सुधारियो एसइई नतिजा, तर पूरा भएन लक्ष्य

अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले बढ्यो ग्रेडेड संख्या

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा सार्वजनिक गरेको छ । एसइई २०८१ को नतिजामा यस पटक ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् भने ३८ प्रतिशत विद्यार्थी ननग्रेडेडमा परेका छन् ।

२०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालित एसइईमा ४ लाख ३८ हजार ८९६ परीक्षार्थी सहभागी भएकामा ४८ हजार १७७ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन् । यस्तै, ३.२ देखि ३.६ जिपिए ल्याउने ८१ हजार ३८५ जना, २.८ देखि ३.२ जिपिए ल्याउनेको संख्या ८९ हजार १२४ छ । त्यस्तै, २.४ देखि २.८ सम्म ४८ हजार ४७९ ले ल्याउँदा ४ हजार १२६ जना विद्यार्थीले २ देखि २.४ जिपिए पाएका छन् । ८ जनाले २ जिपिएभन्दा कम ल्याएका छन् । बोर्डका अनुसार १२६ परीक्षार्थीको भने परीक्षा रद्द गरिएको छ ।


संख्यात्मक हिसाबमा २ लाख ७१ हजार २९९ जना ग्रेडेड हुँदा १ लाख ६७ हजार ५९७ विद्यार्थी ननग्रेडेडमा परेका छन् । लेटर ग्रेडिङ प्रणालीमा हुने नतिजामा उत्तीर्ण दर ७० प्रतिशत पुर्याउने सरकारको लक्ष्य भने पूरा हुन सकेन । २०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण भएका थिए ।

त्यसबेलाको नतिजालाई लिएर संसद्मा समेत निकै ठुलो बहस छेडिएको थियो । यस वर्ष परीक्षा सुरु भएको ९० दिनभित्रै नजिता प्रकाशित गर्ने भनिए पनि १ महिनासम्म शिक्षकको आन्दोलनका कारण घोषित मितिभन्दा १ साता धकेलिएको हो । यसैबीच, ननग्रेडेड परीक्षार्थीका लागि बोर्डले पूरक परीक्षा मितिसमेत तोकेको छ । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार पूरक परीक्षा साउन २९ गतेदेखि हुनेछ ।

नतिजा प्रकाशित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण परीक्षार्थीलाई बधाई दिएका छन् । उनले सरकारको प्रयत्नका कारण यस वर्षको नतिजामा सुधार देखिएको बताएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘एसइईमा ग्रेड प्राप्त गर्नुभएका भाइबहिनीहरूलाई हार्दिक बधाई ! यस वर्ष करिब ६१.८१ प्रतिशत परीक्षार्थीले ग्रेड प्राप्त गर्नुभएको छ । गत वर्ष ४७.८६ प्रतिशत परीक्षार्थीले मात्र ग्रेड प्राप्त गर्नुभएको थियो भने ५२.१४ प्रतिशत परीक्षार्थी ननग्रेडेड रहनुपरेको थियो । बितेको वर्षमा नतिजा सुधार गर्न हामीले गरेको मिहिनेत काम लागेको छ ।’

गणितमा सधैँ कमजोर

लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार उत्तीर्ण हुनका लागि सैद्धान्तिक ७५ पूर्णांक भएका विषयमा कम्तीमा २७ अंक र आन्तरिक मूल्यांकन २५ पूर्णांकमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्ने हुन्छ । १०० पूर्णांकमा कम्तीमा ३७ अंक ल्याउनुपर्ने र त्योभन्दा कम अंक आएमा ननग्रेडेड अर्थात् ‘एनजी’ आउँछ । यस वर्षको एसइर्ई नतिजामा सबैभन्दा बढी विद्यार्थीको गणित विषयमा एनजी आएको छ ।

गणितमा १ लाख २८ हजार २१५ विद्यार्थीको एनजी आएको छ । अघिल्लो वर्ष यस्तो संख्या १ लाख ७७ हजार ९८५ थियो । त्यस्तै, अंग्रेजीमा ८० हजार ६७२, विज्ञान प्रविधिमा ७९ हजार २७१, नेपाली ‘थ्योरी’मा ५४ हजार ७३५, सामाजिक अध्ययनमा ५३ हजार १८६, अर्थशास्त्रमा ४२ हजार १५० र ऐच्छिक गणितमा १८ हजार २२२ जना विद्यार्थीले एनजी पाएका छन् ।

नतिजाभन्दा सिकाइमा फोकस जरुरी

शिक्षाविद् बालचन्द्र लुइँटेल

सरकारले माध्यमिक तह अर्थात् १२ कक्षासम्मलाई विद्यालय तहका रूपमा व्याख्या गरे पनि कक्षा १० मा लिइने एसइईलाई अहिले पनि फलामे ढोकाका रूपमा हेरिन्छ । एसएलसी हुँदै एसइईमा रुपान्तरित भए पनि विद्यालय तहको शिक्षामा यसको महत्व अहिले पनि उस्तै छ । नेपालका अभिभावकदेखि सरकारसम्मले विद्यालय तहको शिक्षाबारे नबुझ्दा कक्षा १० को परीक्षामै अलमलिएको शिक्षाविद् बालचन्द्र लुइँटेल बताउँछन् ।

कक्षा १० को परीक्षालाई नै बढी महत्व दिँदा यसले विद्यार्थीमा ठुलो मानसिक दबाब दिएको र विद्यालय शिक्षामा कक्षा १२ को महत्व अझै स्थापित हुुन नसकेको उनको बुझाइ छ । ‘हामी नतिजामा बढी फोकस हुने गरेका छौँ, यसले शिक्षा प्रणालीलाई नै बिगार्छ,’ लुइँटेल भन्छन्, ‘नतिजाभन्दा सिकाइमा बढी फोकस हुन सके नतिजा आफैँ सुध्रिन्छ ।’

प्रतिक्रिया