काठमाडौँ । थ्री–स्टार क्लबले आफूलाई ‘बी’ डिभिजनमा घटुवा गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) अपिल कमिटीको निर्णय अन्यायपूर्ण रहेको दाबी गरेको छ । क्लबका निवर्तमान अध्यक्ष अरुणमान जोशीले बुधबार १ विज्ञप्ति निकाल्दै आफ्नो क्लबमाथि एन्फाले लगातार अन्याय गर्दै आएको आरोप लगाएका हुन् ।
२ वर्षअघि सम्पन्न ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा थ्री–स्टारले जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै रेलिगेसन टारेको थियो । सो खेलमा कप्तान विक्रम लामाले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक भएको थियो । योसँगै गोलअन्तरले थ्री–स्टार अघि रहँदा विभागीय टोली एपिएफ रेलिगेसनमा परेको थियो ।
लगत्तै एपिएफले भिसा सकिएका खेलाडी प्रतियोगिताको नियमावली, नेपालको कानुन र फिफाको नियमअनुसार खेलाउन नपाउने जिकिर गर्दै एन्फामा २०८० जेठ २८ गते उजुरी दिएको थियो । एपिएफले त्यस्ता अवैधानिक खेलाडी खेलाए सम्बन्धित टिम ३–० को नतिजामा पराजित हुने नियमअनुसार कारबाही गर्नुपर्ने माग राखेको थियो ।
सो उजुरीमाथि एन्फाको अनुशासन समितिले त्यसको केही महिनाअघि निर्णय गर्दै थ्री–स्टारले खेलाएका खेलाडी अवैधानिक भएको पुष्टी गरेको थियो । अनुशासन समितिले थ्री–स्टार क्लब र सम्बन्धित खेलाडीलाई नगद जरिवाना मात्र गरेर मात्रै छाडेको थियो ।
अनुशासन समितिको उक्त निर्णयमा असहमति जनाउँदै थ्री–स्टार र एपिएफ दुवैले अपिल गरेका थिए । त्यो अपिलमाथि छानबिन गर्दै अपिल कमिटीले ५ असारमा अवैधानिक खेलाडी खेलाएवापत थ्री–स्टार क्लब सो खेलमा ३–० को नतिजामा पराजित हुने निर्णय गरेको थियो ।
योसँगै ३ अंक गुमाएपछि थ्री–स्टार खुमलटारसँगै रेलिगेसनमा परेको थियो । एपिएफले भने ‘ए’ डिभिजन क्लबको हैसियत पुनः प्राप्त गरेको थियो । २ पक्षबीच भएको खेलमा खेलसँग सम्बन्धित नभएको एपिएफको उजुरीको आधारमा कारबाही गर्नु अन्यायपूर्ण व्यवहार रहेको अरुणमानको जिकिर छ । ‘कुनै पनि २ टोलीबीचको खेलको विषयमा तेस्रो क्लबले उजुरी दिन मिल्छ भन्ने लिग सञ्चालन नियमावलीमा उल्लेख नगरेको उनको दावी छ ।
पछिल्लो निर्णय लिनका लागि एन्फाको अनुशासन समिति र पुनरावेदन समितिले २ वर्षभन्दा लामो समय लगाएकोमा पनि उनले शंका गरेका छन् । क्लब ‘बी’ डिभिजनमा घटुवा भएसँगै एन्फामा सहायक महासचिव पदबाट अरुणमान जोशीले राजीनामा दिएका छन् ।
प्रतिक्रिया