काठमाडौँ । चालु आर्थिक वर्षको ११ महिनामा नेपालको निर्यात व्यापार ह्वात्तै बढेको छ । गत वर्षको सोही अवधिकोे तुलनामा यस वर्ष निर्यात ७७ दशमलव ७७ प्रतिशतले वृद्धि भएको हो । भन्सार विभागका अनुसार नेपालको समग्र वैदेशिक व्यापारमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख १३ हजार रुपैयाँ बराबरको वस्तु विभिन्न देशमा निर्यात भएको विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो निर्यात १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख ३३ हजार रुपैयाँ बराबरको भएको थियो ।
समीक्षा अवधिमा नेपालबाट सबैभन्दा धेरै मूल्य बराबरको सोयाबिन तेल र सोसँग सम्बन्धित सामग्रीको निर्यात भएको छ । विभागको तथ्यांक अनुसार नेपालबाट ९३ अर्ब ५१ करोड ७१ लाख ८१ हजार रुपैयाँ बराबरको सोयाबिन तेल र त्यसका छोक्राको निर्यात भएको हो । त्यस्तै, सो अवधिमा ११ अर्ब ३३ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरको सूर्यमुखी तेल र ९ अर्ब ७८ करोड १० लाख १८ हजार रुपैयाँ बराबरको कार्पेट तथा टेक्सटाइल निर्यात भएको छ । समीक्षा अवधिमा सोयाबिन तेल र सूर्यमुखी तेलसँग सम्बन्धित कच्चापदार्थको आयात र निर्यातले विशेषगरी निर्यातको परिमाणलाई अधिक वृद्धि गरेको देखाएको विभागको तथ्यांकले देखाएको छ ।
विभागको तथ्यांकअनुसार समग्र वैदेशिक व्यापार १८ दशमलव ८० प्रतिशतले बढेको छ । आयात १३ दशमलव १५ प्रतिशत वृद्धि भएको छ । ११ महिनामा वैदेशीक व्यापार १८ खर्ब ९२ अर्ब ३६ करोड ७७ लाख ९९ हजार रुपैयाँको पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नेपालको १८ दशमलव ८० प्रतिशतले धेरै हो । गत आवको यसै अवधिमा वैदेशिक व्यापार १५ खर्ब ९२ अर्ब ९६ करोड ६५ लाख २५ हजार रुपैयाँ बराबरको वैदशिक व्यापार भएको थियो ।
विभागका अनुसार समीक्षा अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख ८६ हजार रुपैयाँ बराबरको वस्तु नेपालमा आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख ९२ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
चालु आर्थिक वर्षको ११ महिनासम्ममा नेपालको व्यापार घाटा झण्डै १४ खर्ब पुगेको छ । विभागका अनुसार जेठ मसान्तसम्ममा १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपैयाँ बराबर व्यापार घाटा रहेको छ । गत वर्षको यसै अवधिको तुलनामा व्यापार घाटा ६ दशमलव ३० प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा ३० खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँ बराबरको व्यापार घाटा भएको थियो ।
तथ्यांकअनुसार चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा आयात भएका वस्तु मध्ये सबैभन्दा धेरै मूल्यको डिजेल आयात भएको छ । सो अवधिमा १ खर्ब १५ अर्ब ५५ करोड १ लाख ७१ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको छ । सो अवधिमा दोस्रो धेरै आयात सोयाबिन तेलको कच्चा पदार्थ ९५ अर्ब ७२ करोड ६१ लाख ५२ हजार रुपैयाँ बराबरको भएको छ । त्यस्तै, पेट्रोल तेस्रो धेरै मूल्य बराबरको र ग्यास चौथो धेरै मूल्य बराबरको आयात भएको छ ।
प्रतिक्रिया