काठमाडौं । लोकदोहोरी गायक विमलराज क्षेत्री र गायिका पार्वती विश्वकर्माको आवाजमा ‘कुरिती कु–संस्कार’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ति’ को शब्द सिर्जना रहेको उक्त गीतमा रमेश बिक्रम रत्नको संगीत रहेको छ भने रमेश सेञ्चुरीको एरेञ्ज तथा मनोज डंगोलले मिक्सिङ गरेका हुन् ।
सो गीतको भिडियोमा पत्रकार प्रकाश बराईली ‘अभिब्यक्ति’ को कथा, निर्देशन, छायांकन र सम्पादन रहेको छ भने राजेश कुमारले रङ संयोजन गरेका हुन् ।
उक्त गीतको भिडियोमा वरिष्ठ कलाकारसुरविर पण्डित (दाह्री बा), धन कुमारी गौचन, पार्वती विश्वकर्मा र प्रकाश ज्ञवालीको अभिनय देख्न सकिन्छ । गीतको भिडियो प्रकाश बराईली ‘अभिब्यक्ति’ को युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।
यस गीतमा स्वयम् गायिका पार्वती विश्वकर्मा र भिडियोमा अभिनय गरेका प्रकाश ज्ञवालीको अन्तरजातिय विवाह र उनीहरुको वास्तविक जोडीको कथालाई समेटिएको पत्रकार बराइलीले बताए ।
गुल्मीकी पार्वती विश्वकर्मा र पाल्पाका प्रकाश ज्ञवालीबीच केही वर्षअघि प्रेम विवाह भएको र सोही अन्तरजातिय विवाह भएकै कारण यो जोडीलाई घर परिवार र समाजबाट बहिस्कार गरिएको गायिका विश्वकर्माले बताइन् ।
परिवार र समाजबाट बहिस्कार भएपछि आफूहरू काठमाडौं आएर संघर्ष गरिरहेको उनले सुनाइन् । यस्तै पीडा सम्झिँदा श्रीमान् प्रकाश ज्ञवाली डिप्रेशनको शिकार भएको उनले बताइन् । सोही घटनाक्रममा आधारित रहेर यस गीत बजारमा ल्याएको गायिका पार्वतीले बताइन् ।
प्रतिक्रिया