ढुण्डिराज शास्त्री : समाजवादी लेखक र राजनीतिज्ञ

अरूले बनाइदिएको विचार र सिद्धान्तमा हिँड्नेलाई राजनीतिकर्मी, विचार तथा सिद्धान्तको व्याख्या गर्दै दृष्टिकोण दिने हैसियत भएकोलाई राजनीतिज्ञ र विचार र सिद्धान्त प्रतिपादन गर्ने दूरदर्शी हैसियत भएकोलाई राजनेता भन्ने गरिन्छ । यस मानेमा दिवंगत नेता शास्त्रीलाई राजनीतिज्ञको विशेषण दिनु न्यायिक हो ।

विन्दुकान्त घिमिरे

नेपाली कांग्रेसका पुराना नेता ढुण्डिराज शास्त्रीको ९० वर्षको उमेरमा २०८२ असार २ गते सोमबार निधन भयो । निधन लगत्तै धेरैले सामाजिक संजालमा लेखे, ‘रहेनन्, समाजवादी लेखक एवं राजनीतिज्ञ शात्री ।’ राजनीतिमा सक्रीय रहनेहरू फरक फरक ३ वटा विशेषताले परिचित हुन्छन्, ‘पहिलोथरी राजनीतिकर्मी, दोस्रोथरी राजनीतिज्ञ र तेस्रोथरी राज नेता ।’ अरूले बनाइदिएको विचार र सिद्धान्तमा हिँड्नेलाई राजनीतिकर्मी, विचार तथा सिद्धान्तको व्याख्या गर्दै दृष्टिकोण दिने हैसियत भएकोलाई राजनीतिज्ञ र विचार र सिद्धान्त प्रतिपादन गर्ने दूरदर्शी हैसियत भएकोलाई राजनेता भन्ने गरिन्छ । यस मानेमा दिवंगत नेता शास्त्रीलाई राजनीतिज्ञको विशेषण दिनु न्यायिक हो ।

घटना २०५५ वैशाख महिनाको हो । भरखरै बनेको नयाँ सरकारमा शास्त्री उद्योग तथा श्रम मन्त्री थिए । होटल मस्र्याङ्दीमा पत्रकार सम्मेलनको आयोजना गरे । मन्त्री स्वयंले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बन्धित बिटका मिडियाकर्मीहरू खचाखच हुनु स्वभाविकै थियो । तर उनले संहालेका मन्त्रालय र पत्रकार सम्मेलनको विषयबस्तु बिलकुल फरक थियो । उनले देशलाई संघीयतामा लैजानुपर्ने र अहिले विद्यमान ५ वटा विकास क्षेत्रलाई नै प्रदेशमा रूपान्तरण गर्नुपर्ने भन्दै लामो व्याख्या गरे । उनले अघि सारेको यो विषयबस्तु मिडियाकर्मीका लागि बिलकुल नौलो थियो । मन्त्रालयसँग असम्बन्धित विषय भएकोले आफ्नै खर्चमा होटलमा पत्रकार सम्मेलन गरेको स्पष्टीकरण उनले दिए ।

त्यतिबेलासम्म संघीयताको एजेन्डा नेपाल सद्भावना पार्टीबाहेक अरूले उठाएका थिएनन् । सद्भावना पार्टीले पनि हिमाल, पहाड र तराई गरी ३ वटा प्रदेश सहितको संघीयता माग गरेको थियो । जुन माग नेपालको परिप्रेक्षमा असंभव थियो । बहालवाला मन्त्री शास्त्री स्वयंले ५ विकास क्षेत्रलाई प्रदेशमा रूपान्तरण गरी संघीयतामा जानुपर्ने विचार प्रवाह गरेपछि नयाँ बहसको सुरु हुनुपर्ने थियो । तर, त्यसको ५ महिनापछि भएको मन्त्रिपरिषद् पुनर्गठनमा शास्त्री फालिए । केही अपवादबाहेक नेपाली कांग्रेस नेतृत्वका हरेक सरकारमा मन्त्रीका लागि नछुटाइएका शास्त्री चुनावका बेला टिकट बाँढ्नेसम्मको हैसियतमा थिए । तर, २०५६ सालको आमनिर्वाचनमा उनी आफँैले टिकट पाएनन् । संघीयताको एजेन्डा उठाएकै कारण उनको सक्रीय राजनीति समाप्त भयो । आखिर २०६४ सालको अन्तरिम संविधानमा संघीयतालाई स्वीकार गरियो । तर, उनी राजनीतिमा पुनः सक्रिय हुने परिस्थिति बनेन । तत्कालीन विकास क्षेत्रलाई प्रदेशमा रूपान्तरण गर्ने उनको एजेन्डा हुबहु कार्यान्वयन नभए पनि त्यसको नजिक नजिक हुने गरी संरचना बनाएको देखिन्छ । तर, तत्कालीन विकास क्षेत्रको भूगोल नै प्रदेश संरचनाका लागि उपयुक्त हुने बहस अहिले पनि जारी छ । शास्त्री राजनीतिकर्मी मात्रै नभएर राजनीतिज्ञ हुन् भन्न सकिन्छ ।

शास्त्री राजनीतिज्ञ मात्रै नभएर समाजवादी चिन्तक हुन् । भाषणमा भन्दा लेखनमा विशेष दख्खल राख्ने शास्त्रीका प्रायः लेखहरूमा समातामूलक समाज निर्माणको चिन्तन भेटिन्छ । उनले लेखेका छन्, ‘समतावादी समाज नभए राज्य व्यवस्था समाजवादी हुन सक्दैन । अतः समाजवादी नाम र मोर्चा मात्रले समाजवादी कोही हुन सक्दैन । सोच, विचार, चिन्तन, आचारण, व्यवहार अनि समाजवादी व्यवस्था निर्माण प्रति प्रतिबद्धता र संघर्षशीलता पनि हुनुप¥यो ।’ २०१३ सालमा नेपाली छात्र संघ, बनारसबाट राजनीति प्रारम्भ गरेका शास्त्री २०४८ र २०५१ सालमा अर्घखाँची–२ बाट जननिर्वाचित प्रतिनिधिसभा सदस्य थिए । प्रतिनिधिसभा सदस्य रहँदा उनले पटकपटक उद्योग मन्त्रीदेखि श्रममन्त्रीको कार्यभार सम्हाल्ने अवशर पाए । संसद्को मानवअधिकार र परराष्ट्र समितिको सभापतिका रूपमा पनि उनले काम गरे ।

यसबाहेक पश्चिमाञ्चल युवा कांग्रेस, विश्व प्रवासी नेपाली संघ, समाजवादी युवा संघ नेपाल, नेपाली जनसम्पर्क समिति–भारत, नेपाली कांग्रेस अर्घाखाँची, नेपाली कांग्रेस–केन्द्रीय कार्य समिति, नेपाली कांग्रेस कार्य सम्पादन समितिमा रहेर काम गरे । नेपाली कांग्रेस, सिद्धान्त नीति र कार्यक्रम विभाग प्रशिक्षण विभागदेखि नेपाली काग्रेस, अनुसन्धान तथा मूल्यांकन विभागमा रहेर पनि काम गरे ।

उनको आत्मवृतान्तमा उल्लेख भएअनुसार भैरहवाको जेलमा बस्दा शास्त्रीले २ वटा उपन्यास लेखेका थिए, ‘मन’ र ‘सुनिता’ । यी उपन्यासका पाण्डुलिपिलाई पुस्तकको आकार दिने शास्त्रीको चाहना थियो । तर, जेल अनि निर्वासनको क्रममा एकठाउँबाट अर्को ठाउँमा पुग्ने क्रममा पाण्डुलिपि हरायो । उनले अर्को कीर्ति लेखे ‘सन्तुलनात्मक समाजवाद’ त्यो पनि अप्रकाशित नै रह्यो । तर, उनले विभिन्न पत्रपत्रिकाहरूमा फुटकर लेखहरू लेखिरहे । तर जब उनले लेखेको ‘समाजवाद, सन्तुलन र सृजना’ पुस्तक सार्वजनिक भयो, त्यसले विशेषगरी राजनीतिक क्षेत्रमा अर्थपूर्ण उपस्थिति जनायो । त्यहीबेलादेखि उनलाई नेपाली कांग्रेसभित्रका समाजवादी व्याख्याताको रूपमा हेर्न थालियो ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि संघर्ष गर्नेक्रममा ५ वर्ष जेल र १३ वर्ष भारतमा निर्वासित जीवन बिताएका शास्त्री प्रजातन्त्र र समाजवादप्रतिको आफ्नो आस्थामा कहिले पनि डगमगाएनन् । समाजिक क्षेत्रमा पनि उत्तिकै सक्रीय रहे । सहिद स्मृति प्रतिष्ठान, महापण्डित दधिराम मरासिनी स्मृति प्रतिष्ठान, समता समाजदेखि प्रजातान्त्रिक समाजवादी मञ्च, नेपालको नेतृत्वमा रहेर उनले काम गरे । उनले समाजवादको विचारलाई आफ्नो लेखन र कार्यमार्फत नेपाली समाजमा प्रचलित गराउने प्रयास बाँचुन्जेल गरिरहे । उनले नेपाली समाजको विकृति र दूरवस्थामा सुधार ल्याउनका लागि समाजवादी दृष्टिकोणबाट लेखेका र बोलेका काव्य र लेखहरूले जनताको अधिकार र उत्पीडनविरुद्ध आवाज उठिरह्यो । ९० वर्षको उमेर पुगिक्दा पनि निरन्तर राजनीति र समाज सुधारका लागि सक्रिय रूपमा योगदान पु¥याइरहनु उनको महत्वपूर्ण विशेषता हो ।

दूरदर्शी राजनेता बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह, सन्त नेता कृष्णप्रसाद भट्टराई, वरिष्ठ राजनीतिज्ञ गिरिजाप्रसाद कोइराला, महेन्द्रनारायण निधि लगायतका शीर्ष नेताहरूसँग निकटमा रहेर उनले प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण काम गरेका छन् । प्रजातन्त्र पुनस्र्थापनाको संघर्षका क्रममा भारतको वनारस र गोरखपुरमा प्रवासी जीवन बिताएका शास्त्रीले केही समय आफ्नो गृहजिल्ला अर्घाखाँचीमा शिक्षकका रूपमा समेत काम गरेका थिए ।

शास्त्री २०१० सालमा भारतको बनारसमा अध्ययन गर्दै गर्दा नेपाली कांग्रेसको राजनीतिमा जोडिएका थिए । उनले पढाइ पूरा भएपछि पार्टीका तर्फबाट भूमिगत राजनीति गरे । २०१४ सालमा नेपाली कांग्रेसले सुरू गरेको भद्र अवज्ञा आन्दोलनमा अर्घाखाँची जिल्लाको अगुवाइ गर्दै उनले पाल्पाको तानसेनमा भाग लिएका थिए । २०१५ सालको आमनिर्वाचनमा सक्रिय रूपमा लागेका उनी २०१७ पुस १ गते राजा महेन्द्रले संसद् भंग गरी नेताहरूलाई जेल हालेको समयमा गुल्मी र अर्घाखाँचीका युवालाई क्रान्तिमा संलग्न गराउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

२०१७ सालपछि उनी भारतमा निर्वासित जीवन बिताएका थिए । शास्त्रीले तत्कालीन समयमा भारतको गोरखपुरमा गोरखपुर महाविद्यालयमा केही समय अध्यापन गराएका थिए । उनी गोरखपुरमा छँदा प्रजातन्त्रको लडाइँका लागि पर्चा पम्प्लेट र पत्रिका प्रकाशित गरी नेपाल पठाएका थिए । बिपी कोइरालाका कट्टर अनुयायी शास्त्री समाजवादका व्याख्याता थिए । भूमिगत रूपमा अर्घाखाँची र गुल्मी लगायतका जिल्लामा नेपाली कांग्रेसको संगठन विस्तारमा उल्लेख्य भूमिका निर्वाह गरेका थिए । उनले विक्रम संवत् २०३६ र २०४६ सालको जनआन्दोलनमा पनि नेतृत्वदायी भूमिका खेलेका थिए ।

‘मेरो जीवन र अनुभूति’ पुस्तकमा शास्त्रीले लेखेका छन्, ‘२०२८ सालमा राजा महेन्द्र स्वर्गीय भए त्यसबेला म जनता मावि बुटवलमा पढाउँथेँ । भोलिपल्ट बिहान हेडमास्टर आनन्दप्रसाद श्रेष्ठ मेरो कोठाको बाहिर आएर उभिए र भने ‘ढुण्डिराजजी राजाको मृत्यु भयो, अब हामीले के गर्ने ?’ मैले भने ‘स्कुल छुट्टी गर्नुहोस् ।’
अर्को दिन बिहान म नजिकैको रसियन लाइब्रेरीमा बसेर पढिरहेको थिएँ । प्राध्यापकहरूको एउटा ग्रुप आयो । मलाई देखेर उनीहरू लाइब्रेरीमा पसे । सबै पढेलेखेकै मान्छेको त्यो ग्रुपले मलाई त ‘घुम्न जाउँ न’ भनेर त्यहाँबाट निकाले । घुम्दै–घुम्दै अञ्चलाधीश कार्यालयतिर लिएर गए मलाई । त्यहाँ त तमाम मानिसहरू, अञ्चलाधीश, मेल्ट्री अफिसरहरू, पुलिस अफिसरहरू, राष्ट्रिय पञ्चायतका सदस्यहरू, सुब्बाहरू सबै जम्मा भएका रहेछन् । राजाबारे शोक पुस्तिका लेख्दै रहेछन् त्यहाँ । सबैले केही न केही लेखिरहेका थिए ।

मैले पनि सरल तरिकाले ‘श्री ५ महाराजाधिराज महेन्द्र वीरविक्रम शाहदेवज्यूको दिवंगत आत्मालाई श्री विश्वेश्वरले शान्ति प्रदान गरून्’ भनेर लेखेँ । त्यसको तल ‘ढुण्डिराज शास्त्री’ भनेर लेखेँ । त्यो पढेर मान्छेहरू सबैमा सन्नाटा छायो । कोही बोलेनन् । उनीहरूले विश्वेश्वरको अर्थ गलत पो लाउँछन् कि भनेर मलाई भने । आचार्य र एमए पढेका मान्छे, संस्कृत पढेको मान्छेले विश्वेश्वरको अर्थ जानेका होलान् नि भने अञ्चलाधीशले किन लेखेको भनेर सोधेछन् भने भनुला, ‘विश्वेश्वर भनेको विश्वको ईश्वर हो भनेर’, मैले भने । उनीहरू हाँसे । अञ्चलाधीशले मेरो लेखको प्रशंसा गरेको भनेको सुनेको थिएँ तर पछि मलाई पक्राउ गरेर जेलमा राखे ।

प्रतिक्रिया