हराएका कामरेडहरू

अब कामरेडहरूले फेरि बन्दुक होइन, कलम उठाउने बेला आएको छ । समाज परिवर्तनको लडाइँ अब खेतमा, पाठशालामा, सडकमा, नागरिक सचेतनामा जित्नु छ । अब नारा होइन, नीति चाहिन्छ । भावनाको जोश होइन, ज्ञान र योजना चाहिन्छ । युवा पुस्तालाई फेरि क्रान्ति होइन, सिर्जनशीलता प्रेरणा दिनु आवश्यक छ ।

गोकुल निरौला

कामरेडहरू हराए, बेपत्ता भए सम्पर्कविहीन भए । यसो पनि हुन सक्छ कामरेडहरूले हिँड्ने बाटो परिवर्तन गरेको या आफैँले आफ्नो नाम काम सिद्धान्त सबै भुलिसकेका छन । त्यसैले त कामरेडहरू बेपत्ता छन् हराएका छन् ।

क्रान्तिको सपना बोकेर बन्दुक समातेका हातहरू अहिले कहाँ छन् ? २०५२ सालमा सुरु भएको १० वर्षे सशस्त्र जनयुद्धले हजारौँ युवाहरूलाई देश परिवर्तन गर्ने महान सपनामा जोतेर युद्धको मैदानमा होमायो । तीमध्ये कोही सहिद भए, कोही अपांग । बाँकी बचेका धेरैजसो ‘कामरेडहरू’ युद्ध टुंगिएसँगै हराएझैँ भए, राजनीतिक दलका कुना कन्दरामा, वैदेशिक रोजगारमा, सामान्य जीवनको छायामा ।

आज तिनै युद्धका लडाकुहरू कतै किराना पसल चलाइरहेका छन्, कतै ट्याक्सी हाँकिरहेका छन्, कतै विदेशका इँटा कारखानामा पसिना बगाइरहेका छन् । त्यतिबेलाका कमान्डर कामरेड विप्लब धान रोप्दै छन् । तर, कामरेड विप्लब हराएका भने होइनन् । त्यो बेलाको तामझाम, जनमुक्ति सेनाको गम्भीर अनुशासन र ‘जनताको सत्ता’ को सपना अब पुराना किताबका पानामा मात्र भेटिन्छ ।

दशक लामो विद्रोहीशक्ति शान्तिपूर्ण राजनीतिमा विलीन भयो, तर युद्ध लडेका मानिसहरूको व्यक्तिगत जीवनमा उस्तै उथलपुथल रहिरह्यो । राज्यको पुनर्संरचना भयो, तर कामरेडहरूको भविष्यको संरचना बिग्रिँदै गयो । तत्कालीन लडाकुहरूका लागि शिक्षा, रोजगारी र सम्मानजनक पुनस्र्थापना हुने भनिएको थियो, तर न नीतिगत ध्यान दिइयो, न व्यावहारिक कार्यान्वयन ।

कतिपय माओवादी लडाकु नेताहरू राजनीतिमा स्थापित भए, मन्त्री बने, सांसद बने, महलमा सरे । तर तिनै नेताहरूका छायाझैँ रहेका फौजीहरू भने सुदूर गाउँ फर्किए, खेतीपाती गरेर पेट पाल्न थाले । केही त अझै युद्धको मानसिक असरमा छन् डिप्रेसन, मानसिक रोग वा सामाजिक अलगावमा ।

माओवादी शान्तिवार्तामा आउँदा सुरुमा नाम दर्ता भएका झन्डै १९ हजार ६०२ जना सेनामा समायोजन गर्ने भनिए पनि सबैले भर्ना हुन पाएनन् । कुलमा १ हजार ४२२ जना मात्र नेपाली सेनामा समायोजन गरिए । तिनमा पनि धेरैजसोले विशेष सर्तहरूमा प्रवेश गरे उमेर, योग्यता आदि आधारमा छनोट भए । ‘क्रान्तिको माटो’ बनाउने नाममा ज्यान दिनेहरूको सम्झनामा वर्षमा एकपटक ‘सहिद सप्ताह’ मनाइन्छ । तर बाँचेका योद्धा जसको योगदान त्यत्तिकै महत्वपूर्ण थियो उनीहरूको न त खोज खबर गरिन्छ, न सम्मान ।

युद्ध सकिएको २ दशक हुन लाग्दा पनि ‘जनताको सत्ता’ नामको सपना त कोलाज भयो, तर सत्तामा पुगेकाहरूको नजरमा आफ्नै सिपाहीहरू हराए । समाज बदलिन्छ भन्ने आशामा युद्धमा होमिएका ती युवाहरू अहिले भन्छन्, ‘हामीले देखेको सपना अरूको राजगद्दीको खुड्किलो बनिदियो । देशमा केही संरचनागत परिवर्तन भए पनि आर्थिक, सामाजिक र सांस्कृतिक न्याय अझै अधुरै छ ।’

युद्धको नेतृत्व लिएका कतिपय नेताहरूले विदेशी उपचार, पाँचतारे होटेल, कम्पनीको जीवन बिताइरहँदा युद्धको मैदानमा लडेका ‘कामरेडहरू’ भने एक छाक टार्न संघर्षरत छन् । हुन त नेपालमा राजनीतिक परिवर्तनका नाममा आन्दोलन र संघर्ष नभएका भने होइनन् । तत्कालीन राजनीतिक दलहरूले राणाशासनविरुद्धको आन्दोलन गरे । नेपाली कांग्रेसको नेतृत्वमा गरेको आन्दोलनले राणाशासन अन्त्य गरेर प्रजातन्त्र स्थापन गर्यो । नेपालमा राणाशासनको अन्त्य, लोकतान्त्रिक अभ्यासको थालनी भयो । प्रजातन्त्रको स्थापनासँगै नेपालमा अर्को आन्दोलनको सुरुआत भयो ।

२०४६ सालको जनआन्दोलनले निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य र बहुदलीय प्रजातन्त्र स्थापना गर्यो । देशमा पञ्चायत प्रणालीको अन्त्य, संविधानसभाबाट २०४७ सालको संविधान जारी, बहुदलीय प्रणाली पुनःस्थापित भयो । बहुदलीय प्रणाली सुरु भएको ५ वर्षमै माओवादीले जनयुद्ध गर्यो । जुन आन्दोलन २०५२ फागुन १ देखि १० वर्षसम्म सञ्चालन गरियो माओवादी नेताहरू भूमिगत भए । १७ हजारको ज्यान गयो । माओवादीले जनआन्दोलन भन्दै गरेको यो संघर्षले राजतन्त्रको अन्त्य, गणतन्त्र स्थापनासहित समाजवाद उन्मुख राज्य निर्माण गर्यो ।

संसद्वादीदलसँग मिलेर राजतन्त्र अन्त्य गर्ने वातावरण बन्यो, २०६२ चैत–२०६३ वैशाखसम्म आन्दोलन गरे । ७ पार्टी गठबन्धन र माओवादीको समर्थन, नागरिक समाज आन्दोलनमा उत्रिए । राजाको प्रत्यक्ष शासन अन्त्य, लोकतन्त्र पुनःस्थापना, संविधानसभाबाट संविधान लेखाउने माग गरियो । यो आन्दोलनले राजा ज्ञानेन्द्रले सत्ता फिर्ता गरे, अन्तरिम संविधान जारी, संविधानसभा गठन, गणतन्त्र घोषणा गरियो ।

हुन त कामरेड हराउन लागेपछि पनि नेपालमा आन्दोलन नभएका होइनन् । उदाहरण नै लिने हो भने पनि मधेसमा भएका आन्दोलनहरू अखण्ड सुदूरपश्चिम भनेर भएको आन्दोलन, थारूहट थारूवानको आन्दोलनलाई लिन सकिन्छ । नेपालको इतिहासमा राजनीतिक आन्दोलनहरू कुनै नौलो विषय होइनन् । प्रत्येक युग, प्रत्येक दशकले कुनै न कुनै आन्दोलनको साक्षी बनेको छ । चाहे त्यो लोकतन्त्रको आन्दोलन होस्, गणतन्त्रको माग होस्, वा सामाजिक अधिकारको लागि गरिएका विद्रोह । पछिल्लो समय पनि नेपाल फेरि आन्दोलनले घेरिएको देश बनेको छ । जहाँ सडक जुलुस, धर्ना, नाराबाजी र असन्तोषको स्वर फेरि चर्किएको सुनिन्छ । २०४६ सालको जनआन्दोलनले बहुदल ल्यायो, २०६२÷०६३ को दोस्रो जनआन्दोलनले राजतन्त्रको अन्त्य गर्यो । तर त्यसपछि पनि जनताले शान्ति, सुशासन र समृद्धिको अनुभूति गर्न सकेनन् । संविधान बन्यो, चुनावहरू भए, सरकार फेरिए तर जनताको समस्या उस्तै रहे । बेरोजगारी, महँगी, भ्रष्टाचार, र सामाजिक असमानता ।

आज देशभर विभिन्न रूपका आन्दोलन भइरहेका छन् । शिक्षकले बाँच्न सक्ने तलब माग्दै आन्दोलन गर्छन्, किसान मल र बजारको सुनिश्चितताको लागि जुलुस निकाल्छन् । स्वास्थ्यकर्मी, युवा, आदिवासी, मधेसी, थारू, दलित सबै वर्गका नागरिक कुनै न कुनै मुद्दामा सडकमा छन् । अझ गम्भीर कुरा के छ भने, सरकार यी आवाजलाई सम्बोधन गर्नुभन्दा दबाउनमै लागिपरेको देखिन्छ । आन्दोलनलाई दमन गर्ने शैलीले समस्या झन् चर्किन्छ, समाधान कहिल्यै हुँदैन ।

नेपालमा आन्दोलनको लामो परम्परा छ, तर त्यसले स्थायी नतिजा ल्याउन सकेको छैन भने सोच्नुपर्ने बेला यही हो । हामी किन बारम्बार आन्दोलनमै फसिरहेका छौँ ? के राजनीति जनताको सेवा गर्न होइन, सत्ताको भोग गर्न सीमित भयो ? जबसम्म राज्य जनतालाई सुन्न तयार हुँदैन, आन्दोलनको स्वर चर्किंदै जान्छ । १० वर्षे जनयुद्धको इतिहास बोकेका, हजारौँ साथीभाइ गुमाएका र परिवर्तनको सपना देखेर बन्दुक बोकेका ती कामरेडहरू अहिले प्रश्न गर्दै छन् अब के गर्ने ? युद्ध सकियो, सन्धि भयो, गणतन्त्र आयो, चुनाव पनि भोगियो । तर सपना भने अधुरै छन् ।

३ करोड जनताको देशमा हजारौँले रगत बगाएर ल्याएको यो परिवर्तनको फाइदा कसलाई भयो ? सत्ता र शक्तिको घेरामा सीमित केही नेताहरू लाभान्वित भए तर ती सहिदका परिवार, अंगभंग भएकाहरू, आधारभूत शिक्षा र रोजगारी नपाएका कामरेडहरू अझै पनि अन्योलमा छन् । जनताको शासन ल्याउने सपना बोकेर लडेका थुप्रै योद्धा आज गाउँ फर्किएका छन् । कसैले होटल खोलेका छन्, कसैले मजदुरी गर्छन्, कसैका लागि जीवन फेरि थालिएको छैन । बाँकीहरू पर्खिरहेका छन् । सायद फेरि आन्दोलन गर्ने बेला आउनेछ कि भने र । तर अबको समय बन्दुकको होइन, विचारको हो । क्रान्तिको होइन, निर्माणको हो ।

अब कामरेडहरूले फेरि बन्दुक होइन, कलम उठाउने बेला आएको छ । समाज परिवर्तनको लडाइँ अब खेतमा, पाठशालामा, सडकमा, नागरिक सचेतनामा जित्नु छ । अब नारा होइन, नीति चाहिन्छ । भावनाको जोश होइन, ज्ञान र योजना चाहिन्छ । युवा पुस्तालाई फेरि क्रान्ति होइन, सिर्जनशीलता प्रेरणा दिनु आवश्यक छ । कार्यकर्तालाई प्रशिक्षण, वैकल्पिक जीवन शैली, र रोजगारमुखी योजना दिनु जरुरी छ । सत्तामा पुगेका पूर्वकामरेडहरूलाई आत्मआलोचना गर्न सक्नुपर्छ, अन्यथा जनताको विश्वास गुमिसकेको छ । हराएका कामरेडहरूलाई खोज्नु जरुरी छ ।

प्रतिक्रिया