काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो १०० दिनको कार्यकालको ‘उपलब्धि’ सार्वजनिक गरेका छन् । मंगलबार प्राधिकरणमा पत्रकार सम्मेलन गरेर उनले १०० दिनको उपलब्धि सार्वजनिक गरेका हुन् ।
शाक्यले गत वैशाखमा सार्वजनिक गरेको श्वेतपत्रमा ऊर्जा सुरक्षा, विश्वसनीय विद्युत्, वित्तीय व्यवस्थापनमा नवीनता, पारदर्शी तथ्यांक, र मानव स्रोत व्यवस्थापनलाई प्राथमिकता राखेर काम गरेको जिकिर गरे ।
उनका अनुसार, ऊर्जा सुरक्षाका लागि पम्प स्टोरेज र ब्याट्री एनर्जी स्टोरेज आयोजना, उत्तरगंगा र अपर अरूणजस्ता परियोजनाको लाइसेन्स प्रक्रिया अघि बढाइएको छ । यस्तै, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढाइएको, प्रमुख ग्राहकहरूलाई सम्मान गरिएको, र डेडिकेटेड तथा ट्रंक लाइन विवाद समाधानतर्फको काम तीव्र पारिएको उनको भनाइ छ ।
उनले ग्राहक सेवा सुदृढ गर्न नयाँ भुक्तानी गेटवे विकास, एपमार्फत समस्या प्रतिवेदन प्रणाली, करिब ९०० विपन्न परिवारलाई निःशुल्क मिटर वितरण, सात हजार ३१५ सामुदायिक ग्राहकलाई प्रत्यक्ष सेवा उपलब्ध गराइएको जनाए ।
यस अवधिमा वितरण क्षेत्रमा भगवानपुर, वीरेन्द्रबजार, बर्दिबास र जोगबुढा गरी ४३ एमभीए क्षमताका चार नयाँ सबस्टेसन सञ्चालनमा आएको उनको भनाइ छ । यस्तै, भोल्टेज स्थिरताका लागि ११० एमभीए क्षमताका क्यापासिटर बैंक जडान गरिएको छ ।
शाक्यका अनुसार, प्रसारणतर्फ १०४ सर्किट किलोमिटर नयाँलाइन र ५८६.५ एमभीए क्षमताका सबस्टेसन थपिएका छन् । पोखरा, काठमाडौं, कोसी करिडोर, मर्स्याङ्दी करिडोरलगायत थुप्रै विवाद समाधान गरी निर्माण अघि बढाइएको छ । निजगढ–पोखरिया ४०० केभी, बालाजु–सिंहदरबार १३२ केभीजस्ता नयाँ प्रसारणलाइनका लागि अनुमति प्रक्रिया अगाडि बढाइएको छ ।
यस्तै, वित्तीय व्यवस्थापनतर्फ १० अर्ब रुपैयाँ ऋण र २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने सहमति अर्थ मन्त्रालयबाट लिइएको उनले बताए । ड्यू डिलिजेन्स अडिट (डीडीए) प्रक्रिया अघि बढाइएको र कर्मचारी मूल्यांकन अनलाइनबाट गर्ने व्यवस्था गरिएको शाक्यले बताए ।
व्यापार विकासतर्फ बंगलादेशमा नियमित ४० मेगावाट र भारतमा दैनिक ६२५ मेगावाट विद्युत् निर्यात भइरहेको छ । यस्तै, ७७.९७ मेगावाटका नयाँ जलविद्युत् र सोलार आयोजना व्यावसायिक सञ्चालनमा आएका छन् ।
प्रतिक्रिया