चैत २६ राजासँग वार्ता गरेको दिन

RK-mainali०४६ सालको जनआन्दोलनका लागि गठित तत्कालीन वाम मोर्चाको म कार्यवाहक अध्यक्ष थिएँ । राजधानीमै बसेर आन्दोलनको नीतिगत निर्देशन दिनुपर्ने काम हुन्थ्यो । भूमिगत थिएँ । त्यसबेला चन्डोलस्थित चैतन्य सिटौलाको डेरामा बस्थेँ । । त्यही घरको भुइँतलामा डिएसपीको क्वार्टर रहेकाले खानतलासी हुँदैनथ्यो । म चैतन्यको पाहुनाका रूपमा बसेकाले मेरो लागि त्यो सुरक्षित सेल्टर थियो । १५ दिनअघिदेखि त्यहीँ सेल्टर लिएको थिएँ । निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध सडक आन्दोलन उत्कर्षमा पुग्दै थियो ।

राजाले २४ गते राति मरिचमानसिंह श्रेष्ठको सरकार हटाएर २५ गते बिहान लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकार गठन गर्नुभएको थियो । चन्दको नेतृत्वमा चार मन्त्री थिए । सरकार गठन हुनेबित्तिकै चन्दले आन्दोलनकारीलाई वार्तामा आउन आह्वान गर्नुभएको थियो । तर, वाम मोर्चा वा कांग्रेस बैठक बसेर वार्ता आह्वानबारे प्रतिक्रिया दिने अवस्था थिएन । न त हामीले लोकेन्द्रबहादुर चन्दको सरकार गठनबारे प्रतिक्रिया नै दिन भ्याएका थियौँ । सरकारले कफ्र्यु लगाएको थियो । एक जना व्यक्ति पनि बाहिर देखिए सेनाले गोली ठोक्थ्यो । हामी कोही पनि सम्पर्कमा हुने अवस्थामा थिएनौँ । अधिकांश नेता थुनिएका थिए ।
चैतको २५ गते राति पद्मरत्न तुलाधरको फोन आयो । उहाँ वाममोर्चाको सदस्य हुनुहुन्थ्यो । २५ गते नै जेलबाट छुट्नुभएको रहेछ । सहानाजीलाई पनि त्यही दिन छोडिएको थियो । फोनमा उहाँले वाम मोर्चाको बैठक बसौँ भन्नुभयो । पद्मरत्नमार्फत सरकारले वार्ताको सन्देश पठाउन खोजेको रहेछ, पछि मात्र थाहा पाएँ । २६ गते बिहान लैनचौरमा पद्मरत्नकै घरमा बस्ने सल्लाह भयो । उहाँले भोलि बिहान आफैँ गाडी लिएर लिन आउँछु भन्नुभयो । म बसेको घरको जानकारी दिँदा घरबेटीलाई समस्या होला भनेर चन्डोलमा ऋषिकेश शाहको घरछेउ आउन भनेँ । त्यहाँ काठका मुढा थुपारिएको थियो । त्यहीँ बसिरहेको हुन्छु भनेँ ।
चैत २६ गते बिहान, म सामान्य लुगा लगाएर त्यही ठाउँमा गएर बसेँ । करिब १५ मिनेटपछि भिआइपी पिकअप भ्यानमा पद्मरत्नजी आउनुभयो । गाडीको अगाडि एक जना सैनिक थिए । ९ बजेतिर म गाडीमा बसेँ । त्यसपछि हामी कृष्णराज बर्मालाई लिन बानेश्वर गयौँ । त्यसपछि सानेपामा सहानाजीलाई लिन गयौँ । लैनचौर आइपुग्दा करिब ११ बजेको थियो । आधाघन्टाको बाटो भए पनि कफ्र्युका कारण आर्मीहरूलाई पटकपटक स्पष्टीकरण दिएर आउँदा ढिलो भएको थियो ।
पद्मरत्नजीको घरमा पुग्दा नीलाम्बर आचार्यसहित वाममोर्चाका अरू सदस्य आइसकेका थिए । सरकारले बोलाएको वार्तामा जाने कि नजाने भनेर मोर्चामा छलफल चल्दै थियो । त्यही बेला तत्कालीन मन्त्री पशुपतिशमशेर राणा त्यहाँ आइपुग्नुभयो । एकछिन पर्खाएपछि हामीले उहाँलाई बैठकस्थलमै बोलायौँ । उहाँले ‘सरकार फेरिइसकेको छ, राजाले वार्ताका लागि निर्देशन दिइबक्सेको छ । तपाईंहरू वार्तामा आइदिनुस् । वार्ताबाटै सबै टुंगो लगाउँला, आन्दोलन रोक्नुपर्‍यो’ भन्नुभयो । हामीले उहाँलाई केही प्रतिक्रिया नदिई पठाइदियौँ । मन्त्रीले सरकारसँग वार्ता गर्न बोलाएका थिए, हामी राजासँग मात्रै वार्ता गर्ने कुरा गरिरहेका थियौँ ।
उहाँ गएपछि सहानाजीले बिहान कृष्णप्रसाद भट्टराईले फोन गरेको कुरा गर्नुभयो । ‘दलीय प्रतिबन्ध हट्छ, अहिलेलाई यति भए पुग्छ, वार्तामा जानुपर्छ,’ किसुनजीले भनेका कुरा जस्ताको त्यस्तै राखेर उहाँले किसुनजीले दिएको चिठ्ठी पढेर सुनाउनुभयो । भट्टराईको पत्रमा दलमाथिको प्रतिबन्ध फुकाउने कुरो मात्रै थियो । हामी सम्पूर्ण रूपले पञ्चायती व्यवस्था खारेजीको कुरा गरिरहेका थियौँ । कांग्रेसका तर्फबाट आएको त्यो पत्रका कुरा कसरी चित्त बुझ्नु † कांग्रेसमाथि विश्वास टुट्दै जान थाल्यो ।
वाममोर्चामा म तत्कालीन नेकपा (माले) र सहानाजी नेकपा (माक्र्सवादी) का तर्फबाट सहभागी थियौँ । सहानाजी वाममोर्चाको अध्यक्ष हुनुहुन्थ्यो । हाम्रो पार्टीको महासचिव मदन भण्डारी हुनुहुन्थ्यो । मैले उहाँसँग वार्तामा जाने/नजाने कुरा गर्न पाएको थिइनँ । अहिलेजस्तो टेलिफोनमा भेट हुन सहज थिएन । को कहाँ थिए, थाहा पाउनै मुस्किल थियो । माधव नेपालसँग केहीअघि वार्ताबारे सामान्य छलफल भएको थियो । माधवजीले सर्तसहित राजासँग वार्तामा जानुपर्छ भन्नुभएको थियो । पञ्चायती व्यवस्थाको अन्त्य र सम्पूर्ण रूपमा प्रजातन्त्रको स्थापना, राजबन्दीका रिहाइ, दमनकारीमाथि कारबाही, सहिद परिवारलाई राहत, घाइतेहरूको उपचारलगायत सर्त राख्नुपर्ने उहाँको सुझाव थियो । वार्तामै नजाने भन्ने कुरा भएको थिएन । तर, चैत २६ गतेचाहिँ मदन भण्डारी र माधव नेपाल दुवै जनासँग सम्पर्क हुन सकेन । मोदनाथ प्रश्रितजीसँग एकपटक फोन भएको थियो । उहाँले निर्णय दिन सक्नुभएन ।
गणेशमानजी वीर अस्पतालमा हुनुहुन्थ्यो, उपचारका लागि । सन्चो नभएपछि प्रहरीको निगरानीमा उहाँलाई अस्पताल राखिएको थियो । मोर्चाको बैठकबाट म, सहाना र मनमोहन अधिकारी वीर अस्पताल गयौँ । उहाँ खुट्टा तल झारेर, च्यापु लठ्ठीमा अड्याएर बेडमा बसिरहनुभएको थियो । सँगै किसुनजी र गिरिजाबाबु हुनुहुन्थ्यो । अर्का एक अजनबी व्यक्ति पनि छेउमै थिए, कांग्रेसी नै ठानेँ ।
हामी पुग्नेबित्तिकै किसुनजी झोक्किनुभयो, ‘वार्तामा जाने कि नजाने ?’ जवाफमा मैले भनेँ, ‘वार्तामा जाने तर…’ मेरो कुरा नटुंगिँदै किसुनजी बोल्नुभयो, ‘आन्दोलन रोकेर वार्तामा जानुपर्छ ।’ मैले फेरि थपेँ, ‘हिजोको सहमति † सम्पूर्ण रूपमा बहुदलीय प्रजातन्त्र आएपछि मात्रै आन्दोलन टुंग्याउनुपर्छ ।’ किसुनजीले दलमाथिको प्रतिबन्ध हटाउने सहमतिमा वार्तामा आउने भनी चन्दसँग कुराकानी गरिसक्नुभएको रहेछ । उहाँ मेरो कुराले अझ आक्रोशित हुनुभयो । छाता झट्कार्दै भन्नुभयो, ‘तपाईंहरू आन्दोलनमा जानुस्, हामी वार्तामा जान्छौँ ।’
चर्काचर्की हुन थालेपछि गणेशमानजी बोल्नुभयो, ‘ए किसुनजी, के भन्या हँ ? मैनालीजीले भनेको कुरा ठीक हो । सम्पूर्ण रूपले पञ्चायत अन्त्य र सम्पूर्ण रूपले प्रजातन्त्र नआई आन्दोलन किन रोक्ने ? वार्तामा जाने तर यो कुरामा सहमति नभई आन्दोलन अन्त्य हुन सक्दैन ।’ त्यसपछि लामो सन्नाटा छायो । किसुनजी कायल हुनुभयो । मैले कांग्रेसी ठानेका ती अजनबीले पनि वार्तामा त जानैपर्छ भने । मलाई पछि मात्रै थाहा भयो, ती व्यक्ति तत्कालीन मन्त्री अच्युतराज रेग्मी पो हुनुहुँदो रहेछ । त्यसपछि हाम्रो डेलिगेसनले पञ्चायत सम्पूर्ण रूपले अन्त्य गर्ने, पञ्चायतका सबै अंगभंग गराएर आउने सहमति भयो । तर, आन्दोलनचाहिँ जारी राख्ने कुरा पनि भयो । हामी करिब १ बजे वीर अस्पताल पुगेका थियौँ । ३ बजेतिर त्यहाँबाट फेरि वाम मोर्चाको बैठकस्थल लैनचौर आयौँ ।
वाममोर्चाको बैठकमा अब को वार्तामा जाने भन्ने रस्साकस्सी चल्न थाल्यो । कांग्रेसका तर्फबाट त किसुनजी र गिरिजाबाबु जाने निर्देशन गणेशमानजीले दिइसक्नुभएको थियो । वाममोर्चाको अध्यक्ष भएकाले सहानाजीको कुरामा कुनै असहमति रहेन । अर्को को जाने भन्नेबारेचाहिँ लामै विवाद भयो । कृष्णराज वर्मा वार्तामा जान सबैभन्दा इच्छुक हुनुहुन्थ्यो । सहाना, लीलामणि, पद्मरत्नको सपोर्ट मलाई थियो । तर, कृष्णराज मान्नुभएन । उहाँको पक्षमा रोहित, तुलसीलाल र विष्णुबहादुर मानन्धर हुनुहुन्थ्यो । पछि नीलाम्बरको सपोर्ट आएपछि म वार्तामा जाने पक्का भयो । सहमति हुँदा साँझको ६ बजिसकेको थियो । मेरो डेरा पाटनमा थियो । राजासँग वार्तामा जान दौरासुरुवाल, कोट लगाउनुपर्ने । मेरो एकजोर थोत्रो दौरासुरुवाल कोट थियो । कफ्र्युमा डेरा गएर भात खाएँ । अनि लुगा लाएर वीर अस्पताल आइपुग्दा म ढिलो भएँ भनेर किसुनजी, गिरिजाबाबु र सहानाजी निस्किनै लाग्नुभएको रहेछ । अस्पतालको गेटमै भेट भयो । गाडीको अगाडि अच्युतराज रेग्मी हुनुहुन्थ्यो । उहाँले हामीलाई सिधै प्रधानमन्त्रीनिवास बालुवाटार पुर्‍याउनुभयो । त्यतिबेला साढे सात ८ बजेको हुँदो हो । केहीबेर त्यहीँ बस्यौँ । पञ्चायत खत्तम पार्न गणेशमानको निर्देशन लिएर आएका छन् भन्ने चन्दलाई परिसकेको थियो । मैले कांग्रेस ठानेका अच्युतराजले सबै कुरा यता गरिसक्नुभएको रहेछ ।
लोकेन्द्रबहादुर चन्दले किसुनजीलाई अलि परतिर तानेर भन्नुभयो– ‘किसुनजी, पञ्चायत नै खत्तम पार्ने गरी त डिमान्ड गर्नु भएन नि π’ म छड्केछड्के परेर कुरा सुनिरहेको थिएँ । किसुनजीले ‘माग गर्ने त हाम्रो काम हो नि’ भनेर अलि द्वयर्थी कुरा गर्नुभयो । चन्दजीले कुम हल्लाउँदै ‘लौ ठीक छ त्यसो भए’ भन्नुभयो । मैले यिनी सफ्ट पारामा कुरा गर्दा रहेछन् भन्ने बुझिसकेको थिएँ ।
करिब आधा घन्टापछि हामी चार जना एक–एक मन्त्रीको साथमा राजदरबार पुग्यौँ । म पशुपति शमशेरसँग परेँ । दरबारमा त्यस्तै साढे ९ बजेतिर पुग्यौँ । भित्री गेटअघि भुइँघरमा आधा घन्टाजति राखियो, त्यसपछि भित्र लगे । राजा अगाडि कुर्सीमा बसेका । त्यसपछि किसुनजी, गिरिजाबाबु, सहाना र म । मन्त्रीहरूको साइडमा पनि कुर्सी थियो तर चारै जना उभिए । राजासँगको साक्षात्कार पहिलो थियो । बसाइसकेपछि लोकेन्द्रबहादुर चन्दले हामीलाई एकएक गरी परिचय गराउनुभयो । पहिले किसुनजीलाई पूर्वसभामुख, गिरिजाबाबुलाई प्रतिबन्धित नेपाली कांग्रेसको अध्यक्ष, सहानालाई पुष्पलालकी विधवा पत्नी र मलाई राजनीतिज्ञ भनेर चिनाइयो । चन्दजी हामी राजालाई खोज्दै दर्शनभेट गर्न गएझैँ गरी प्रस्तुत हुनुभयो ।
परिचयपछि राजाले किसुनजीलाई बोल्ने संकेत गर्नुभयो । किसुनजीले बिपी थुनिएकोदेखि पञ्चायतले जनताको राजनीतिक अधिकार कुण्ठित गरेकोसम्म मीठो भाषामा बिफ्रिङ गर्नुभयो । अनि गिरिजाबाबुको पालो आयो । गिरिजाबाबुले हात उठाएर नबोल्ने संकेत गर्नुभयो, बोल्नुभएन । त्यसपछि सहानाजीको पालो । सहानाजीले वामभाषामा तिखारिएको कुरो गर्नुभो । वाम आन्दोलनदेखि देशमा जनता हताहत भएको कुरासहित पञ्चायत विघटनको माग राख्नुभयो । त्यसपछि पालो आयो मेरो । म झापाली मान्छे, भाषा मीठो थिएन । युवा जोसचाहिँ थियो । मैले सुरुमै तत्कालीन अवस्थामा दुई सय जना मारिएको कुरो राखेँ । राजाले गृहमन्त्रीसँग ‘के यो साँचो हो’ भनेर सोध्नुभयो । ‘उहाँलाई गलत रिपोर्टिङ भएछ सरकार’, तत्कालीन गृहमन्त्री नैनबहादुर स्वारको जवाफ आयो । अनि राजबन्दी छोड्नुपर्ने कुरा पनि उठाएपछि, राजाले फेरि सोध्नुभयो, ‘कति छन् ?’ स्वारले अधिकांश छुटिसकेका, बाँकीलाई पनि प्रक्रिया पुर्‍याएर छोड्ने सिलसिलामा रहेको जाहेर गर्नुभयो । अपराधीमाथि कारबाही, हताहत भएका व्यक्तिको परिवारलाई राहतको कुरो पनि मैले उठाएँ ।
‘राजाको हुकुम’ भन्ने सुन्दा राजा अलि रिसाहा स्वभावका होलान्झैँ लाग्थ्यो । तर, वीरेन्द्रको स्वभाव मैले सोचेभन्दा निकै फरक रहेछ । मेरो कल्पनाका राजा रिसाहा थिए तर, देखेका राजा नरम स्वभावका । हँसिलो र नरम भएर उहाँले सम्पूर्ण रूपमा पञ्चायत विघटन गर्ने कुरामा सहमति जनाउनुभयो । संविधान सुझाव आयोग र सरकारमा भने कांग्रेस, वामपन्थी र पञ्चहरूको त्रिपक्षीय सहभागिता जनाउने प्रस्ताव राजाबाट आयो । हामीले स्वीकार गरेनौँ । सहानाजीले दोहोर्‍याएर सम्पूर्ण रूपले बहुदलीय सरकार हुनुपर्छ भन्नुभयो । किसुनजीले पनि एकपटक आफ्ना कुरा थप्नुभयो । मैले पनि सम्पूर्ण रूपले पञ्चायत विघटन नहुने हो भने हामी आन्दोलन रोक्न सक्दैनौँ भन्यौँ । तर, गिरिजाबाबु भने चुपचाप । राजाले बिहानको ब्रिफिङ पाउँदा दलमाथिको प्रतिबन्ध मात्रै हटाउने कुरा आएको बताउँदै तत्कालका लागि पञ्चायतको विघटन गर्ने र अरू कुरा पछि छलफल गर्दै जाने प्रस्ताव राख्नुभयो । किसुनजीले हस् भनेर टाउको हल्लाउनुभयो । गिरिजाबाबुले पनि स्वीकृतिको मुन्टो हल्लाउनुभयो । सहानाजी अप्ठ्यारोमा पर्नुभयो । मतिर हेरेर मैनालीजी के गर्ने भन्नुभयो । ‘दलमाथिको फुकुवा हट्यो भने कम्तीमा झन्डामुनि त आन्दोलन गर्न पाइन्छ’ भनेँ । ‘त्यसपछि गाउँगाउँ, टोलटोलमा पनि फुकुवा हुनुपर्छ’ भन्नुभयो सहानाजीले । राजा वीरेन्द्रले आश्वस्त हुन आग्रह गर्नुभयो ।
त्यति बेला नेपाल टेलिभिजन ११ बजे बन्द हुन्थ्यो । हाम्रो वार्ताकै लागि आधा घन्टाको समय बढाइएको मलाई याद छ । राजाको शाही घोषणा आउने सहमतिमा हामी वार्ताबाट निस्कियौँ । पछि, शाही विज्ञप्ति मात्रै आयो । वार्ता टुंगिएपछि मैले टिभीमा भनेको थिएँ, ‘एक चरणको आन्दोलन टुंगियो । अब अर्को चरणको आन्दोलनमा जानुपर्छ ।’ वार्ता सकिएर कोठामा पुग्दा रातिको १२ बजेको थियो ।
२७ गते बिहान जनता स्वस्फूर्त सडकमा निस्किेका थिए । कहिल्यै कम्युनिस्ट पार्टीका झन्डा नदेखेकाहरू पनि थरीथरीका हँसिया–हथौँडाका झन्डा बनाएर टुँडिखेलमा जम्मा भए । कांग्रेसीहरूको पनि हालत उस्तै थियो । बिहान ८ बजे खाना खाएर कोठाबाट निस्किएको थिएँ । पाटनढोका आइपुगेपछि त जनताले बोक्न थाले । एकैपटक टुँडिखेलमा आइपुगेपछि भुइँमा खुट्टा टेकियो । सिन्दूरजात्राले रंगिएको थिएँ म । तर, पार्टीभित्र भने मप्रतिको असन्तुष्टि बढ्यो । गणतन्त्र ल्याउन सक्ने आन्दोलनलाई निर्दलीयताको अन्त्यमै टुंग्याइस् भने । मदन भण्डारीले पनि वार्तामा जानु हुँदैनथ्यो भन्नुभयो । मेरो भाषणभन्दा पार्टी महत्त्वपूर्ण हो भनेर म औषधि किन्न जान्छु भन्दै मञ्चबाट निस्किएँ । म निस्किएपछि झलनाथ खनाल गएर पार्टीको पर्चा पढेर सुनाउनुभयो ।
प्रस्तुति : प्रतिमा सिलवाल

प्रतिक्रिया