जनकपुरधाम । एउटा प्रसिद्ध भनाइ छ, ‘धनी हुनलाई सम्पत्तिको थुप्रो होइन, सन्तुष्ट मन चाहिन्छ’ । यो भनाइलाई जीवनमा उतार्दै उनी शिक्षाको ज्योति छर्न मात्र सीमित रहेनन्, त्यो स्थानलाई मुलुककै प्रमुख शैक्षिक थलोको रूपमा स्थापितसमेत गरे । स्वास्थ्य क्षेत्रमा समेत उनले उल्लेखनीय योगदान दिए । अस्पताल स्थापना गरी, गरिब र असहायका लागि ‘भगवान्’को रूपमा सम्मान पाएका व्यक्ति थिए उनी । उनको ख्याति यति फैलिएको थियो कि तत्कालीन राजा त्रिभुवनले पनि उनीसँग भेट्ने चाहना व्यक्त गरेका थिए । यद्यपि, उनको जीवन यात्रा सुखद् शिखरसम्ममा मात्रै सीमित रहेन, निराशाका गहिरा छायासमेत समेटिए ।
धार्मिक, सांस्कृतिक र ऐतिहासिक नगर जनकपुरधामको समृद्धि र आधुनिकताको आधारशिला राख्न जीवन समर्पण गर्ने २ महान व्यक्तित्व हुन्, रामस्वरूप साह र रामसागर साह । उनीहरू केवल धनाढ्य व्यापारी मात्र थिएनन्, सँगसँगै धर्म, सेवा र समर्पणका आदर्श पात्र थिए । जनकपुरधामको धार्मिक परम्परालाई जीवनभर सम्हाल्दै, उनीहरूले यो सहरलाई आधुनिक शिक्षा र स्वास्थ्य सेवा पु¥याउन अतुलनीय योगदान दिए ।
उनीहरूले स्थापना गरेका संस्थाहरू, रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराव क्याम्पस), सरस्वती उच्च मावि र जनकपुर अञ्चल अस्पताल– आज पनि हजारौँ विद्यार्थी र बिरामीहरूको जीवनमा आशाको उज्यालो बनेका छन् । शिक्षाको उज्यालो फैलाउने हेतुले स्थापना गरिएको राराव क्याम्पसले मधेसमा उच्च शिक्षाको ढोका खोलेको थियो भने, सरस्वती विद्यालयले आधारभूत शिक्षाको जग बलियो बनायो । यति मात्रै होइन, जनकपुर अञ्चल अस्पतालको निर्माणमा गरिएको सहयोगमार्फत उनले गरिब र असहायको उपचारमा समर्पित सेवा दिए ।
उनको ख्याति यति फैलिएको थियो कि तत्कालीन राजा त्रिभुवनसमेत उनीहरूप्रति सम्मान भाव राख्दथे र भेटको इच्छासमेत व्यक्त गरेका थिए । उनीहरूको जीवनशैली सादा थियो, तर सोच महान् । उनीहरूका लागि सम्पत्ति दान, धर्म र सेवाका लागि थियो व्यक्तिगत विलासिताका लागि होइन ।
आज पनि जनकपुरधामको मुटुमा उनीहरूको योगदान जीवित छ । धार्मिक मन्दिरहरूको संरक्षणदेखि लिएर सामाजिक संस्थाको निर्माणसम्म । रामस्वरूप र रामसागर साह नहुँदा हुन् त आजको जनकपुरधाम सम्भवतः यति परिपक्व र समृद्ध हुने थिएन । उनीहरूको कथा केवल अतीतको स्मरण मात्र होइन, भावी पुस्ताका लागि प्रेरणाको स्रोत पनि हो ।
दुबै दाजुभाइले दानको परम्परा आफ्ना पिताबाट सिकेका थिए । भातु साहका ३ सन्तान थिए, लगन साह, कन्हाई साह र भैरव साह । तीमध्ये लगन साह र कन्हाई साह प्रारम्भदेखि नै महादानीका रूपमा परिचित थिए ।
उनीहरूले १९७२ सालमा जनकपुरधामस्थित रत्नसागरको उत्तरवारी डिलमा साकेत विहारी मन्दिरको शिलान्यास गरेका थिए, जुन १९७४ सालमा सम्पन्न भएर जनसाधारणका लागि खुला गरियो । त्यसपछि १९८३ सालमा धनुषाको सतोषरमा अवस्थित मटेश्वरनाथ मन्दिर तथा पोखरीको जिर्णोद्धार गरे ।
धर्म, शिक्षा, स्वास्थ्य र परोपकार प्रवद्र्धन गर्ने उद्देश्यले उनीहरूले २००१ सालमा धर्म संस्था नामक सामाजिक संस्थाको स्थापना गरे । उक्त संस्थामा तीनै दाजुभाइले मिलेर ३०२ बिघा १० धुर जमिन, १ हजार १०० मन धान र तत्कालीन समयअनुसार १ हजार १०० रुपैयाँ नगद दान स्वरूप प्रदान गरे जसले धर्म संस्थालाई स्थायीत्व र क्रियाशीलता दियो ।
३ दाजुभाइहरूमध्ये लगन साहका छोरा रामस्वरूप साह र कन्हाई साहका छोरा रामसागर साह थिए । यिनै रामस्वरूप र रामसागरले आफ्ना पिताहरूको परोपकारी परम्परालाई अझ सशक्त र प्रभावशाली रूपमा अगाडि बढाउँदै जनकपुरधामको समग्र विकासमा ऐतिहासिक योगदान पु¥याए ।
परोपकारी सोच भएका यी दुवै दाजुभाइले २००१ सालमा धनुषाको देवडिहामा संस्कृत विद्यालय स्थापना गरेर संयुक्त परोपकारको थालनी गरे । त्यसपछि २००४ सालमा मुलुककै प्रतिष्ठित सरस्वती नमुना विद्यालय, २००६ सालमा सकल भवन कन्या विद्यालयको स्थापना गरे ।
त्यतिबेला नेपालमा कलेज स्थापनासम्बन्धी कुनै कानुनी व्यवस्था थिएन । पछि नेपाल सरकारले २०१९ सालमा कलेजसम्बन्धी कानुन निर्माण गरेपछि, २०१४ सालमा सरस्वती माविमा कार्यरत गंगाधर नामक व्यक्तिले दुवै भाइबाट अनुमति लिएर पटना विश्वविद्यालयको सहकार्यमा रात्रिकालीन कक्षा सुरु गरे । यस घटनाले दुवै दाजुभाइमा जनकपुरधाममा कलेज स्थापनाको सोच जगायो, जुन अन्ततः २०२२ सालमा साकार भयो ।
दुवैले संयुक्त रूपमा राराव कलेज स्थापना गरी त्यसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न ७५ बिघा जमिन दान गरे । उक्त कलेजको उद्घाटन स्वयं राजा महेन्द्रले गरेका थिए । सोही वर्ष सकल भवन कन्या विद्यालयलाई उच्च माध्यमिक तह (हाइस्कुल) मा स्तरोन्नति गरिएको थियो ।
शिक्षा क्षेत्रमा मात्र होइन, सामाजिक पूर्वाधार विकासमा पनि उनीहरूको योगदान उल्लेखनीय छ । नेपाल–भारत सिमानास्थित जटहीमा दुवैले सानो नदीमा पुल निर्माण गराए, जसले गर्दा २ देशबीचको आवागमन सहज भयो । प्रारम्भमा ‘नेपाल–भारत मैत्री पुल’ भनिएको यो पुललाई अहिले ‘जटही पुल’ भनिन्छ । हाल यसको अवस्था दयनीय भएपछि नेपाल सरकारले नयाँ पुल निर्माण थालेको छ, यद्यपि भारतको असहयोगका कारण अझै अपूरो छ । तथापि, पुल सञ्चालनमा रहेको छ ।
२००८ सालमा गंगासागर पोखरीको जिर्णोद्धार तथा घाट निर्माण पनि दुवै भाइले गराएका थिए । त्यसअघि २००४ सालमा राममन्दिरमा चरणपादुका, २००२ सालमा कारिकस्थानमा धर्मशाला र इनार (कुवा) निर्माण गराएका थिए । यी सम्पूर्ण परोपकारी कार्यहरूबीच २०१७ सालको जेठ महिनामा रामस्वरूप साहको निधन भएपछि सम्पूर्ण सामाजिक उत्तरदायित्व एक्लै रामसागर साहको काँधमा आयो, जसलाई उनले निष्ठाका साथ पूरा गरे ।
रामसागर साहले आफ्ना अग्रज रामस्वरूप साहको स्मृतिमा जनकपुर अञ्चल अस्पतालमा प्रसूति गृह निर्माण गराए । त्यस्तै, महाराजसागरमा तुलसी स्मारकको निर्माण तथा सञ्चालन गरे । उनीद्वारा मुजेलियामा राधाकृष्ण मन्दिर, महारानी गहवर, डिहवार वावाका बाउन्ड्रीवाल, भैरव मन्दिर, सल्हेस मन्दिरको पर्खाल निर्माण गरियो । परोपकारी कार्यहरू सीमामा मात्र सीमित नराखी उनले नेपाल–भारत सीमा नजिकै रहेको बिहार राज्यको महिनाथपुरमा राराव संस्कृत विद्यालय र पुस्तकालयको निर्माण गराएका थिए ।
रामसागर साहको निधनपछि उनका सुपुत्र फुलगेन साहले पिता र काकाको परोपकारी परम्परालाई निरन्तरता दिए । उनले रामसागर साहको स्मृतिमा जनकपुर अञ्चल अस्पतालमा मेडिसिन कक्ष निर्माण गराए । साथै, धनुषा रेडक्रसको भवन निर्माण, मुजेलियामा विद्यालयको स्थापना, मुजेलिया–बेंगा सडकको निर्माण, र भारतको झारखण्ड राज्यस्थित बाबाधाम जाने मार्गमा रहेको कमरिया धर्मशालाको निर्माणमा सहयोग पु¥याए । रामचन्द्र साहद्वारा गंगासागरमा शिव मन्दिर, धर्मशाला, तथा लक्ष्मण अखाडामा विद्यालयको निर्माण जस्ता महत्वपूर्ण सामाजिक तथा धार्मिक कार्यहरू सम्पन्न गरिए । यिनका अतिरिक्त पनि उनले असंख्य परोपकारी कार्यहरूमा सक्रिय भूमिका खेलेका छन् ।
अर्बौं सम्पतिको धनी धर्म संस्थामा माफियाको नजर
२००१ समाल म रामस्वरूप साह र रामसागर साहले सयांँ बिघा जग्गा दान दिएर स्थापना गरेको धर्म संस्थामा उनीहरूको मृत्युपछि पारिवारिक कलह निम्तिएर धर्म संस्था नै समाप्त हुने अवस्थामा पुगेको थियो । यिनीहरूको पारिवारिक कलह सतहमा आएपछि तत्कालीन माओवादी जनयुद्ध कालमा संस्थाको नाममा रहेको सयौँ बिघा जग्गा माओवादीहरूले कब्जा गर्ने काम सुरु गरे । त्यसपछि उनीहरूले पारिवारिक कलह समाप्त गरी २०५३ सालदेखि संयुक्त रूपमा चलाउन सुरु गरे, जुन अहिले आएर उतकृष्ट संस्थाको रूपमा अगाडि आएको छ ।
फुलगेन साहका छोरा प्रभाकर साहका अनुसार संस्थामा अहिलेसम्म ३४२ बिघाभन्दा बढी जग्गा रहेको छ, तर धनुषा र महोत्तरीको विभिन्न ठाउँमा रहेका उक्त जग्गाहरू माफियाले कव्जा गर्ने परिपाटीका कारण संस्था नै चलाउन समस्या परेको छ । उनले भने, ‘सरकारले हदबन्दी लागू गरेको छ, यस कारणले संस्थाका उद्देश्य परिपूर्ति गर्न धौधौ परिरहेको छ । सरकारले सेवामूलक संस्थामाथि लगाइएको हदबन्दी फुकुवाका साथै कब्जा गरिएका जग्गा फिर्ताका लागि पहल गर्न आवश्यक छ ।’
परोपकारी संस्थाको रूपमा रहेको धर्म संस्थाको नाममा रहेका महोत्तरीको विजलपुरा, संग्रामपुर, मटिहानी र धनुषाको रमदैया, पर्सा, वघचौरा र सतोषरमा रहेको धेरै जग्गाहरू व्यक्तिहरूले कव्जा गरेका छन् । तिनै जग्गामा गरिने खेतीपातीको आम्दानीबाट संस्थाबाट हुने परोपकारी सेवाहरूको परिपूर्ति हुँदै आएको थियो ।
सरकार र जनकपुरधामबासीले बिर्सिदिए
प्रभाकार साह भन्छन्, आफना हजुरबुबाले विभिन्न समयमा शिक्षा, स्वास्थ, सामाजिक, धार्मिक क्षेत्रमा दिएको योगदान अहिलेको पुस्ताले बिर्सिदिएको छ । राराव कलेजबाहेक सहरमा न त कतै शालिक नै छ, न त कुनै चौककै नाम । कमसेकम आफ्नो हजुरबुबाको नाममा एउटा पुरस्कार नै स्थापना गरिदिएको भए आफनो पुर्खाको सम्मान हुने थियो तर न कसैले आवाज उठाएको छ न कसैले चर्चासमेत गरेको छ, उनको दुःखेसो थियो ।
कृष्णप्रसाद भट्टराई अन्तरिम सरकारको प्रधानमन्त्री भएको बेला जनकपुरधामको विकासमा योगदान दिएका महान् व्यक्तित्वको नाममा चोक स्थापनादेखि लिएर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उहाँको नाममा हुलाक टिकट निष्कासन गर्ने आश्वासन दिए पनि कार्यान्वयन नभएको उनले बताए । अहिले जनकपुरधामको भानुचोकमा भानुको शालिक स्थापना गर्ने या मधेस आन्दोलनका पहिलो सहिद रमेश महतोका शालिक स्थापना गर्ने झैझगडा चलिरहेको छ । उनी भन्छन्, ‘यो र त्यो भनेर झगडा गर्नुभन्दा आधुनिक जनकपुरधाम बनाउन योगदान दिएका रामस्वरूप र रामसागरको शालिक स्थापना गरी सम्मान दिनु उत्तम हुन्छ ।’ यसमा जनकपुरधामबासीले साथ र सहयोग दिनुपर्ने उनको भनाइ रहेको छ ।
जनकपुर
प्रतिक्रिया