काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका नेताहरूले वर्तमान गठबन्धन सरकारको कार्यशैलीको चर्को आलोचना गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै केन्द्रीय सदस्यहरूले सरकारले कांग्रेस–एमालेबीचमा भएको ७ बुँदे सहमतिअनुसार काम गर्न नसकेको भन्दै आलोचना गरेका हुन् ।
कांग्रेसका मन्त्रीहरूले प्रभावकारी काम गर्न नसकेकाले त्यसले पार्टीलाई समेत क्षति पु¥याउने भन्दै उनीहरूले मन्त्रीहरूलाई पार्टीले नियन्त्रणमा राख्नुपर्ने समेत बताएका छन् । कांग्रेस केन्द्रीय सदस्य डिला संग्रौलाले गठबन्धन सरकारमा भएको राम्रो कामको जस प्रधानमन्त्री केपी शर्मा ओलीले लिइरहेको र नराम्रो कामको अपजस कांग्रेसलाई दिइएको भन्दै यस्तो अवस्थाको अन्त्य हुनुपर्ने बताइन् । उनले सरकारको कामबाट जनताले सुशासनको अनुभूति नपाएको पनि उल्लेख गरिन् । ‘सरकारले ७ बुँदे समझदारीअनुसार संविधान संशोधन, सुशासन, आर्थिक समृद्धि र विकासको काम गर्न सकेन,’ उनको भनाइ थियो, ‘यो गठबन्धनको विषयमा समीक्षा गर्नुपर्छ ।’
त्यस्तै, केन्द्रीय सदस्य लक्ष्मी परियारले सरकारमा गएका मन्त्रीहरूको बारेमा आलोचना भइरहेको भन्दै यस विषयलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखिन् । मन्त्रीहरूको कार्यशैली सच्याउनुपर्नेमा उनको जोड थियो । ‘मन्त्रीहरूको कामको प्रभावकारिताका बारेमा पार्टीले सोच्नुपर्छ । यस्तो कार्यशैलीलाई रोक्नुपर्छ र सच्याउनुपर्छ,’ बैठकमा बोल्दै उनले भनिन् ।
केन्द्रीय सदस्य उदयशमशेर जबराले पनि मन्त्रीहरूको कार्यशैलीमाथि प्रश्न उठाए । उनले मन्त्रीहरूको काम, बजेट विनियोजनलगायतमा असन्तुष्टि जनाउँदै मन्त्रीहरूलाई पार्टीले नियन्त्रणमा राख्नुपर्ने धारणा राखे । ‘संघ र प्रदेशका मन्त्रीहरूले बजेट ल्याउँदा आर्थिक अनुशासन कायम गरेनन् । पार्टीले मन्त्रीहरूलाई नियन्त्रणमा राख्नुप¥यो,’ उनको भनाइ थियो ।
उनले संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित गर्दा ‘कुलिङ अफ पिरियड’को प्रावधानलाई हटाएको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने बताए । केन्द्रीय सदस्य रमेश रिजालले सरकारको काम, कारबाही ठिकै रहेको भन्दै शीर्ष नेतृत्वले राम्रो काम नगरेको मूल्यांकन गरेको भए उनीहरूलाई फिर्ता बोलाउन सुझाव दिए ।
बैठकमा बोल्ने अन्य सदस्यहरूले पनि सरकारको काम प्रभावकारी हुन नसकेको, कांग्रेसका मन्त्रीहरूले राम्रो काम गर्न नसकेको भन्दै सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।
सरकारमा समस्या छैन, विकल्प नखोजौँ : गृहमन्त्री लेखक
बैठकमा गृहमन्त्री रमेश लेखकले गठबन्धन सरकारको काम, कारबाहीमा समस्या नरहेको दाबी गरे । उनले सरकारलाई प्रभावकारी बनाउन कांग्रेसका मन्त्रीहरूले आफ्नो क्रियाशीलता अझै बढाउनुपर्ने बताए । लेखकले वर्तमान सरकारलाई नै निरन्तरता दिनुपर्ने भन्दै विकल्प खोजिए कांग्रेसको हितमा नहुने बताए । ‘सरकारले राम्रै काम गरिराखेको छ । बरु हाम्रो क्रियाशीलता बढाऔँ,’ उनको भनाइ थियो, ‘यदि यो सरकारको विकल्प खोजिए त्यसले कांग्रेसको हित हुँदैन ।’ कार्यसमितिको बैठक बुधबार (आज) दिउँसो १२ः३० बजे पुनः बस्ने गरी बोलाइएको छ ।
प्रतिक्रिया