काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा १५ खर्ब ३२ अर्ब ९३ करोड बराबरको विप्रेषण (रेमिट्यान्स) आप्रवाह भएको छ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको विवरण अनुसार, विप्रेषण आप्रवाह १५ दशमलव ५ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव २ प्रतिशतले वृद्धि भएको थियो । यसैगरी, जेठ महिनाको विप्रेषण आप्रवाह रु एक खर्ब ७६ अर्ब ३२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो आप्रवाह रु एक खर्ब २८ अर्ब ९१ करोड थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ दशमलव ७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्ष सोही किसिमको आप्रवाह १५ दशमलव २ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु १६ खर्ब ६८ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा सो आय रु १४ खर्ब ४३ अर्ब १० करोड थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या चार लाख ५२ हजार ३२४ र पुनः श्रम स्वीकृति लिनेको संख्या तीन लाख आठ हजार ६७ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त संख्या क्रमशः चार लाख २१ हजार ३५६ र दुई लाख ६१ हजार २१० थियो ।
प्रतिक्रिया