राज्य व्यवस्था समितिबाट नागरिकतासम्बन्धी विधेयक पारित

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले आमाको नामबाट नागरिकता दिने व्यवस्था गरिएको विधेयक पारित गरेको छ । आज मंगलबार सिंहदरबारमा बसेको बैठकबाट सरकारले ल्याएको नागरिकता विधेयक पारित भएको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए ।

राज्य व्यवस्था समितिको मंगलबारको बैठकले नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरिएको हो । समिति सभापति खतिवडाका अनुसार विधेयकमा आमा वा बाबुको नामबाट नागरिकता प्राप्त हुने व्यवस्था छन् । पहिले नागरिकता लिनका लागि आमा र बाबु अनिवार्य हुन्थ्यो ।

आमाको नामबाट नागरिकता लिँदा स्वघोषणा भने गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसरी गरिएको स्वघोषणा गलत ठहरिएमा १ वर्षसम्म कैद र जरिवानाको व्यवस्था पनि राखिएको छ । आमाको नामबाट नागरिकता प्राप्त गर्ने कानुन नहुँदा नागरिकताविहीनको संख्या ठूलो रहेको भन्दै सरकारले यो विधेयक ल्याएको थियो ।

प्रतिक्रिया