७ हजारले पाए गाउँमै सरकारी सेवा

Ilamइलाम, २४ वैशाख । इलाममा एकीकृत घुम्ती शिविरमार्फत ७ हजार ३ सय ७४ जनाले गाउँमै सरकारी सेवा प्राप्त गरेका छन् । मन्त्रिपरिषद् गठनप्रति असन्तुष्ट राजनीतिक दलहरूले अन्य जिल्लामा अवरोध पुर्‍याइरहे पनि इलाममा भने ८ देखि २२ वैशाखसम्म जिल्लाका चार ठाउँमा सञ्चालित घुम्ती शिविरबाट उक्त संख्यामा सर्वसाधारणले सरकारी सेवा प्राप्त गरेका हुन् ।
घुम्ती शिविरमार्फत गाउँमै सम्पूर्ण सरकारी सेवा प्रदान गरिएको सिडिओ बाबुराम खतिवडाले जानकारी दिएका छन् । १६ गाविसका बासिन्दालाई लक्षित गरी चार केन्द्रमा सञ्चालन गरिएको शिविरमा नागरिकता वितरण, मतादाता नामावली संकलन, नि:शुल्क स्वास्थ्य शिविर, मालपोत, कृषि, पशु, नापीलगायत सरकारी सेवा प्रदान गरिएको थियो ।
सिडिओ खतिवडाका अनुसारमा शिविरमा चारवटै केन्द्रमार्फत १६ गाविसका गरी दुई हजार चार सय ३१ जनालाई नयाँ नागरिकता वितरण गरिएको थियो । दुई हजार सात सय ११ ले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराए । त्यस्तै, एक हजार चार सय आठ जनाले स्वास्थ्यअन्तर्गत आँखा, दाँत, कान, पेटलगायतको सेवा पाए । सात सय ३४ पशुको समेत परीक्षण गर्नुका साथै औषधी वितरण गरिएको थियो । क, ख, ग र घ श्रेणीको गरी ९० वटा अपांगता परिचयपत्र वितरण भएको थियो । कृषि कार्यालयले विभिन्न तरकारी तथा फलफूलका बिउविजनसमेत वितरण गरेको थियो ।
८ देखि १२ गतेसम्म इभाङ, बाँझो र साकफारालाई लक्षित गरी बाँझोस्थित चिसोपानी उच्च माविमा, १० देखि १४ गतेसम्म फुएतप्पा, आमचोक, लुम्दे, गजुरमुखी, एकतप्पा र फाकफोकका लागि आमचोकस्थित सिंहदेवी उच्च माविमा, १५ देखि १८ गतेसम्म जमुना, माबु र माइमझुवाका लागि माबु गाविसमा र १८ देखि २२ गतेसम्म कन्याम, कोल्बुङ, इरौँटार र जिर्मलेका लागि इरौँटार गाविसमा घुम्ती शिविर सञ्चालन गरिएको थियो । सहायक सिडिओ पुरुषोत्तम घिमिरेसमेतको संलग्नतामा शिविर सञ्चालन भएको थियो ।
प्रशासन कार्यालयले ३० वैशाखदेखि २ असारसम्म बाँकी गाविसमा नागरिकता र फोटोसहितको मतदाता नामावली संकलनका लागि टोली खटाउने जनाएको छ । ‘गाउँ–गाउँमा टोली गई १६ वर्ष उमेर पुगेका र यसअघि नागरिकता बनाउन तथा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन छुटेकाहरूका लागि एकमहिने अभियान सञ्चालन गरिनेछ,’ सिडिओ खतिवडाले भने ।

प्रतिक्रिया