विकराल बन्दै वायु प्रदूषण : वार्षिक २६ हजारको अकाल मृत्यु, घट्दै औसत आयु

काठमाडौँ । नेपालमा वायु प्रदूषण अपांगता र अकाल मृत्युको प्रमुख कारण बन्दै गएको छ । विश्व बैंक समूहले मंगलबार सार्वजनिक गरेको ‘टुवार्डस क्लिन एअर इन नेपाल ः बेनिफिट, पोलुसन सोर्सेज एन्ड सोलुसन्स’ नामक प्रतिवेदनमा वायु प्रदूषणका कारण वार्षिक करिब २६ हजार नेपालीले अकालमा ज्यान गुमाउनुपरेको उल्लेख छ ।

वायु प्रदूषणका कारण नेपालीको औसत आयु ३.४ वर्षले घट्दै गएकोसमेत उक्त प्रतिवेदनले जनाएको छ । कुपोषण र सुर्तीजन्य पदार्थभन्दा वायु प्रदूषणको जोखिम नेपालमा उच्च रहेकाले मानवीयसँगै आर्थिक क्षति निम्तिरहेको प्रतिवेदनको निष्कर्ष छ ।

प्रतिवेदनअनुसार नेपालमा ७५ प्रतिशत दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोग (क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज), ४६ प्रतिशत पक्षघात (स्ट्रोक), ४४ प्रतिशत इस्केमिक मुटुरोग, ४१ प्रतिशत श्वासप्रश्वास संक्रमण, ३८ प्रतिशत फोक्सोको क्यान्सर, नवजात शिशुसम्बन्धी समस्या ३० प्रतिशत र २० प्रतिशत मधुमेह (डायबिटीज) को कारण वायु प्रदूषण हो ।

जिडिपीको झन्डै ६ प्रतिशत आर्थिक क्षति

अध्ययनले नेपाल र सिन्धु–गंगा मैदान तथा हिमालय फेदी क्षेत्रको वायु प्रदूषणको गहिरो मूल्यांकन प्रस्तुत गरेको छ । जसमा काठमाडौँ उपत्यका र तराई क्षेत्रलाई वायु प्रदूषणको ‘हटस्पट’ मानिएको छ । पछिल्लो दशकमा वायुको गुणस्तर सुधारका लागि केही प्रयास भए पनि परिणाम खासै देखिएको छैन । कमजोर हावाको गुणस्तरले स्वास्थ्यसँगै देशको श्रम उत्पादकत्व, पर्यटन र हवाई क्षेत्रलाई समेत नोक्सान पु¥याइरहेको छ । यसले नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) को करिब ६ प्रतिशत बराबरको आर्थिक क्षति हुने गरेको विश्व बैंकको ठहर छ ।

प्रतिवेदनले यहाँको वातावरण सुधारका लागि विभिन्न क्षेत्रमा समन्वयात्मक नीति र लगानी आवश्यक रहेको सुझाव दिएको छ । पेट्रोलियम पदार्थलगायतमा लगाइएको करबाट उठेको रकम सरकारी साझा कोषमा जम्मा हुने भए पनि वातावरणीय उपयोगका लागि भने नछुट्याइएको विश्व बैंकले उल्लेख गरेको छ ।

वायु प्रदूषण नियन्त्रणका लागि विश्व बैंकले कार्ययोजना प्रस्तुत गर्दै सवारीसाधन उत्सर्जन नियन्त्रण, औद्योगिक प्रदूषण नियन्त्रण, घरायसी चुह्लो सुधार, डढेलो नियन्त्रण र सीमापार प्रदूषण नियन्त्रण गर्नुपर्ने उल्लेख गरेको छ । नेपालको जटिल भूगोल, विशेष गरी चारैतिर डाँडाकाँडाले घेरेको काठमाडौँ उपत्यकाका कारण वायु प्रदूषण नियन्त्रण गर्न झनै चुनौतीपूर्ण बनाएको प्रतिवेदनमा उल्लेख छ ।

उक्त प्रतिवेदन सार्वजनिक गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सफा हावा र आर्थिक वृद्धि एकअर्काका विरोधी नभएको धारणा राखे । ‘प्रदूषण नियन्त्रणमा आजै कठोर कदम चालिएन भने यसको मूल्य भविष्यमा धेरै ठुलो हुनेछ,’ उनले भने, ‘सरकार सवारीसाधन विद्युतीकरणदेखि औद्योगिक उत्सर्जन मापदण्ड कडा बनाउनेसम्मका पहलमा प्रतिबद्ध छ ।’

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका निर्देशक डेभिड सिस्लेनले स्वास्थ्य र समृद्धिका लागि सफा हावा अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै विश्व बैंक आफ्नो वैश्विक ज्ञान र अनुभव प्रयोग गरी नेपाललाई वित्तीय, प्राविधिक र क्षमता अभिवृद्धिमार्फत साथ दिन निरन्तर प्रतिबद्ध रहेको बताए ।

प्रतिक्रिया