काठमाडौँ । मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपाली ब्याटरको सानदार प्रदर्शन जारी छ । यसअघि इन्डोनेसियाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका नेपाली ब्याटरले मंगलबार भुटानविरुद्ध पनि सानदार प्रदर्शन गरे ।
नेपालले मंगलबार रौनक श्रीवास्तवको सानदार शतकसँगै भुटानविरुद्ध २९८ रनको फराकिलो जित हात पारेको हो । नेपालको जितमा रौनकले १६८ रनको योगदान गरे । यसका लागि उनले १३२ बलको सामना गरे । १६ चौका र ५ छक्का प्रहार गरेका उनले बजगाईंसँग मिलेर तेस्रो विकेटका लागि ९१ रनको साझेदारी गरे ।
यसैगरी, सुगम बुढाथोकीसँग मिलेर चौथो विकेटका लागि ७२ तथा जोय थापासँग मिलेर पाँचौँ विकेटका लागि १७० रनको साझेदारी गरे । २ बल बाँकी छँदा रौनकलाई सञ्जय दोर्जीले आउट गरेपछि सो साझेदारी टुटेको थियो । मंगलबारको खेलमा नेपालले दिएको ३५९ रनको चुनौती पछ्याउने क्रममा भुटान ३२.४ ओभरमा ६० रनमा सीमित भएको हो ।
कपिलवस्तुको कृष्णनगर–१ मडाहका १५ वर्षीय रौनक यसअघि नै नेपालको घरेलु राष्ट्रिय क्रिकेटमा पहिलो पटक दोहोरो शतक हानेर चर्चामा आएका थिए । केही दिनअघि सुर्खेतमा भएको यु–१६ राष्ट्रिय खेलकुदमा उनले दोहोरो शतक प्रहार गरेका थिए ।
आर्थिक अभावमा धेरै पढ्नसमेत नपाएका उनी साथीहरूको साथमा भारतको नौगढमा गएर क्रिकेट सिक्न पाएको बताउँछन् । उनका बुबाआमा गाउँमै सामान्य कृषि पेसा गरेर बसेका छन् । भारतीय सीमा क्षेत्र नजिक भएकाले उनका बुबा अशोक मजदुरीका लागि भारतको नौगढसम्म जाने गरेको छिमेकीहरू बताउँछन् ।
रौनकलाई सुरुआतदेखि नै बसिर अहमदले नै खेलका लागि लगातार प्रोत्साहन गरिरहेका हुन् । यसै वर्ष भैरहवामा जारी नेपाल टेलिकम क्रिकेट प्रतियोगिता, पोखरामा आयोजना भएको पिएम कप, तौलिहवामा आयोजित टि–२० प्रतियोगितामा उनले प्रभावकारी प्रदर्शन गरेका थिए ।
श्रीवास्तव पहिलो पटक प्रदेश स्तरीय क्रिकेट छनोट प्रतियोगितामा कपिलवस्तु र पाल्पाको छनोट खेलमा ८८ रनमा १६ चौका र १ छक्का गरेर ११० रन बनाएर चर्चामा आएका थिए । लुम्बिनीको तर्फबाट कोसीविरुद्धको खेलमा ७० रन बनाएका थिए । यस्तै, सुर्खेतमा सम्पन्न यु–१६ राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशको तर्फबाट रौनकले दोहोरो शतक बनाएर आफ्नो इतिहास बनाएका हुन् । २० जेठमा वीरेन्द्रनगर रंगशालामा भएको प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध लुम्बिनीका रौनकले २१७ रनको दोहोरो शतक प्रहार गरेका हुन् । उनले ११७ बलमा १६ चौका र १६ छक्का प्रहार गरे ।
नेपालको कुनै पनि घरेलु क्रिकेटको खेलमा बनेको यो नै पहिलो दोहोरो शतक थियो । त्यसपछि नै उनीमाथि क्यानको नजर परेको हो । उनको यो सफल यात्रामा कपिलवस्तु क्रिकेट संघका अध्यक्ष प्रकाश गैह्रेको पनि उत्तिकै भूमिका छ । गैह्रेले त श्रीवास्तवलाई सफल बनाउन योजना बनाएको समेत बताए ।
प्रतिक्रिया