झापा । जिल्लामा पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ । असारको तेस्रो साता बित्न लाग्दा पनि पर्याप्त पानी नपर्दा रोपाइँ प्रभावित भएको हो । हल्दिबारी–६ का कृषक रतनकुमार भुलेलले गत वर्ष यतिबेला रोपाइँ गरिसकेको बताए । ‘अघिल्लो वर्ष रोपाइँ सकेर खसिया (रोपाइँ गरेर पुनः उखेलेर रोप्ने) पनि सारिसकेको थिएँ’, उनले भने, ‘यस साल त समयमै रोपाइँ नहुँदा बिउ नै पहेँलिएको छ ।’ डेढ बिघामा खेती गर्दै आएका उनले सिचाइँको वैकल्पिक व्यवस्था नभएकाले समस्या भएको दुःखेसो गरे ।
गत वर्ष यति बेला जिल्लामा करिब २५ प्रतिशत रोपाइँ सकिएको थियो भने यो वर्ष १४ प्रतिशतको हाराहारीमा रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका प्रसार अधिकृत चेतराज भण्डारीले पर्याप्त वर्षा नभएपछि किसानले पानी तान्ने मोटर प्रयोग गर्न थालेकाले रोपाइँ बढ्ने विश्वास व्यक्त गरे ।
मल अभाव
झापामा गत वर्षझैँ यस वर्ष पनि मल अभाव भएको छ । कृषकले मल नपाएको गुनासो गरिरहेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताए । झापामा बर्खे धान खेतीका लागि डिपिए १२ हजार मेट्रिक टन र युरिया १४ हजार मेट्रिक टन आवश्यक पर्ने प्रमुख विष्टले जानकारी दिए । मागअनुसार आपूर्ति भएको छैन । गत वर्ष मागका आधारमा १० प्रतिशत मात्र मल आपूर्ति भएको उनले बताए । गोबरको प्रयोग बढाउनसके ४० प्रतिशत रासायनिकको प्रयोग घटाउन सकिने प्रमुख विष्टको दावी छ ।
झापामा बर्खे धानको उत्पादन हरेक वर्ष बढ्दै गएको छ । जिल्लामा आर्थिक वर्ष २०७८÷०७९ मा धानको उत्पादकत्व ४ दशमलव ८५, आव २०७९÷०८० मा ४ दशमलव ८९ र गत आवमा ५ दशमलव शून्य ५ पुगेको केन्द्रले जनाएको छ । जिल्लामा धान खेतीको क्षेत्रफल ८७ हजार ५०० हेक्टरबाट घटेर ७५ हजार ४६९ हेक्टर भए पनि उत्पादकत्व भने वृद्धि भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले बताए । झापामा सबैभन्दा धेरै गौरादह नगरपालिकामा धान खेती हुने गरेको छ भने सबैभन्दा कम दमक नगरपालिकामा हुने गरेको छ । गौरीगन्ज र कचनकबलमा पनि मनग्ये धानखेती हुने गरेको केन्द्रले जनाएको छ ।
सिरहामा १८ प्रतिशत मात्र रोपाइँ
असारको तेस्रो हप्तासम्म सिरहाका अधिकांश खेतहरू अझै सुक्खै छन् । समयमै वर्षा नहुँदा र आवश्यक रासायनिक मलको अभावले धान रोपाइँ प्रभावित बन्दै गएको छ । खेत जोतिए पनि पानीको अभावले रोपाइँ थाल्न नसकेका किसानहरू आकाशतिर हेर्दै पानीको प्रतीक्षामा छन् । देशका अधिकांश स्थानमा असार लागेसँगै मनसुन सक्रिय भए पनि मधेसमा भने अझै पर्याप्त वर्षा नहुनु किसानहरूका लागि चिन्ताको विषय बनेको छ ।
लहान नगरपालिका–२३ का किसान रामकुमार यादव भन्छन्, ‘समयमै बर्खा नहुँदा रोपाइँ नै गर्न पाइएन । खेत जोतेर बिउ तयार पारेको धेरै भइसक्यो, तर न पानी प¥यो, न मल पाइयो । अब पानी परेपछि मात्रै खेतमा काम अघि बढ्छ ।’
उनका अनुसार, यसपटक असार सुरू भएदेखि नै वर्षा कमजोर रहेकाले खेत सुकेका छन् । नहर वा बोरिङ गर्ने सुविधा नभएकाले आकाशेपानीकै भर पर्नुपरेको छ । ‘अहिले रोपाइँको सबैभन्दा संवेदनशील समय हो, तर बजारमा डिएपी मल पाइँदैन । मल नहुँदा बिउ छर्ने समयमा धानलाई बढ्न आवश्यक पोषण दिन सकिन्न । यसले उत्पादनमा ठूलो असर गर्छ’, उनले दुःखेसो गरे ।
आकासेपानीकै भरमा किसान
तराईका धेरैजसो जिल्लाजस्तै सिरहाका किसान पनि आजसम्म सिँचाइको भरपर्दो व्यवस्था नहुँदा आकासेपानीमा भर पर्न बाध्य छन् । ‘पहिला–पहिला असारको सुरूमा नै पानी पथ्र्यो, तर अब त कहिले पानी पर्छ, कुनै ठेगान छैन’, लहान–१९ का किसान प्रदीप यादवले गुनासो गरे ।
कृषि ज्ञान केन्द्र, सिरहाका सूचना अधिकारी किरण विश्वकर्माका अनुसार, जिल्लामा कुल ५४ हजार हेक्टर धान खेतीयोग्य जमिन रहेकोमा हालसम्म मात्र १८ प्रतिशत क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । ‘अहिलेसम्म भएको रोपाइँ पनि अधिकांश किसानले बोरिङबाट पानी तानेर गरेका हुन्’, उनले भने ।
यदि चाँडै पर्याप्त पानी नपरे बाँकी रोपाइँ ढिलो हुने र यसको प्रत्यक्ष असर उत्पादनमा पर्ने कृषि विज्ञहरूको भनाइ छ । तर, मौसमविद्हरूका अनुसार मधेसका सबै स्थानमा मनसुन पूर्ण रूपमा सक्रिय हुन अझै केही दिन लाग्नेछ ।
डिएपी मलको अभाव
पानी मात्र होइन, रोपाइँको अर्को बाधक बनेको छ, रासायनिक मल अभाव । कृषि सामग्री कम्पनी लिमिटेड, लहानका प्रबन्धक दीपक पौडेलका अनुसार, रोपाइँका लागि आवश्यक पर्ने ५ हजार मेट्रिक टन डिएपी मलमध्ये हालसम्म मात्र ८२५ मेट्रिक टन मात्र आपूर्ति भएको छ ।
‘दक्षिणी भेगका किसानहरू सिँचाइका लागि मोटरको भरमा छन्, तर मल छैन’, प्रबन्धक पौडेल भन्छन्, ‘गत वर्ष तीनपटक मल वितरण गरिएको थियो, तर यस वर्ष अहिलेसम्म एकपटक मात्र गरिएको छ । साउनको पहिलो हप्तामा मल आएन भने कार्यालयमै किसानको चाप बढ्ने देखिन्छ ।’
डिएपी मलको अन्तर्राष्ट्रिय मूल्य वृद्धि र टेन्डर घाटाको डरका कारण मल आपूर्तिमा ढिलाइ भएको प्रबन्धक पौडेलको भनाइ छ । ‘अब कृषि मन्त्रालयले वैकल्पिक उपायबाट मल ल्याउने पहल गर्न आवश्यक छ’, उनले सुझाव दिए । युरिया र पोटास भने कार्यालयमा पर्याप्त रहेको उनले जानकारी दिए ।
समयमै रोपाइँ सम्पन्न भए आगामी बाली गहुँ, तोरी, सागसब्जीलगायतमा पनि राम्रो प्रभाव पर्ने नेपाल राष्ट्रिय कृषक समूह सिरहाका अध्यक्ष प्रदीप सिंह दनुवारको भनाइ छ । सरकारले समयमै मल आपूर्ति र दीर्घकालीन सिँचाइ समाधानमा ध्यान नदिए किसानको वर्षभरको मिहिनेत खेर जाने जोखिम बढ्दै गएको उनले बताए ।
प्रतिक्रिया