काठमाडौँ । सोसाईटी अफ ट्राभल एण्ड टूर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) मा मानबहादुर शाहीको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत निर्वाचित भएको छ । शनिबार अबेर सम्पन्न संस्थाको १७ औं वार्षिक साधारण सभा एवं निर्वाचनले शाहीको नेतृत्वमा दुई वर्षे कार्यकालको लागि नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
प्रमुख निर्वाचन अधिकृत सरस्वती श्रेष्ठका अनुसार संस्थाको प्रथम उपाध्यक्षमा डा. दिनेश बस्नेत, द्धित्तीय उपाध्यक्षमा माधव कुमार कँडेल, महासचिवमा कुमार पराजुली, सचिवमा कमल बहादुर मगर, कोषाध्यक्षमा मधुसुदन नेपाल र सह कोषाध्यक्षमा आनन्द कुमार क्षेत्री निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा बिन्दु प्रधान, अनिशा ज्ञवाली, डासुराम गौतम, ओम प्रकाश जोशी, सुबोध धिताल, प्रेम कुमार दनुवार र सुजित कुमार यादव निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भिम आचार्यले पर्यटनसँगै सिङ्गो देशको अवस्था नै अफ्ठेरोमा गरेकोप्रति चिन्ता व्यक्त गरे । तीन वर्षअघि देखि अर्थिक संकटतर्फ देश धकेलिरहेको उनको जिकिर छ ।
अबको समयमा राष्ट्रलाई संकटबाट बचाउन सबै एकजुट भएर अगाडि बढ्नुपर्ने उनले बताए । हवाई टिकटमा लागेको भ्याट हटाउनेबारे पहल भइरहेको भन्दै उनले भने, ‘कर्मचारीको जालोले गर्दा भ्याट बजेटबाट हटाउन सकिएन । विस्तारै यसलाई हटाउन सोचिरहिएको छ ।’
उनले नेपाल पर्यटन बोर्डमा बढी राजनीतिकरण भएको भन्दै यसको पुनर्संरचना गर्नूपर्ने आवश्यकता औंल्याए । त्यस्तै नेपाल एयरलाइन्स अहिलेकै हिसाबले अगाडि बढ्न नसक्ने भन्दै यसको पनि पुनर्संरचना गर्नुपर्ने धारणा राखे । नेपाल एयरलाइन्सलाई विकास नगरी गन्तव्य सस्तो नहुने उनले ठोकुवा गरे ।
कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष राम प्रसाद सापकोटा (कमल)ले पर्यटनको सम्भावना छ भनिएपनि संख्या बढाउन र पर्यटकको बसाइँ लम्ब्याउन नसकिएकोमा दुःख व्यक्त गरेका छन् । कोभिडपछि पर्यटन क्षेत्र नराम्रारी प्रभावित भएको भन्दै व्यवसायीलाई सहुलियतपूर्ण ऋणको व्यवस्था हुनुपर्ने उनको माग छ ।
नयाँ नयाँ नतिजा दिने स्थान एवं पर्यटन पूर्वाधार विकासमा बजेट खर्च गर्नुपर्नेमा उनले जोड दिएका छन् । पर्यटन बोर्डले यसपाली साउन १५ भित्रै बजेट ल्याउने दाबी गर्दै उनले समयमै काम नगरिदिने बोर्डका सीईओदेखि कर्मचारीप्रति खबरदारी गर्न आग्रह गरे । यसअघि जस्तो २६ पटकसम्म बोर्डमा धाउनुपर्ने अवस्था अब अन्त्य गर्न सबै लाग्नुपर्ने बताए । बोर्डको प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटनमा थुप्रै काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै सोट्टोसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले पर्यटन क्षेत्रमा उल्लेख्य लगानी भएपनि संख्याको हिसाबले १०/११ लाख गनेर बस्न बाध्य हुनु परेकोप्रति चिन्ता व्यक्त गरे । सरकारले हवाई सेवामा लगानी गर्नुपर्ने भन्दै उनले हवाई टिकटमा लाग्दै आएको भ्याट हटाउनु सरकारसँग माग गरे । नेपालको हवाई नीति सुधार्न सरकारलाई दबाब दिनुपर्ने आवश्यकता औंल्याउँदै पर्यटनका सबै संघसंस्थाको एकताबद्ध प्रयासमार्फत पर्यटनलाई माथि उठाउनुपर्ने आवश्यकता औंल्याए ।
सोट्टो नेपालका निवर्तमा अध्यक्ष भुवन पाण्डेले पर्यटनलाई उद्योग सरहको मान्यता दिन आग्रह गरे । आन्तरिक र बाहृय पर्यटन प्रवद्र्धनमा सोट्टो नेपालले उल्लेख्य काम गरिरहेको भन्दै नेपाल वायुसेवा निगमको जहाज बढाउनुपर्ने आवश्यकता औंल्याए । निजी र सरकारी क्षेत्रले सञ्चालन गर्ने मोडलमा यसलाई लैजानुपर्ने उनको सुझाव छ ।
समयसापेक्ष नयाँ पर्यटन ऐन लागु गर्नुपर्ने, हर्वा टिकटमा भ्याट हटाउनुपर्ने, दोहोरो करका दर हटाउनुपर्ने, नेपालका सवारी साधन भारतमा पनि निर्वाध चल्न पाउने वातावरण बनाउन सरकारले कुटनीतिक पहल गर्नुपर्ने माग गरे ।
सोट्टो नेपालका नवनिर्वाचित अध्यक्ष शाहीले आफ्नो कार्यकालमा पर्यटन क्षेत्रलाई नयाँ उचाईमा पुर्याउन सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया