काठमाडौँ । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । यसअघि उच्च अदालतले पाठकले दायर गरेको मुद्दामा गत असार २ गते सुनुवाइ गर्दै तत्काल पक्राउ नगर्न अल्पकालीक अन्तरिम आदेश जारी गर्दै बिहीबार दुवै पक्षलाई छलफलमा बोलाएको थियो ।
बिहीबार दुवै पक्षसँगको छलफलपछि न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र टीकाराम आचार्यको संयुक्त इजलासले दिएको आदेशमा सञ्चारमाध्यम वा पत्रकारले सम्प्रेषण गरेको सामग्रीबाट मर्का पर्ने पक्षले प्रेस काउन्सिलमा उजुरी दिन सक्ने उल्लेख गरिएको छ । आदेशमा भनिएको छ, ‘सञ्चारमाध्यम वा पत्रकारले सम्प्रेषण गरेको सामग्रीबाट मर्का पर्ने व्यक्तिले उक्त काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था भई त्यस्तो उजुरीउपर काउन्सिलबाट छानबिन र कारबाही हुन सक्ने अवस्था रहेको देखिन्छ । उल्लिखित परिप्रेक्ष्यमा निवेदकले सम्प्रेषित गरेको सामग्रीबाट कसुर भएको भनी परेको जाहेरीका आधारमा निजलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेसम्मको अवस्था नदेखिँदा मुद्दाको अन्तिम किनारा नभएसम्म निवेदकलाई पक्राउ नगर्नू÷नगराउनू भनी २ असारको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ ।’ अब पाठकले हालेको मुद्दा नटुंगिँदासम्म प्रहरीले उनलाई पक्राउ गर्न पाउनेछैन ।
प्रकाशित समाचार पनि हटाउनुनपर्ने
यसैबीच, काठमाडौँ जिल्ला अदालतले नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दुइटा अनलाइन सञ्चारमाध्यम नेपालखबर र बिजमान्डूविरुद्ध दायर गरेको निषेधाज्ञाको निवेदन बिहीबार खारेज गरिदिएको छ । जिल्ला न्यायाधीश श्यामविहारी मौर्यको इजलासले २ दिनको सुनुवाइपछि यो फैसला गरेको हो । यो फैसलासँगै नेपालखबर र बिजमान्डूले श्रेष्ठका विषयमा प्रकाशित समाचार सामग्रीहरू हटाउनुनपर्ने भएको छ ।
श्रेष्ठबारे समाचार प्रकाशन भएपछि नेपालखबर र बिजमान्डूविरुद्ध श्रेष्ठले दिएको निषाधाज्ञाको निवेदनमा गत जेठ २७ गते जिल्ला न्यायाधीश पीताम्बर शर्माको इजलासले ‘प्रकाशित समाचार हटाउन र थप नलेख्न’ अल्पकालीन अन्तरिम आदेश दिएको थियो । सोही आदेशमा नेपालखबर र बिजमान्डूसँग लिखित जबाफ माग गर्दै बुधबारका लागि छलफलमा झिकाएको थियो ।
प्रतिक्रिया