दीपक मनाङेको सांसद पद खारेज

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेशसभाका सदस्य राजीव गुरुङ (दीपक मनाङे) को पद खारेज हुने आदेश गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले उनी निर्वाचनमा उम्मेदवार हुनै अयोग्य रहेको ठहर गर्दै सांसद पद खारेज हुने निर्णय सुनाएको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मनाङे सांसदबाट पदमुक्त भएको निर्णय गरेसँगै निर्णयसँगै सो मनाङ प्रदेशसभा (२) मा उपचुनाव गर्न बाटो खुलेको छ । यस्तै, उनी अब फेरि चुनाव लड्न नपाउने भएका छन् ।

अधिवक्ता वीरेन्द्रराज कार्कीले २०७९ पुस १३ गते मनाङे प्रदेशसभा सदस्यको उम्मेदवार बन्न नपाउने जिकिर गरी सर्वोच्चमा रिट दायर गरेका थिए । मनाङेले चक्रे मिलनमाथि २०६१ सालमा आक्रमण गरी हात छिनाएका थिए । सोही अभियोगको ज्यान मार्ने उद्योगको मुद्दामा उनी सर्वोच्च अदालतबाट दोषी ठहर भई डिल्लीबजार कारागारमा कैदी जीवन व्यतित गरिरहेका छन् । पटक–पटक गण्डकी प्रदेश सरकारको मन्त्रीको जिम्मेवारी समेत पाएका मनाङेको राजनीतिक जीवनमा पूर्णविराम लागेको छ ।

प्रतिक्रिया