नवलपुर । पूर्व- पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्किबास स्थित विनयी खोलामा बनाइएको डाइभर्सनमा बाढीमा फसेका २४ यात्रुको प्रहरीले सकुशल उद्धार गरेको छ । गएराति सवा १२ बजे काठमाण्डौबाट नेपालगञ्ज तर्फ जाँदै गरेको भे १ ख ४०८५ नम्बरको बस बाढी आएको विनयी खोलाको बीचमा मध्यरातमा फसेपछि जीवन र मृत्युको दोसाँधमा परेका यात्रुहरु अतालिएका थिए ।
प्रहरीले एक्साभेटरको प्रयोग गरी राति नै सबै २४ जनाको उद्धार गरेको हो । घटनास्थलमा खटिएका करिब डेढ सय प्रहरीले खहरेखोलाको बाढीमा फसेका यात्रुलाई एक्स्काभेटरमार्फत बाहिर निकालेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बाढीको बहावका कारण बस डाइभर्सन भन्दा ५०० मिटर तल पुगेको छ भने बस अहिले पनि खोलामै छ ।
६ महिना अघि बिनयी त्रिवेणीस्थित बिनयी खोलाको पुल भत्किँदा ३४ घण्टासम्म पूर्व–पश्चिम राजमार्ग ठप्प भएको थियो। हजारौँ यात्रु अलपत्र पर्नुका साथै खाद्यान्न, औषधी, निर्माण सामग्री ढुवानी समेत प्रभावित भएको थियो। हाल डाइभर्सनमार्फत यातायात सञ्चालनमा आए पनि स्थायी मर्मत गरिएको छैन । विनयी खोलामा बाढी आउनासाथ डाइभर्सन बगाउने र फेरि बनाउने क्रम चलिरहेको छ । बाढीले बिहीबारसम्ममा ८ पटक डाइभर्सन बगाईसकेको छ । गएराती खोलाको डाइभर्सन बगेपछि अहिले पूर्वपश्चिम राजमार्गको यातायात पूर्ण रुपमा बन्द भएको छ ।
नवलपुर (पूर्वी नवलपरासी)
प्रतिक्रिया