सिसिटिभीको निगरानीमा धरान

Dharan-CC-Cameraधरान, २८ वैशाख । सुनसरीको धरान नगरपालिका अब सिसिटिभी क्यामेराको निगरानीमा रहने भएको छ । धरानको व्यस्त बजार भानुचोकमा सिसिटिभी क्यामेरा जडान गरी शुक्रबारदेखि सञ्चालनमा ल्याइएको छ ।
भानुचोकमा बढ्दो आपराधिक क्रियाकलाप नियन्त्रण तथा धरान बसपार्कलाई व्यवस्थित गराउने उद्देश्यका साथ एकसाथ तीनवटा सिसिटिभी सञ्चालनमा ल्याइएको हो । धरान नगरपालिका, कोसी अञ्चल प्रहरी कार्यालय, धरान स्वतन्त्र समाज र वडा विकास तथा बजार सुधार समितिको सहयोगमा भिगोरस नेपाल सुनसरीले सिसिटिभी सञ्चालनमा ल्याएको हो ।
साढे चार लाख रुपियाँको लागतमा जडान गरिएका क्यामेरा रातमा समेत काम गर्नसक्ने नाइट भिजन प्रविधिका छन् । दुई सय मिटरसम्मको दृश्य रेकर्ड गर्न सक्ने ती क्यामेराले ३६० डिग्रीमा गोलाकार घुमेर वरिपरिका दृश्य खिच्न सक्छन् । २४ सै घन्टा सञ्चालन गर्न सकिने उक्त क्यामेरामा रेकर्ड भएका दृश्य ६० दिनसम्म सुरक्षित रहन सक्ने प्राविधिक अलङ गुरुङले बताए ।
तीनवटामध्ये एउटा क्यामेरा बराह इन्डस्ट्रिज धरानले सौजन्य गरेको छ । इस्डस्ट्रिजका परिकल्पनाकार इन्द्र लामिछानेको स्मृतिमा ८० हजार रुपियाँको लागतमा क्यामरा जडान गरिएको इन्डस्ट्रिजका प्रबन्धक मानबहादुर दियालीले जानकारी दिए । भानुचोककै वडा प्रहरी कार्यालयमा क्यामेराको नियन्त्रण कक्ष राखिएको छ । नियन्त्रण कक्षमा १६ वटासम्म क्यामेरा एकसाथ सञ्चालन गर्न सकिने डिभाइस राखिएकाले धरानका अन्य महत्त्वपूर्ण ठाउँमा क्यामेरा जडान गर्दै जाने भिगोरस नेपालका अध्यक्ष रोहित दर्नालले जानकारी दिए । लोडसेडिङको समयमा समेत क्यामेरा सञ्चालन गरिने छ । धरानको देशीलाइन, पुतलीलाइन, छाताचोक, प्रमुख वित्तीय तथा व्यावसायिक संस्थाका कार्यालयअगाडि क्यामेरा जडान गर्ने योजना रहेको उनले बताए ।
यातायातसम्बन्धी नियमको उल्लंघनबाट यात्रुले सास्ती खेप्नुपरेको र बजार अव्यवस्थित बन्दै गएकाले क्यामेरा जडान गर्न थालिएको अञ्चल प्रहरी कार्यालयका एसएसपी यादवराज खनालले बताए । यसबाट अपहरण, लुटपाट, कुटपिटलगायत आपराधिक क्रियाकलाप नियन्त्रणमा आउने उनले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया