रमुख प्राविधिक सहायक चन्द्रेश्वर यादव फागुन १६ पछि हाजिर छैनन् । त्यसैगरी, सहयोगी कर्मचारी पनि चैत १३ गतेदेखि छैनन् । यादव घरतर्फ लागेको दुई महिना बितिसकेको छ भने सहयोगी बालकृष्ण घिमिरे होलीको दिन भएको धारापानी रूपसेपानी सडक पुलको निर्माण सामग्री तथा मिक्चर मेसिन नष्ट गर्ने समूहमा आबद्ध भएको आरोपमा जाहेरी परेपछि फरार रहेको स्थानीयले जानकारी दिए ।
जिविस तथा आरआइडिपीको सहयोगमा धारापानी रूपसेपानी सडकअन्तर्गत निर्माणाधीन पक्की पुलका निर्माण सामग्री तीन सय सिमेन्टका बोरा च्यातेर पानी लगाएको, रड, पाइप र मिक्चर मेसिन पनि नष्ट गरेको बताउँदै उचित न्यायका लागि प्रहरीमा घिमिरेलगायत दर्जनविरुद्ध जाहेरी दिएको एसबिए निर्माण सेवाका प्रबन्धक सुरेन्द्र लम्सालले भने, ‘एक महिना बित्दा पनि प्रहरीले फरारको गिरºतार गरेन ।’ घटनामा १७ लाख क्षति भएको जनाइएको छ ।
फरार घिमिरे र विनाजानकारी हिँडेका प्रास यादवको खोजी गरिरहेको जिल्ला कृषि विकास कार्यालयले बताएको छ । ‘जिल्लामा धेरैपटक टोल फ्री नम्बरमार्फत फोन गरेर जानकारी गराए पनि बीउबिजन तथा आवश्यक कृषिका समस्या समाधान गर्न प्राविधिक नभेटिएपछि निकै समस्या भयो,’ कृषक रामचन्द्र न्यौपानेले भने । जिल्लाकै ठूलो बस्ती र खेतीयोग्य जमिन भएको धैबुङ र भोर्ले गाविसलाई सेवा दिने केन्द्रका प्राविधिक अभावले सेवाग्राही मर्कामा परेका छन् । जिल्ला कृषि विकास कार्यालयले भने बिनाजानकारी हिँडेका यादव र घिमिरेको खोजी गरेर घर ठेगानामा पत्राचारसमेत गरेको जिल्ला कृषि विकास कार्यालय प्रमुख गोपीराज चालिसेले बताए ।
धनुषा घर भएका यादव सम्पर्कविहीन भएपछि तत्कालका लागि अर्को कर्मचारी पठाउने तयारी गरिरहेको कार्यालयका प्रमुख चालिसेले बताए ।

प्रतिक्रिया