एसियन बुद्ध फाइनलमा

बुटवल । रूपन्देहीको भैरहवामा जारी जिल्लास्तरीय ‘एसियन बुद्ध टी–१० क्रिकेट प्रतियोगिता’मा एसियन बुद्ध फाइनल प्रवेश गरेको छ । प्रतियोगिताअन्तर्गत बुधबार ३ खेल भएका थिए । एसियन बुद्धले न्यु होराइजन ३४ रनले पराजित गर्दै फाइलन यात्रा पक्का गरेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितरे ब्याटिङ गरेको एसियन बुद्धले निर्धारित खेलमा ७ विकेट गुमाएर १२१ रनको बलियो लक्ष्य खडा ग¥यो । जबाफमा होराइजनले ६ विकेट गुमाएर ८७ रन मात्रै बनाएको हो । खेलमा ७० रन बनाउनुका साथै १ विकेट लिएका एसियन बुद्धका देव खनाल प्लेयर अफ द म्याच भए ।

अर्को खेलमा तिरुपति क्रिकेट क्लबले लुम्बिनी खुकुरी क्लबलाई ८ विकेटले हराएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको खुकुरीले ८ विकेट गुमाएर ७५ रन बनायो । प्रतिउत्तरमा तिरुपतिले २ विकेट गुमाएर ७६ रन बनाउँदै जित निकाल्यो र सेमिफाइनल प्रवेश ग¥यो । खेलमा ४१ रन र १ विकेट लिएका तिरुपतिका बसिर अहमद प्लेयर अफ द म्याच बने ।

अर्को खेलमा प्रोफेनल मास्टर्स–११ ले टिम रेस्पोन्स लुम्बिनीलाई ५१ रनले पराजित गर्दै सेमिफाइनल पुगेको छ । टस जितेर ब्याटिङ गरेको प्रोफेसनलले ४ विकेट गुमाएर १०१ रन बनायो । जबाफी ब्याटिङ गरेको टिम रेस्पोन्सले अलआउट हुँदै जम्मा ५० रन बनायो । खेलमा प्रोफेनलका ३ विकेट र ७ रन प्रहार गरेका सुरज खड्का प्लेयर अफ द म्याच बने ।

प्रोफेसनल मास्टर्स–११ क्रिकेट क्लब, भैरहवाको आयोजनामा सञ्चालित प्रतियोगिताको विजयी टिमले ८० नगद र उपविजेताले नगद ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सेमिफाइनल पुग्ने २ वटा टिमलाई नगद १०–१० हजार प्रदान गरिने छ । आयोजकका अनुसार प्रतियोगितामा म्यान अफ द सिरिजलाई नगद १२ हजार, बेस्ट ब्याटर र बलरलाई नगद ८–८ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचलाई १ हजार २०० रुपैयाँ प्रदान गरिने छ ।

यस्तै, उत्कृष्ट क्याच र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत समान २ हजार ५०० तथा दर्शकदीर्घाबाट छक्का क्याच गर्ने दर्शकलाई ५०० रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिताको मुख्य प्रायोजकमा भैरहवाको एसियन बुद्ध होटल रहेको छ । शुक्रबार तिरुपति र प्रोफेसनल फाइनल प्रवेशका लागि सेमिफाइनलमा भिड्ने छन् । यो प्रतिस्पर्धाबाट विजेतासँग एसियन बुद्धले उपाधिका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया