अदालतकाे आदेशले काममा फर्किएपछि काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डे– पुरानो कुरा बिर्सिन चाहन्छु

काठमाडौं । काठमाडौं महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डे काममा फर्किएका छन् । बुधबार उच्च अदालत पाटनले निलम्बनसम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनी बिहीबारदेखि काममा फर्किएका हुन् ।

पदभार सम्हालेपछि उनले पुरानो कुरा बिर्सिन चाहेको प्रतिक्रिया दिएका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै प्रहरी प्रमुख पाण्डेले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले बिहीबार बिहान सुन्धारास्थित महानगर प्रहरी बलको कार्यालयमा पुगेर हाजिर गरेका छन् । यससँगै उनले आफ्नो ड्युटी पनि थालेका हुन् ।

बुधबार उच्च अदालतका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बन कारबाही कार्यान्वयन नगर्न भनेको थियो ।

कार्यलय प्रवेशमा अवरोध गरेको भन्दै महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई गत जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले मङ्गलबार उच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए ।

प्रतिक्रिया