काठमाडौँ । उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ओभरपास सञ्चालनमा आएको छ । पटक–पटक म्याद थप गर्दै निर्माण सकिएको ओभरपास शुक्रबारबाट सञ्चालनमा ल्याइएको हो ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भनिए पनि उनको उपस्थितिमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले ओभरपास उद्घाटन गरे । ओभरपास सञ्चालनमा आएसँगै ग्वार्को क्षेत्रको ट्राफिक जामको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा ओभरपास निर्माण अघि बढाएको थियो । केन्द्रले २ वर्षभित्र काम सक्ने गरी १२ फागुन, २०७८ मा आशिष–समानान्तर रेलिगेर जेभीसँग ठेक्का सम्झौता गरेकामा २ पटक म्याद थप गरी काम सकिएको हो । केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले ठेकेदार कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि निर्माण नसकेपछि १ करोड ४७ लाख रुपैयाँ हर्जाना तिराएर निर्माण सम्पन्न गरिएको जानकारी गराए ।
त्यसैगरी, अप्रोच सडक निर्माणका क्रममा माटो थपिँदै जाँदा सातदोबाटोतर्फको भागमा जगको माटो असमान रूपमा थिचिएकाले पनि थप समय लागेको भण्डारीले बताए । ‘त्यसको असरस्वरूप सातदोबाटोतर्फको भागमा असमान रूपमा माटो दबिँदा प्यानल–४ र प्यानल–५ बीचको अन्तराल बढेको थियो । उक्त समस्या समाधान गर्न दुवै प्यानललाई खोलेर पुनः सन्तुलनसहित जडान गर्नुपरेको थियो । जसले कार्यअवधि थप लम्बिएको हो,’ उनले भने ।
१४ करोड थप लागत
केन्द्रका प्रवक्ता भण्डारीले तोकिएको समयमा काम नसकिँदा सुरुको सम्झौताभन्दा १४ करोड रुपैयाँ लागत थप भएको जानकारी दिए । ‘करिब १७ करोड ६ लाख ८८ हजार ८८८ रुपैयाँमा सम्पन्न हुने गरी ठेक्का सम्झौता भएको हो । तर, काम सम्पन्न भइसक्दा हाम्रो अनुमानित लागत ३१ करोड ४६ लाख ५१ हजार ४४० रुपैयाँ पुगेको छ,’ उनले थपे, ‘ग्वार्को चोकस्थित ४ लेनको ओभरपास र पहुँचमार्गको योजना, डिजाइन, इन्जिनियरिङ, खरिद तथा निर्माणकार्य (इपिसी प्रणालीमा) भएको ठेक्का सम्झौता हो, जसअन्तर्गत डिजाइन र निर्माणको जिम्मेवारी पूर्ण रूपमा निर्माण व्यवसायीमा रहन्छ ।’
भण्डारीका अनुसार उक्त सम्झौताअनुसार निर्माणपछि निर्माण कार्यमा ५ वर्षसम्म र डिजाइनमा १० वर्षसम्म कुनै त्रुटि देखिएमा उक्त त्रुटि सुधार गर्ने पूर्ण जिम्मेवारी निर्माण व्यवसायीको नै हुन्छ ।
अन्डरपास र ओभरपास अबको आवश्यकता
पूर्वाधारविद्समेत रहेका नेपाल बुद्धिजीवी परिषद्का अध्यक्ष इन्जिनियर गजेन्द्रप्रसाद थपलियाले उपत्यकालगायत मुलुकका मुख्य सहरमा सवारीसाधनको चापका कारण ट्राफिक समस्या बढिरहेको अवस्थामा अन्डरपास र ओभरपास आवश्यकता बनेको बताए । ‘ग्वार्को ओभरपास निर्माणले मुलुकमा पूर्वाधार विकासको सकारात्मक पक्षलाई झल्काउँछ । निर्माण ढिला भए पनि यसले सकारात्मक सन्देश प्रवाह गरेको छ,’ उनले भने, ‘ग्वार्कोमा मात्र नभएर अब कोटेश्वर, बानेश्वर, थापाथली, माइतीघर, चाबहिल, सातदोबाटोलगायत क्षेत्रमा अन्डरपास र ओभरपासको योजना छिट्टै तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ । अनि मात्र ट्राफिक व्यवस्थापन सहज हुन्छ ।’
ग्वार्कोको जाम सातदोबाटोमा थुप्रिने चिन्ता
काठमाडाँै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले पछिल्लो समय सवारीसाधनको बढ्दो चापसँगै उपत्यकाका विभिन्न चोकमा ट्राफिक जामको समस्या बढ्दै गइरहेको भन्दै यस्ता ओभरपास निर्माणले जाम व्यवस्थापनमा सहज हुने बताए । ‘ग्वार्को चोकमा देखिएको ट्राफिक जामको समस्या अबदेखि हट्ने भयो । छोटाछोटाभन्दा पनि लामो ओभरपास निर्माण गर्न सकियो भने अझै ट्राफिक व्यवस्थापनमा सहज हुनेछ,’ उनले भने, ‘ग्वार्कोमा अबदेखि जाम नहुने र छिटोछिटो सवारीसाधन आवतजावत गर्न सक्छन् । तर, सातदोबाटो चोकमा आएर एकैपटक सवारी चाप बढ्ने र त्यो स्थानमा जाम बढ्नेछ । तसर्थ लामो ओभरपास निर्माणको योजना ल्याउन आवश्यक छ ।’
प्रतिक्रिया