नैतिकता उल्लंघन गरेको मुद्दामा थाई प्रधानमन्त्री निलम्बित

काठमाडौँ । थाइल्यान्डकी प्रधानमन्त्री पेटोङटार्न सिनावात्रालाई त्यहाँको संवैधानिक अदालतले मंगलबार निलम्बन गरेको छ । अदालतले कम्बोडियासँगको कूटनीतिक विवादमा उनको आचरणको बारेमा छानबिन सुरु गर्दै निलम्बन गरेको हो ।

थाइल्यान्डको राजनीतिमा वर्षौँदेखि रूढीवादी, सैन्य समर्थक, शाही समर्थक अभिजात वर्ग र सिनावात्रा परिवारबीचको संघर्ष रुमलिएको छ । सिनावात्रा परिवारलाई रूढीवादी, सैन्य समर्थक र शाही समर्थक अभिजात वर्गले थाइल्यान्डको परम्परागत सामाजिक व्यवस्थाका लागि खतरा मान्छन् । पेटोङटार्नले सत्ता सम्हालेको १ वर्ष पनि पुगेको छैन । तर, देशको सीमा विवादको मुद्दामा उनले मन्त्रिपरिषद्को नैतिकता उल्लंघन गरे÷नगरेको विषयमा संवैधानिक अदालतले छानबिन गरिहेकाले निलम्बन गरिएको जनाइएको छ ।

‘संवैधानिक अदालतले ७–२ को बहुमतले प्रतिवादीलाई जुलाई १ देखि संवैधानिक अदालतले आफ्नो निर्णय नगरेसम्म प्रधानमन्त्रीको दायित्वबाट निलम्बन गर्छ,’ अदालतबाट जारी विज्ञप्तिमा भनिएको छ । थाइल्यान्ड र कम्बोडियाबीच लामो समयदेखि चलिरहेको क्षेत्रीय विवादकै क्रममा मे महिनामा सीमापार झडपमा परिणत हुँदा एक कम्बोडियाली सैनिकको मृत्यु भएको थियो । त्यसै सन्दर्भमा लिक भएको रेकर्डिङ अनुसार जब पेटोङटार्नले कम्बोडियाका पूर्वनेता हुन सेनलाई तनावबारे छलफल गर्न फोन गर्ने क्रममा ‘अंकल’ र एक थाई सैन्य कमान्डरलाई आफ्नो ‘प्रतिद्वन्द्वी’ भनेर सम्बोधन गरेपछि त्यसैलाई लिएर बैंककमा व्यापक आक्रोश निम्तिएको थियो ।

रूढीवादी सांसदहरूले उनलाई कम्बोडियासामु झुकेको र सेनालाई कमजोर बनाएको आरोप लगाए । उनीहरूले मन्त्रीहरूमा ‘स्पष्ट इमानदारी’ र ‘नैतिक मापदण्डहरू’ आवश्यक पर्ने संवैधानिक प्रावधानहरू उल्लंघन गरेको भनेका छन् । त्यसैगरी बैंककमा हजारौँले सर्वसाधारणले यो सप्ताहन्तमा उनको नेतृत्व विरुद्धमा विरोध प्रदर्शन गरेका छन् ।

३८ वर्षीया पेटोङटार्नलाई उनका बुबा एवं पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले शाही मानहानिको आरोपमा फौजदारी अदालतको सामना गर्नुपरेको दिन नै झट्का लागेको हो । पेटोङटार्नको फेउ थाई पार्टी पहिले नै यो काण्डमा परेका कारण रहेको सत्ता गठबन्धनको साझेदार एक प्रमुख रूढीवादी पार्टीले त्यागेको छ ।

उनका सहयोगीहरूले राजीनामा गरेपछि थाइल्यान्डका राजाले मंगलबार पेटोङटार्नको मन्त्रिमण्डल फेरबदललाई अनुमोदन गरेका छन् । त्यसमा उनले आफूलाई संस्कृतिमन्त्रीको समेत पद तोकेकी छिन् र बिहीबार यो पद ग्रहण गर्ने बताइएको छ । तर, संवैधानिक अदालतले अनुसन्धान गरिरहेको बेला उनले त्यो भूमिका लिन मिल्छ कि मिल्दैन भन्ने अस्पष्ट छ ।

प्रतिक्रिया